मौसममा सामान्य बदली, पहाडमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

December 30, 2021

रासस, कान्तिपुर, पुष २५, २०७८

काठमाडौँ — हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहीबारदेखि मौसम क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ६ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौँमा ३५ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ४१, पोखरामा ३१ र घोराहीमा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

स्रोत: https://ekantipur.com/news/2021/12/30/164085084085328522.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter