रितेश त्रिपाठी, नागरिक, चैत ०७, २०७५
वीरगन्ज - आर्थिक वर्ष २०७५/०७६ फागुन मसान्तसम्म वीरगन्जस्थित मुलुकको प्रमुख भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। राजस्वको प्रमुख स्रोत रहेका वस्तु आयातमा आपेक्षाअनुसार प्रगति नभएपछि त्यसको प्रभाव राजस्व संकलनमा परेको हो। राजस्व असुलीमा विगतभन्दा निकै कडाइ गरिएको भन्ने आरोपबीच वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा लक्ष्यको तुलनामा ९३.४५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।
फागुनको मात्र हेर्ने हो भने यस महिनामा कार्यालयले लक्ष्यको ८१.६१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ। फागुन मसान्तसम्म कार्यालयले एक खर्ब एक अर्ब २८ करोड ५८ लाख चार हजार रुपैयाँँ राजस्व संकलन गरेको छ। कार्यालयलाई सो अवधिसम्म एक खर्ब ८१ अर्ब ११ करोड ६८ लाख चार हजार रुपैयाँँ राजस्व संकलन गर्नुपर्ने लक्ष्य दिइएको थियो। त्यस्तै, फागुनका लागि १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँँ लक्ष्य दिइएकोमा १२ अर्ब ६० करोड ४३ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ।
‘राजस्वका मुख्य स्रोत रहेका केही वस्तुको आयातमा कमी आएको छ, अपेक्षित रुपमा आयात नहुँदा त्यसको असर स्वाभाविक रुपमा राजस्व संकलनमा देखिन्छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले भने, ‘फागुनदेखि भन्सार राजस्वमा सुधार आउने अनुमान पूरा भएन, कच्चा पदार्थ र सवारी साधन आयातमा आएको कमीले मुख्य रुपमा असर पारेको हो।’ गत वर्षको भन्दा यो वर्ष भन्सार राजस्वको लक्ष्य २७ प्रतिशत बढी रहेकामा त्यसलाई पूरा हुन मुख्य स्रोत वस्तु आयातमा त्यसै हाराहारीमा वृद्धि हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए।
कार्यालयको तथ्यांकअनुसार राजस्वको मुख्य स्रोतमध्येका गाडी अयात १३.६७ प्रतिशतले घटेको छ। गत वर्ष यसै अवधिमा सात हजार ६ सय ५९ जिप, कार र भ्यान किसिमका गाडी आएका थिए भने यो वर्ष उक्त संख्या ६ हजार ६ सय १२ रहेको छ। त्यस्तै सिमेन्ट बनाउने क्लिंकर आयातमा ३५.२२ प्रतिशतले कमी आएको छ। गत वर्ष फागुनसम्ममा नौ लाख ८८ हजार आठ सय ५०.५१७ टन क्लिंकर आयात भएकामा यो वर्ष सोही अवधिमा ६ लाख ४९ हजार नौ सय ५६.२४६ टन क्लिंकर आयात भएको छ। अरु विभिन्नखाले औद्योगिक कच्चा पदार्थ आयातमा कमी आएको छ।