मेलम्ची आयोजनामा दोस्रो 'ब्रेक थ्रु'

December 30, 2017

युवराज पुरी, अन्नपुर्ण पोस्ट, १५ पुष २०७४

मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अम्बाथान खण्डको सुरुङ शुक्रबार मध्यराति जोडिएको छ । आयोजनाको मुख्य कामको यो दोस्रो ‘ब्रेक थु्र’ हो ।शुक्रबार राति बाँकी रहेको करिब चार मिटर सुरुङ खन्ने काम सम्पन्न भएसँगै आयोजनाको दोस्रो खण्ड पूरा भएको हो । ग्याल्थुम अडिटदेखि अम्बाथानसम्मको आठ दशमलव दुई किलोमिटर छेडिएसँगै आयोजनाको १७ दशमलव ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुनेछ । ‘शुक्रबार राति यस खण्डको सुरुङ ब्रेक थ्रु हुँदै छ’, आयोजनाको उपकार्यकारी निर्देशक वासुदेव बास्कोटाले भने, ‘शनिबार औपचारिक रूपमा ब्रेक थ्रुको घोषणा हुनेछ ।’ यसअघि आयोजनाको सबैभन्दा लामो खण्ड सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको नौ दशमलव चार किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ।

आयोजना निर्माणका लागि मुहानदेखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेछ । योमध्ये सिन्धुदेखि ग्याल्थुम अडिटको खण्डमा करिब पाँच सय मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । दैनिक १० देखि १२ मिटर खन्ने काम भइरहेकाले यो खण्ड पनि पुसभित्रै सम्पन्न हुने बास्कोटाले बताए ।

खन्न बाँकी भाग नरम माटोको भएकाले अलि बढी समय लागेको आयोजनाले जनाएको छ । आयोजनाको चार अडिटबाट ६ तिर सुरुङ खन्ने काम हुँदै आएकोमा अब दुई अडिटबाट मात्र सुरुङ खन्ने काम बाँकी छ । अम्बाथानबाट मुहानसम्मको भाग र सिन्धु ग्याल्थुम खण्ड सुरुङ खनेपछि लाइनिङ मात्र बाँकी रहने बास्कोटाले जानकारी दिए । लाइनिङको काम पनि सुरु भइसकेको छ । यही रफ्तारमा काम अघि बढ्यो भने दसैंसम्म मेलम्चीको पानी काठमाडौंका धारामा खस्ने उनको विश्वास छ । आयोजना सन २००१ बाट निर्माण सुरु भएको थियो ।

 जम्मा सुरुङ :२७ किलोमिटर

जोडिएको :१७.६ किलोमिटर

(सिन्धु अडिट-सुन्दरीजल - ९.४ किलोमिटर

ग्याल्थुम अडिट-अम्बाथान - ८.२ किलोमिटर)

जोडिन बाँकी :९.४ किलोमिटर

स्रोत: http://annapurnapost.com/news-details/87126

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More