रसुवागढी नाका हुँदै ४० देशका पर्यटक नेपाल भित्रिए

December 17, 2018

हिमनाथ देवकोटा, नागरिक, ०१ पुष २०७५ 

रसुवा - रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्। जसमा सबैभन्दा बढी चिनियाँ छन्। आएकामध्ये ८ सय ६९ अर्थात करिव ७२ प्रतिशत चिनियाँ पर्यटक रहेका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ। 

नेपाल आएका प्रमुख १० देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अस्ट्रेलिया रहेको छ। रसुवागढी नाका हुँदै ११ महिनामा २८ हजार चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०१८ को जनवरीदेखि नोेभेम्बर अन्तिमसम्ममा २८ हजार पाँच सय ९२ पर्यटक आएका कार्यालयको तथ्यांक छ। जनवरीमा पाँच सय ८५, फेब्रुअरीमा आठ सय १६, मार्चमा तीन सय ६८, अप्रिलमा दुई हजार सात सय २२, मेमा दुई हजार सात सय ३२ र जुनमा चार हजार आठ सय ३० यो नाका हुँदै नेपाल आएका छन्। 

त्यसैगरी जुलाइमा चार हजार दुई सय ४४, अगस्टमा चार हजार एक सय २६, सेप्टेम्बरमा चार हजार ११, अक्टोबरमा दुई हजार नौ सय ५० र नोभेम्बरमा एक हजार दुई सय आठ चिनियाँ पर्यटक नेपाल आएको कार्यालयले जनाएको छ।रसुवागढी नाका हुँदै जुनमा सबैभन्दा बढी र मार्च महिनामा सबैभन्दा कम पर्यटक आएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ देशलाई अन–अराइभल भिसा उपलब्ध गराउँदैन।

सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कुटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्छ। 

भिसाका लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए। विभागको वेभसाइटमा गएर फारम भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फारम धेरै चाँडै भर्न नहुने उनको भनाइ छ। अध्यागमन अधिकृतले कागजात छानबिन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले केआइओएसके मेसिन जडान भएपछि पर्यटकलाई फाराम भर्न सजिलो भएको छ। 

त्यस्तै ११ महिनाको अवधिमा रसुवागढी नाका हुँदै विभिन्न मुलुकका १९ हजार दुई सय १५ पर्यटक बाहिरिएको अध्यागमन कार्यालयले जानकारी दिएको छ। 

सोर्त:https://nagariknews.nagariknetwork.com/news/64451/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More