News

योगदानमा आधारित सामाजिक सुरक्षा योजना : १८० रोजगारदाता र आपूर्तिकर्ता दर्ता

December 07, 2018

गोरखापत्र, मङ्सिर २१, २०७५ 

काठमाडौँ, मङ्सिर २१ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १८० वटा रोजगारदाता र श्रमिक आपूर्तिकर्ता सूचीकरण भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले काठमाडौँ उपत्यकामा मङ्सिर ६ गतेदेखि र उपत्यकाबाहिर प्रदेश ३ मा मङ्सिर १५ गतेदेखि रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई सूचीकरणको व्यवस्था गरेको थियो । 


रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको सूचीकरण अनलाइन प्रविधिबाट गर्ने व्यवस्थाअनुरूप त्यो सङ्ख्यामा सूचीकरण भएका हुन् । 
कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले उपत्यका र उपत्यकाबाहिर प्रदेश ३ मा १८० वटा रोजगारदाता र श्रमिक आपूर्तिकर्ता सूचीकरण भइसकेको र क्रमशः सूचीकरण हुने क्रम बढदै गएको जानकारी दिनुभयो । 
उहाँका अनुसार प्रदेश १ का रोजगारदाता र श्रमिक आपूर्तिकर्ताका लागि २०७५ पुस १ गते र प्रदेश २ का रोजगारदाता र श्रमिक आपूर्तिकर्ताले पुस १५ गतेबाट सूचीकरण हुनसक्ने व्यवस्था मिलाइएको छ । 
यसैगरी गण्डकी प्रदेश र प्रदेश ५ मा रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको माघ १ गतेदेखि सूचीकरणको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका रोजगारदाताले १५ गतेबाट सूचीकरण हुने व्यवस्था मिलाइएको छ । 
कार्यकारी निर्देशक अधिकारीले सूचीकरण भएका रोजगारदाता र श्रमिक आपूर्तिकर्ताले सूचीकरण भएको दिनले ९० दिन (तीन महिना) भित्र योगदानकर्ता श्रमिकको सूचीकरण गरिसक्नुपर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको जानकारी दिनुभयो । 
उहाँले योगदानकर्ता सूचीकरण भएपछि योगदान सङ्कलनको काम शुरु हुनुका साथै सरकारले घोषणा गरेका योजना आकर्षित हुने जानकारी दिनुभयो । 
अधिकारीका अनुसार पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण भई कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्न सक्ने गरी व्यवस्था गरिएको छ । 
रोजगारदाता र आपूर्तिकर्ता दर्ता हुने काम शुरु भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, आफू दर्ताको भएको तीन महिनाभित्र रोजगारदाता र श्रमिक आपूर्तिकर्ताले आफूसँग आबद्ध सबै श्रमिकको दर्ता गरिसक्नु पर्छ र रोजगारदातासँग श्रम सम्बन्ध भएका प्रत्येक श्रमिकले सामाजिक सुरक्षा नम्बर प्राप्त गर्छ । सूचीकृत भएपछि कोषले रकम जम्मा गर्नका लागि सूचना जारी गर्छ । यो कोषमा योगदान गर्न थालेपछि श्रमिकले पाउने सुविधा यस्ता छन् । 
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ अनुसार कुनै प्रतिष्ठानमा कम्तीमा छ महिना योगदान गर्ने श्रमिकले औषधि उपचार र स्वास्थ्य सुविधा प्राप्त गर्ने छन् तर योगदान भने नियमित गर्नुपर्छ । 
कोषका अनुसार पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिक समावेश हुने बताइएको छ । दोस्रो चरणमा अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्तिलाई समावेश गर्ने कानुनी व्यवस्था गरिएकाले यो चरणमा जानका लागि थप तयारी गर्नुपर्ने भन्दै कोषका कार्यकारी निर्देशक अधिकारीले भन्नुभयो, यसका सञ्चालनको प्रक्रिया आउने कुरासमेत हेरेर दोस्रो चरणको कार्यक्रम सञ्चालनमा आउनेछ ।

सोर्त:http://gorkhapatraonline.com/news/63074