रक्सौल–काठमाडौंँ रेलमार्ग प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु

June 09, 2018

भउचप्रसाद यादव, गोरखापत्र  अनलाइन डटकम, २६ जेठ २०७५

काठमाडौँ, जेठ २६ गते । काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी प्रस्ताव गरिएको रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबारदेखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । 
रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबारदेखि रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।
उक्त प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका इन्जिनियरहरूको सात सदस्यीय टोली नेपाल आएको जानकारी दिंदै उहाँले सम्भाव्यता अध्ययनको समयसीमा नतोकिए पनि अबको छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने लक्ष्य लिएको बताउनुभयो ।

 

सम्भाव्यता अध्ययनको यो कार्य प्रारम्भसँगै रेलवे विभागले कम्पनी छनौट कार्य रद्द गरेको छ । यसअघि रेल्वे विभागले सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट प्रक्रिया सुरु गरी अन्तिम चरणमा पु¥याएको थियो । भारत सरकारको सम्पूर्ण खर्चमा सम्भाव्यता अध्ययन हुने भनिएको छ । 
यस वर्षको चैतमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा यो विद्युतीय रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको थियो । 
“यो रेलमार्ग निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ, रेलमार्ग निर्माणका लागि दुई देशबीच समझदारी भएको छ । यो रेलमार्गको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पूरा गरिनेछ” जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो । 
सहमति अनुसार, पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसपछि आर्थिक ‘मोडालिटी’ बारे दुई मुलुकबीच समझदारी गरेर रेलमार्गको यो परियोजना सम्पन्न गरिने छ । 
प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्नुहुँदै मुलुकको समृद्धि र विकाससँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्गको सम्पूर्ण निर्माण कार्य अबको पाँच वर्षभित्र सम्पन्न हुने बताउनुभएको थियो । यो रेलमार्ग निर्माणका लागि नेपाल र भारतको संयुक्त कार्यदलले छिट्टै नै अध्ययनको थालनी गर्ने जानकारी समेत उहाँले गराउनुभएको थियो । 
सम्भाव्यता अध्ययनपछि यस रेलमार्ग निर्माणको लागि बृहत् परियोजना प्रतिवेदन डीपीआर) निर्माणको प्रक्रिया अगाडि बढाइने बताउनुहुँदै प्रवक्ता उपाध्यायले अबको दुई वर्षपछि निर्माण कार्य सुरु गरिने लक्ष्य रहेको जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनपछि यस रेलमार्गको ‘फन्डिङ मोडालिटी’ तय गरिने जानकारी उहाँले दिनुभयो । 
नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय महत्वको प्रस्तावित यो रेलमार्गको लम्बाई करिब ११३ किलोमिटर हुने अनुमान गरिएको छ । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौँ रेलमार्गलाई काठमाडौँमा जोडिने लक्ष्य लिइएको छ । रक्सौलबाट वीरगञ्ज, निजगढ हुँदै वागमती किनारसँगै काठमाडौंसम्म पुग्ने प्रस्तावित यो रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल मार्ग निर्माण गर्नुपर्ने रेल विभागले जनाएको छ ।
भू–बनोटका दृष्टिकोणले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गभन्दा रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण सहज देखिएको रेल विभागले जनाएको छ । 
संयुक्त राष्ट्र«सङ्घको ‘युनाइटेड नेसन इकोनोमिक एन्ड सोसल कमिसन फर द एसिया एन्ड द प्यासिफिक’ ले सन् २००६ मा कोेरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेल्वे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो । त्यसपछि सदस्यता प्राप्त गरेको छ बर्षपछि सन् २०१२ मा व्यवस्थापिका संसद्ले अनुमोदन गरेको थियो ।

 

स्रोत: http://gorkhapatraonline.com/news/55636

Newsletter

Submit your details below to receive Newsletters

Newsletter