मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख

January 10, 2018

रञ्जनहरि कोइराला, अन्नपुर्ण पोस्ट, २६ पुष २०७४ 

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको हो। स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो। बैंकले त्यस समयमा १० वटा नम्बर भएकै सिमबाट ग्राहकलाई कारोबारबारेमा जानकारी गराउँथ्यो।

त्यस पश्चात सन् २००६ लक्ष्मी बैंकले मोबाइल एसएमएस बैंकिङको सुरुवात गर्‍यो। लक्ष्मी बैंकले भने चार अंकबाट ग्राहकलाई म्यासेज पठाएर कारोबारको बारेमा जनाकारी गराउन थाल्यो। त्यसबेला ग्राहक आफ्नो खाताको जानकारी र कारोबार भएको सूचना मात्र पाउँथे। त्यसपछि सन् २००९ मा आएर नेपालमा पहिलोपटक मोबाइल मनिको सुरुवात भएको हो। यसको सुरुवात पनि लक्ष्मी बैंकलै नै गरेको थियो। यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो। यसको प्रयोग अहिलेसम्म पनि कतिपय बैंकले गरिरहेका छन्।

सन् २०१४ मा आएर बल्ल पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात भएको हो। एफ १ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माका अनुसार स्मार्ट बैंकिङको सुरुवात ग्लोबल आईएमई बैंकले गरेको हो। ग्लोबल बैंकले पहिलोपटक इन्टरनेटमा आधारित भएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो। योभन्दा मोबाइल बैंकिङका नाममा भित्रिएका एसएमएस बैंकिङ, मोबाइल मनीलगायत बैंकिङ सेवा सञ्चालन हुने गरेका थिए।

मोबाइलमा म्यासज पठाएर ग्राहकलाई जानकारी गराउँदै आएका नेपाली बैंकको बीचबाट फरक रूपमा डेटामा आधारित बैंकिङ सेवाको सुरुवात ग्लोबल बैंकले गरेको हो। यसलाई मोबाइल बैंकिङको मोर्डन रूपमा पनि हेर्न गरिएको शर्मा बताउँछन्। उनका अनुसार नेपालमा एसएमएसको पठाउँदा लाग्ने पैसा घटेन तर विस्तारै डेटको पैसा घट्दै जाँदा अब डेटामा आधारित मोबाइल बैंकिङको सुरु भएको छ। अहिले नेपालमा पनि डेटामा आधारित मोबाइल बैंकिङ सेवा दिने बैंकको संख्या उल्लेखनीय छ।


ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो।

वाणिज्य बैंक र विकास बैंक गरी ४६ वटा बैंक रहेमा अहिले मोबाइल बैंकिङ सेवा छ। त्यसमा २६ वटा बैंकले डेटामा आधारित बैंकिङ सेवाको सुरुवात गरिसेकेका छन्। यसमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्नसकिने भएको छ। घरमै बसेर डेभिट÷क्रेडिट कार्डका लागि फारम भर्न सकिनेछ। मोबाइलमा नै आफ्नो खातामा भएको हेरफेर, म्यासेज अलर्ट जस्ता सुविधाको विकास भइसकेको छ। यसका साथै अनलाइन किनमेल, स्कुल, इनटरनेट सेवा प्रदायक कम्पनीमा पैसा पेमेन्ट, बिजुली पानीको पैसा पेमेन्टको काम गर्न सकिन्छ।

४६ वटा बैंक र पाँच सहकारी संस्थामा गरी गत असोजसम्म कुल २९ लाख ५८ हजार ४१ मोबाइल बैंकिङ प्रयोगकर्ता पुगेका छन्। बैंकमध्य पनि सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता भएको बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। राष्ट्रिय वाणिज्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाख २४ हजार पाँच सय ८ जना छन्। यस्तै दोस्रोमा सानिमा बैंक छ।

सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता एक लाख ९० हजार एक सय ४५ रहेको छ। तेस्रो र चौथोंमा क्रमसः नेपाल एसबीआई बैंक र ग्लोबल आईएमई बैंक छन्। उक्त दुई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता क्रमसः एक लाख ७७ हजार पाँच सय ६ र एक लाख ७४ हजार नौ सय २० रहेको तथ्यांकमा उल्लेख छ। यस्तै पाँचौ स्थानमा रहेको बैंक अफ काठमान्डू लुम्बिनीका मोबाइल बैंकिङ प्रयोगकर्ता एक लाख ४७ हजार एक सय ८० छन्।

बैंकर अनिलकेशरी शाहले बैंकको अबको बाटो भनेको मोबाइल बैंकिङ नै त्यसका लागि यो एउटा सुरुवातका रूपमा लिन सकिने बताए। ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको आउने अध्यायाए हो', शाहाले भने, ‘अब मान्छेले बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङले मानिसलाई विकल्प दिएको छ।' अझ यो सबैतिर लागू गर्न सकिने हो भने क्यासलेस कारोबारलाई सफल बनाउन पनि मद्दत गर्नेछ। उनका अनुसार अहिले नेपाली बैंकिङ क्षेत्रमा ३० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता पुग्नु भनेको ठूलो कुरा हो।

यसमा कति प्रयोगकर्ता मोबाइल बैंकिङ खाता खोलेर नचलाउने पनि छन्। कतिपय प्रयोगकर्ताले सदुपयोग गर्न नजानेर मोबाइल बैंकिङलाई कारोबार गर्दा म्यासेज आउने सुविधाको रूपमा मात्र लिइरहेको पनि पाइन्छ।

स्रोत: http://annapurnapost.com/news-details/87936

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More