यसकारण देशभर फैलिँदै छ डेंगु

September 06, 2022

गोविन्द पोखरेल, कान्तिपुर, भाद्र २१, २०७९ 

केही दिन पानी परेर घाम लाग्ने र तापक्रममा आउने उतारचढावले डेंगु भेक्टरको संख्या बढिरहेको अनुसन्धानकर्ताको निष्कर्ष

काठमाडौँ — पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगु भेक्टर (डेंगु जीवाणुवाहक लामखुट्टे) फैलावटमा प्रत्यक्ष असर पुर्‍याउने नेपाली अनुसन्धानकर्ताको एक अध्ययनले देखाएको छ । तराई क्षेत्रमा भने सापेक्षिक आद्रताको मात्राले डेंगु भेक्टर फैलावटमा असर पुग्ने उनीहरूको निष्कर्ष छ ।

 

नेपालको तराई र पहाडी क्षेत्रमा हावापानीमा हुने फेरबदलले डेंगु भेक्टर फैलावटमा के कस्तो असर पार्छ भन्ने सम्बन्धमा पारासाइट्स एन्ड भेक्टर जर्नलमा प्रकाशित आलेखले यस्तो निष्कर्ष निकालेको हो । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधरसहित ७ जनाले गरेको अनुसन्धानले सहरी क्षेत्रमा संकलन गरेर राखिने पानी, फोहोर विसर्जन, सरसफाइ र नियन्त्रणका उपाय अपनाउन सुझावसमेत दिएको छ ।

डेंगु रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालको सन्दर्भमा जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च बिन्दुमा पुगेपछि बिस्तारै घट्ने अनुसन्धानले देखाउँछ । सन् २०१९ पछि यो वर्ष डेंगु प्रकोपका रूपमा देखापरेको हो । यसअघि अन्य स्थान हुँदै उपत्यकामा डेंगु देखिन्थ्यो । तर यसपटक काठमाडौंमा पहिलो पटक देखिएर अन्यत्र डेंगुका बिरामी देखिएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण डेंगुलगायतका अन्य कीटजन्य रोग नेपालमा फैलने क्रममा छ । परिषद्मा प्रमुख अनुसन्धान अधिकृत एवं वातावरण स्वास्थ्य विज्ञ मेघनाथ धिमालले काठमाडौंमा देखिएको डेंगुको प्रकोप पछिल्लो मनसुनमा आएको फेरबदलको एक कारण भएको बताए । केही दिन पानी पर्ने अनि घाम लाग्ने र तापक्रममा आउने उतारचढावले डेंगु भेक्टरको संख्या बढ्न मद्दत पुर्‍याइरहेको नेपाली अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । ‘डेंगु भेक्टरलाई उपयुक्त तापक्रम २० देखि ३० डिग्री हो,’ धिमाल भन्छन् । उनकै अनुसन्धानले डेंगुको भेक्टर दुई हजार मिटर उचाइसम्म पाइएको पुष्टि गर्छ । ‘मैले गरेको अनुसन्धानमा नै रसुवाको धुन्चेसम्म डेंगुको भेक्टर पाइएको थियो । यो भेक्टर अझै उच्च पहाडी क्षेत्रसम्म फैलने पूर्वानुमान गरिएको थियो,’ उनले भने, ‘अहिले पुष्टि हुँदै छ ।’ सन् २०२१ मा एड्भान्स इन क्लाइमेट रिसर्च जर्नलमा प्रकाशित उनको अनुसन्धानले पहाडी जिल्लामा डेंगुको संक्रमण सन् २०५० सम्म बढ्ने र २०७० को दशकमा दोब्बर भइसक्ने प्रक्षेपण गरेको छ । सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु रेकर्ड भएको थियो । त्यसपछि २००६ मा तराईका ९ जिल्लामा फैलिएको रेकर्ड छ । काठमाडौंमा २००९ मा डेंगु सार्ने लामखुट्टे एडिज एजिप्टीको पहिचान भएको थियो । काठमाडौंमा भने २०१० मा पहिलो पटक डेंगु संक्रमण पुष्टि भएको हो । त्यसबेला ९ सय १७, २०१३ मा ६ सय ८३ र २०१६ मा १५ सय २७ र सन् २०१९ मा १५ हजारभन्दा बढीमा डेंगु संक्रमण भएको थियो ।

विभिन्न अनुसन्धानमा डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुन्छन् । २५ देखि २६ डिग्री तापक्रममा सबैभन्दा बढी सक्रिय हुने विज्ञहरू बताउँछन् । सहप्राध्यापक रेश्मा तुलाधारका अनुसार यो लामखुट्टेले एक पटकमा ६ जनासम्मलाई टोक्ने गरेको पाइन्छ । ‘यो लामखुट्टे मलेरिया, जापानिज इन्सेफ्लाइटिस सार्ने लामखुट्टेजसरी एउटा मानिसलाई मात्रै टोकेर अघाउँदैन,’ उनले भनिन्, ‘एक पटकमा २ देखि ६ जनासम्मलाई टोक्ने गरेको पाइएको छ ।’ तापक्रम बढ्दै जाँदा टोक्ने दर पनि बढ्ने र वृद्धि पनि त्यही अनुपातमा हुने उनले बताइन् । ३५ डिग्री तापक्रम नाघेपछि डेंगु कम सक्रिय बन्ने उनको भनाइ छ ।

धिमालका अनुसार उपयुक्त तापक्रममा लामखुट्टेको पाचन प्रक्रियासँगै प्रजनन पनि छिटोछिटो हुन्छ, करिब १० दिनमा जीवनचक्र पूरा हुन्छ । पहाडी भेगमा भने दुई सातामा जीवनचक्र पूरा हुने गरेको पाइएको छ । काठमाडौंको हकमा लामखुट्टेका लागि चाहिने वातावरण धेरै राम्रो भएकाले वृद्धिदर बढिरहेको धिमाल बताउँछन् । साता–दस दिनसम्ममा यिनले जीवनचक्र पूरा गर्छन् ।

बढ्दो तापक्रम वृद्धि र सहरीकरणले पनि डेंगुको प्रकोप बढिरहेको तुलाधर बताउँछिन् । ‘पहिला ट्रपिकल र सब–ट्रपिकल क्षेत्रमा मात्रै पाइन्थ्यो । अहिले टेम्परेट एरियामा पनि पाइन थालेको छ,’ उनले भनिन्, ‘डेंगु फैलाउने लामखुट्टे सफा पानीमा बस्छ । पानी सुकेर सुक्खा भएको ठाउँमा पनि यसको एग सर्भाइभ हुन्छ ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले धेरै मात्रामा ग्यारेज पसल बढेको र त्यहाँ हुने खाली टायर लामखुट्टे प्रजननका लागि उपयुक्त वातावरण बनेको बताए । उपत्यकामा थुप्रिएको फोहोरबाट निस्कने लिचेटसँगै परेको मनसुनी वर्षा पनि लामखुट्टे प्रजननका लागि उपयुक्त बनेको उनको भनाइ छ । ‘सन् २०१९ को प्रकोपमा काठमाडौंमा फोहोरको डंगुर धेरै थुप्रिएको त थिएन तर यो वर्षको फैलावटमा थोरबहुत केही भूमिका फोहोरको हुन सक्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालय माइक्रो बायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक मेघराज बन्जरा अव्यवस्थित बसाइँसराइले पनि रोग बढ्दै गएको बताउँछन् । पहाडी क्षेत्रमा नपाइने यो प्रजाति पहाड चढेको उनको भनाइ छ । उनका अनुसार डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ हुन्छ । डेंगु भाइरस बोकेको लामखुट्टेले फुल पार्दा ती फुलमा भाइरस सर्छ ।

काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण बढेसँगै जनचेतना र स्वास्थ्य परीक्षणमा जोड दिएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विद्यालय र समुदायमा आधारित सचेतना कार्यक्रम गरिरहेको बताए । महानगरले सोमबारदेखि १९, २६, ३० र ८ नम्बर वडामा निःशुल्क रूपमा डेंगु परीक्षण गर्न थालेको छ । डेंगु नियन्त्रणमा १ सय १५ जना स्वास्थ्यकर्मी, ५ सय ५८ स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको त्रिपाठीले बताए । ‘पानी जमेको स्थानमा क्लोरिन र चुना छर्कने काम पनि भइरहेको छ,’ उनले भने, ‘नियन्त्रणका लागि लामखुट्टे बस्ने स्थान नष्ट गर्नुको विकल्प छैन ।’ स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी टेकु क्षेत्रमा देखिएका छन् ।

काठमाडौं उपत्यकालगायत देशभर डेंगुको संक्रमण अझै अढाई महिनासम्म रहने विज्ञहरूले चेतावनी दिएका छन् । हरेक दुई–तीन वर्षमा मुलुकमा डेंगुको प्रकोप देखिने गरेकामा तीन वर्षपछि पुनः यसको संक्रमणले यसपालि अत्यधिक विस्तार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अबको अढाई महिनासम्म संक्रमण देखिने बताए ।

सोमबार साँझसम्म ७५ जिल्लामै डेंगु संक्रमण पुष्टि भएको छ । हाल ५ हजार २९ जना संक्रमित छन् भने १० जिल्ला बढी प्रभावित छन् । कुल संक्रमितमध्ये ७६ प्रतिशतभन्दा बढी ललितपुर, काठमाडौं र मकवानपुरमा छन् । यी जिल्लाबाहेक रूपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, सिन्धुली, गुल्मी, संखुवासभामा बढी संक्रमण देखिएको छ । हालसम्म देशभर पुष्टि भएका संक्रमितमध्ये ८४ प्रतिशत यिनै १० जिल्लामा छन् ।

अस्पतालहरूमा डेंगुका बिरामीको चाप बढेपछि आइतबार काठमाडौं उपत्यकाभित्रका प्रमुख अस्पतालहरूको आपत्कालीन बैठक बसेको थियो । बैठकमा हालको अवस्था, स्वास्थ्य जनशक्तिको सुनिश्चितता, बेड अभाव हुन नदिन अपनाइनुपर्ने प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । डेंगु संक्रमणका केस सरकारी क्षेत्रबाट मात्रै रिपोर्ट गरिएकाले वास्तविक अवस्था अझ विकराल हुन सक्ने विज्ञहरू बताउँछन् । ‘निजी अस्पतालले डेंगुबाट मृत्यु भएको रिपोर्ट गरेका छैनन्, सरकारको तथ्यांकमा हालसम्म मृत्यु भएको जानकारी नै छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुरले भने । निजी स्वास्थ्य संस्थाबाट समेत तथ्यांक प्राप्त गर्ने प्रणाली विकास गर्न लागिएको उनको भनाइ छ ।

२०७६ सालमा १७ हजार ९ सय ९२ र २०७७ मा ५ सय ३० र २०७८ मा ५ सय ४० जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बताए ।

स्रोत: https://ekantipur.com/news/2022/09/06/166242716922678061.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter