पवित्रा सुनार, नागरिक, ०१ माघ २०७५
काठमाडौं - एकै छिनमा इन्फुलुन्जा सर्नसक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ। सतर्क हुनुहोस् है ! चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फुलुन्जा एचवान एन वान’को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ।
यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्युसमेत भइसकेको हुँदा यसबाट बच्न महाशाखाले अपिल गरेको हो। राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णले भने, ‘समुदायमा संक्रमण फैलिरहेको छ, मुख्यतः कमजोर व्यक्तिहरुलाई यसले साह्रो पार्छ, कतिको ज्यानै जान सक्छ।’ राष्ट्रिय प्रयोगशाला टेकुमा गत १५ दिनमा मात्र ७५ जनामा इन्फुलुन्जा एच वान–एन वान पाइएको छ। प्रयोगशालामा यस अवधिमा १ सय ३० जनाको नमुना परीक्षण गरिएको थियो। राजधानीका विभिन्न अस्पतालमा उपचारमा पुगेकाहरुको नमुना परीक्षण गर्ने क्रममा ७५ जनामा सो संक्रमण प्रमाणित भएको प्रयोगशाला प्रमुख हरिशचन्द्र उपे्रतीले बताए। ‘अघिल्लो दुई महिनाभन्दा यो अवधिमा बढी संक्रमण देखिएको छ,’ उपे्रतीले भने।
यो इन्फुलुन्जा (भाइरस)ले मिर्गौला बिग्रेका, दम, एचआइभी संक्रमित, हेपाटाइटिस, क्यान्सर, मधुमेह तथा अन्य दीर्घरोग लागेकाहरु, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका वृद्व–वृद्धालाई जटिल समस्या ल्याउने भएकाले सबैलाई सचेत हुनुपर्ने रोग नियन्त्रण महाशाखा प्रमुख कर्णले बताए। सो समुदायका व्यक्तिमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमजोर भएकाले उनीहरुमा यो इन्फुलुन्जाको संक्रमण तीव्र हुने र तलमाथि भए ज्यानै समेत जान सक्ने उनी बताउँछन्। ‘कतिपय दीर्घरोगीको मृत्यु भएको छ। तर स्वस्थ्य व्यक्तिलाई भने खासै असर पुग्दैन,’ प्रमुख कर्णले भने।
राष्ट्रिय प्रयोगशाला टेकुमा गत १५ दिनमा मात्र ७५ जनामा इन्फुलुन्जा एच वान–एन वान पाइएको छ।
यो इन्फुलुन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सबै सचेत हुनु पर्ने कर्ण बताउँछन्। उनका अनुसार यो इन्फुलुन्जाको संक्रमण भएपछि ज्वरो आउने, नाकबाट पानी बग्ने, जीउ दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिनेबित्तिकै जोखिम समूहका व्यक्तिहरु उपचारमा गइहाल्नुपर्ने चिकित्सकको सुझाव छ। इन्फुलुन्जा प्रमाणित भएका व्यक्तिहरुलाई सरकारले विभिन्न स्वास्थ्य संस्थामार्फत एन्टिभाइरल औषधि निःशुल्क वितरण गरिरहेको छ। स्वस्थ्य व्यक्तिको हकमा भने पाँचदेखि सात दिनसम्म घरैमा आराम गर्ने, प्रशस्त झोल खानेकुरा खाने र शरीर दुखेमा प्यारासिटामोल खाएमा आफैं निको हुन सक्छ। ज्वरो पाँच दिनसम्म पनि निको नभएमा स्वास्थ व्यक्ति पनि उपचारमा जानुपर्छ। रोगको लक्षण देखिएमा तुरुन्तै एन्टिवायोटिक किनेर खानु भने हुँदैन।
यो इन्फुलुन्जाको कारण विकसित देशमा समेत प्रत्येक वर्ष ज्यान जाने गरेको र नेपालमा पनि प्रत्येक वर्ष देखापरिरहेको हुँदा चिसो मौसममा विशेष सचेत हुनुपर्ने कर्णले बताए। यो इन्फुलुन्जाको प्रभावबाट जनस्वास्थ्य बचाउने विषय नेपालमा चुनौती बनिरहेको डा. कर्णले बताए। नयाँ स्वरुपमा आउने इन्फुलुन्जाविरुद्धको खोप नेपाल आफैंले उत्पादन गरेर समुदायलाई वितरण गर्नसक्ने अवस्था छैन।
चिकित्सकका अनुसार यो रोग संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, खोक्दा, संक्रमितले छोएको रुमाल वा सामान प्रयोग गर्दा, सार्वजनिक स्थलका ढोका, चुकुल र बसको दण्डी छुँदा सर्ने भएकोले यस्ता चिजहरु छोएपछि हात धुनुपर्छ। संक्रमित व्यक्ति आफैं सचेत हुने, स्कुल तथा कलेजमा धेरैमा यस्तो लक्षण भएको पाइएमा केही दिन स्कुल नपठाउने, बाहिर निस्कनुपर्दा माक्सको प्रयोग गर्ने, संक्रमित व्यक्ति भन्दा एक मिटरभन्दा टाढा बस्ने गरेमा यसको जोखिमबाट बच्न सकिन्छ।
कसरी बच्ने ?
– संक्रमित व्यक्तिभन्दा एक मिटर टाढा बस्ने
– रोग लाग्नै नदिन सफाइमा ध्यान दिने
– सार्वजनिक स्थल छोएपछि अनिवार्य हात धुने
– भीडभाडमा जाँदा माक्सको प्रयोग गर्ने