युवालाई निर्ब्याजी ऋण

October 14, 2020

कृष्ण पोखरेल, अन्नपूर्ण पोष्ट, असोज २७, २०७७ 

तानसेन : कोरोना प्रभावित युवा लक्षित गरी पाल्पाको एक गाउँपालिकाले बिनाधितो, निर्ब्याजी ऋण लगानी थालेको छ। विदेश तथा स्वदशमै रोजगारी गुमाई गाउँघर फर्किएका युवालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो। पुँजी अभावको कारण उद्यमी बन्न नपाएका युवालाई रिब्दिकोट गाउँपालिकाले बिनाधितो, बिनाब्याज १० लाख रुपैयाँ ऋण सहयोग अभियान सुरु छ। 

कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय प्रमुख आधार बनाएका एवं घरेलु तथा साना उद्योग सञ्चालन गर्ने व्यक्ति तथा फर्मका लागि गाउँपालिकाले बिनाब्याज, बिनाधितो ऋण सहयोग गर्नेछ। गाउँपालिकाले बिनाब्याज बिनाधितो युवालाई ऋण प्रदान गर्न कृषि विकास बैंक लिमिटेडसँग सम्झौता गरेको छ। 

ऋण आवश्यक परेका युवाले कार्ययोजनासहित गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ। गाउँपालिकाले ऋणका लागि परेको निवेदन कृषि विकास बैंकलाई हस्तान्तरण गर्नेछ। कृषि विकास बैंक र पालिकाका कर्मचारी जनप्रतिनिधिसहित टोली ऋणको कार्ययोजनासहितको वास्तविक अवस्था अनुगमन गरी ऋणका लागि सिफारिस गर्नेछ। युवा उद्यमीलाई ऋण प्रदान गर्न पालिका र बैंकले छुट्टै डेक्स खडा गरेका छन्।

व्यक्तिगत ऋणका लागि ५ वर्षे अवधि राखी ५० हजारदेखि ५ लाख रुपैयाँ,  फर्मका लागि १ लाखदेखि १० लाख रुपैयाँसम्म प्रदान गर्ने सहमति पालिका र बैंकबीच सहमति भएको छ। रिब्दीकोट गाउँपालिकालाई कृषि तथा पशुजन्य उत्पादनको पकेट क्षेत्र बनाउने योजना अनुरूप कार्यक्रम ल्याइएको पालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताए। बिदेसिएका युवालाई स्वदेशमा रोजगारी बनाउने, स्वेदशमै रमाउने, विदेशको कृषि तथा पशुपालनको सीपलाई गाउँघरमै प्रयोगमा ल्याउने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति पालिकाको छ। ‘जोखिम मोलेरै भए पनि पालिकाले यो अभियान सुरु गरेको छ, पुँजीको अभावमा कुनै पनि व्यवसाय रोकिने छैन’, पालिका अध्यक्ष जिसीले भने। 

पालिकाको सिफारिसमा बैंकले ऋण प्रवाह गरेकाले ऋणीले मासिक रुपैयाँ किस्ता वा ब्याज बैंकमा भुक्तानी गर्नुपर्नेछ। नियमितरूपमा ऋणको किस्ता वा ब्याज बुझाउने ऋणीलाई मात्र पालिकाले ब्याज उपलब्ध गराउनेछ। लिएको ऋण समयमा नबुझाउने ऋणीलाई भने पालिकाले ब्याज छुट दिने छैन। ऋणीको सावाँ तथा ब्याज भाका नाघेमा पालिका र बैंक दुवैले कालोसूचीमा राखी पालिकाले प्रदान गर्ने अन्य किसिमका सेवासुविधा तथा सिफारिस रोक्का गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द अर्यालले बताए। युवाले लिएको ऋणको गाउँपालिका जमानी बसेको बसी स्वीकृत गरिएको छ। 

पालिकाबाट रोजगारीका लागि गाउँघर छोडी  ३ हजार ८ सय ५५ जना बाहिरिएका छन्। जसमा भारतमा २ हजार ४ सय ४१ जना, स्वेदशमै जिल्लाबाहिर १ हजार ४ सय १४ जना रोजगारीका लागि बाहिरिएका छन्। कोरोनाको कारण हालसम्म भारतबाट ४ सय ५०, तेस्रो मुलुकबाट ५० जना, विभिन्न जिल्लाबाट ३ सय ५१ जना गरी ८ सय ५१ जना गाउँ फर्किएका छन्। 

स्रोत: http://annapurnapost.com/news/168383

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More