मोबाइल सेट खरिदमै बाहिरियो सवा १२ अर्ब

February 05, 2018

कृष्ण रिजाल, नयाँ पत्रिका, २२ माघ २०७४

६ महिनामा ३४ लाख थान मोबाइल आयात, एसेसरिजमा ६० करोड

नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्चदरमा बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको छ ।

त्यस्तै, एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् । टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् ।

अहिले मुलुकका सबै स्थानीय तहसम्म मोबाइल सेवा पुगिसकेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार टेलिफोनको पहुँच कुल जनसंख्याभन्दा पनि ४० प्रतिशत बढी छ । सोही कारण मोबाइल विक्रेताहरूले पनि विभिन्न मूल्यका सस्ता तथा सुविधायुक्त मोबाइल सेटको आयात बढाइरहेका छन् । यसले मोबाइल सेवाग्राहीको संख्या बढाएको उनको भनाइ छ ।

१२ अर्बको मोबाइल सेट
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष ०७३/७४ को अघिल्लो आर्थिक वर्षमा २२ अर्ब ६६ करोड रुपैयाँबराबरको ५९ लाख ५४ हजार थान मोबाइल सेट आयात भएका थिए । त्यस्तै, सोही आवको ६ महिनामा १२ अर्ब २५ लाख मूल्यबराबरका ३१ लाख ७३ हजार थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

बारफोनको आयात पनि उस्तै
पछिल्लो समय सहर तथा बजारी क्षेत्रका अधिकांश युवापुस्ताका हातमा स्मार्ट फोन देखिन्छ । विश्व बजारका मोबाइल उत्पादकले नयाँ–नयाँ सुविधा भएका अत्याधुनिक स्मार्टफोन उत्पादनलाई जोड दिइरहेका छन् । यद्यपि, नेपालमा भने बार फोनको आयात स्मार्टफोनको भन्दा बढी रहेको व्यवसायीहरू बताउँछन् ।

आयात भएका सेटको संख्याका आधारमा बार फोन नै बढी भएको नेपाल मोबाइल आयातकर्ता संघका महासचिव अमित अग्रवालले बताए । ‘अघिल्ला वर्षमा आयात भएका ५९ लाख थान मोबाइलमध्ये ४० लाख थान बार फोन रहेका छन्,’ उनले भने, ‘मूल्यका आधारमा स्मार्टफोनको आयात धेरै देखिए पनि संख्याका आधारमा भने बार फोन नै धेरै आयात भएका छन् ।’

मोबाइल एसेसरिज ६० करोड
समीक्षा अवधिमा मोबाइल तथा टेलिफोनको पार्टस्मा ६० करोड ४ लाख ६६ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ । त्यस्तै, २ करोड ४० लाख १७ हजार रुपैयाँबराबरको ३८ हजार ४२ थान ल्यान्डलाइन टेलिफोन सेट, २ करोड ९५ लाख ८७ हजार रुपैयाँबराबरको २८ हजार १ सय १२ थान अन्य टेलिफोन सेटसमेत आयात भएको हो । यस अवधिमा नेपालबाट हेडफोन तथा एयरफोनको आयातमा ३ करोड ८७ लाख ३० हजार रुपैयाँ बिदेसिएको विभागको तथ्यांक छ ।

अत्यावश्यक भएकाले आयात बढ्यो : व्यवसायी 
नेपालमा मोबाइलको व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको संघका महासचिव अग्रवाल बताउँछन् । मोबाइल विलासीभन्दा पनि अत्यावश्यक वस्तु भएकाले यसको आयात बढेको उनको भनाइ छ । ‘मोबाइल कुराकानीका लागि विश्व समुदायसँग जोडिन र दैनिक एवं कार्यालयका काम गर्नसमेत प्रयोग भइरहेको छ,’ उनले भने, ‘मोबाइलको प्रयोग रहर तथा चाहनाभन्दा पनि अत्यावश्यक भएकाले यसको व्यवसाय बढिरहेको हो ।’

स्रोत: www.enayapatrika.com/2018/02/05/21290/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More