जनकराज सापकोटा, कान्तिपुर दैनिक, १३ फागुन २०७४
काठमाडौंका दैनिक कति अपराधजन्य घटनाहरु होलान? ती मध्ये कतिको उजुरी प्रहरी कहाँ पर्ला? प्रहरी परिसर काठमाडौंमा मात्रै पछिल्ला तीन महिनामा १३ सय ९६ उजुरी दर्ता भएका छन् ।
तथ्यांकलाई केलाउँदा काठमाडौंमा दैनिक औसतमा १६ वटा उजुरी प्रहरी कहाँ दर्ता भएको देखिन्छ। जसमध्ये सार्वजनिक अपराध सम्बन्धी मुद्दाको संख्या सबैभन्दा उच्च रहेको छ।
मंसिरमा मात्रै विभिन्न प्रकृतिका ३ सय ९७ मुद्दा काठमाडौं प्रहरी परिसरमा दर्ता भएका देखिन्छ। पुसमा ४ सय ५७ र माघमा ५ सय ४२ मुद्दा दर्ता भएका छन्। जसमध्ये मंसिरमा २ सय ३५, पुसमा २ सय ५६ र माघमा २ सय ८९ सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन्। पछिल्ला तीन महिनामा बैंकिक कसुर सम्बन्धी मुद्दा दर्ताको संख्यामा उल्लेख्य बृद्धी भएको देखिन्छ।
मंसिरमा बैंकिक कसुर सम्बन्धी ८ वटा मुद्दा दर्ता भएकोमा पुसमा यसको संख्या बढेर २२ पुगेको छ भने माघमा यो संख्या दोब्बर भन्दा धेरै भएर ४९ पुगेको छ। तीन महिनामा काठमाडौंमा ठगी सम्बन्धी ४४ वटा मुद्दा दर्ता भएका छन् भने १६ वटा विद्युतीय कारोवार सम्बन्धी मुद्दा दर्ता भएका छन्।
पछिल्ला तीन महिनामा काठमाडौंमा लागु औषध र जवर्जस्ती करणी सम्बन्धी मुद्दाको संख्यामा उल्लेख्य मात्रामा वृद्धी भएको छ। प्रहरीका अनुसार मंसिर यताको तीन महिनामा मात्रै ७२ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने जर्बजस्ती करणीका ३९ मुद्दा दर्ता भएका छन्। मंसिरमा लागु औषध सम्बन्धी २६ वटा मुद्दा दर्ता भएका थिए भने यो संख्या माघमा २७ पुगेको छ। त्यस्तै जबर्जस्ती करणी सम्बन्धी ११ वटा मुद्दा मंसिरमा दर्ता भएका थिए भने यसको संख्या माघमा बढेर १९ पुगेको छ।
प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले काठमाडौं जिल्लामा अपराधजन्य गतिविधि घटाउन प्रहरीले नगरवासीसँग समन्वयका साथ नयाँ सुरक्षा योजना लागु गरिने बताए। उनले प्रभावकारी सुचना संकलनको अभावमा अपराधका घटनाहरु बढेको भन्दै सुचना संकलनका निम्ति जनस्तरबाटै करिब दुई सय जनाको गोप्य दस्ता खडा गरिन लागेको बताए।
एसएसपी पोख्रेलका अनुसार काठमाडौंका विभिन्न पेशा र व्यवसायमा संग्लन दुई सय नागरिकले आफुले देखेका घटनाबारे प्रहरीलाई गोप्य रुपमा जानकारी गराउनेछन्। उनले प्रहरीको व्यवहारका सम्बन्धमा भए गरेका गुनासोलाई तत्काल सम्बोधन गरिने र प्रहरीको आचरण सुधारमा कुनै कसुर बाँकी नराखिने पनि बताए।
एसएसपी पोख्रेलले काठमाडौंमा प्रहरीको जनस्तरसँगको सम्बन्ध बलियो बनाउनका निम्ति सार्वजनिक सुनवाई कार्यक्रम सुरु गरिसकेका छन्। उनले तीन स्थानका जनतासँग त्यस्तो संवाद गरिसकेको बताउँदै थप ४० स्थानमा त्यसलाई निरन्तरता दिईने बताए।
स्रोत: https://www.kantipurdaily.com/feature/2018/02/25/20180225191839.html