बलराम घिमिरे, कान्तिपुर, असार १८, २०७६
रसुवा — रसुवागढी नाका हुँदै छ महिनाको अवधिमा १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ जनवरीदेखि जुन मसान्तसम्ममा सो नाका हुँदै १३ हजार ७० पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए ।
जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक आएको तथ्यांक छ। चीन सरकारले २०७४ भदौ १४ गते रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन्। ५५ भन्दा बढी देशका पर्यटक आएका छन्। नाकाबाट करिब ७० प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेका छन्।
नेपालतर्फ भौतिक पूर्वाधार र प्रविधि प्रयोग हुन नसक्दा समस्या भएको घर्तीले बताए। पर्यटकलाई मध्यनजर गर्दै कार्यालयले डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याएको छ। भिसाका लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए।
अध्यागमन कार्यालयमा पर्यटकका लागि तातो तथा चिसो पानी र फ्री वाइफाईको समेत व्यवस्था गरिएको छ। नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले एक वर्षमा १५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन्। चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्।
नेपाल आउने अधिकांश चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्। रसुवागढी नाकालाई चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि नेपालतर्फ अझै पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन।
स्रोत: https://www.kantipurdaily.com/business/2019/07/03/156216396452095370.html