राजधानीको प्रदूषणले बढायो श्वास–प्रश्वासका बिरामी

November 20, 2017

पवित्रा सुनार, नागरिक दैनिक, ४ मंसिर २०७४

काठमडौं- विभिन्न भौतिक संरचना निर्माणका क्रममा निस्किने धुलोको प्रदूषणले राजधानीका बासिन्दालाई रोगी बनाउँदै लगेको छ । प्रदूषणले राजधानीवासीमा मुख्यतया श्वास–प्रश्वास सम्बन्धी विभिन्न रोग बढाउँदै लगेको छ ।
धुलोका कारण राजधानीवासीमा दम, पिनास, सिओपिडी , रुघाखोकीको एलर्जी, घाँटीको समस्याजस्ता रोग बढ्दै गएको चिकित्सकको भनाइ छ । वीर अस्पतालका अनुसार दैनिक मेडिकल ओपिडीमा आउने औसत दुई सय बिरामीमध्ये १५ प्रतिशत प्रदूषणका बिरामी छन् । अस्पतालकै आकस्मिक कक्षमा दैनिक ५० जना प्रदूषणले निम्त्याएका बिरामी आउँछन् । टिचिङ अस्पतालको मेडिकल वार्डमा दैनिक आउने औसत एक सय ५० बिरामीमध्ये ८० प्रतिशत प्रदूषणसँग सम्वन्धित छन् ।
चिकित्सकका अनुसार उनीहरूमा बढी मात्रामा श्वास–प्रश्वाससँग सम्बन्धित रोग रुघाखोकीको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, क्षयरोग, एक्विड ब्रोङकाइटिस, दम, सिओपिडीजस्ता रोगहरु बढ्दै गएको छ । ‘प्रदूषणको रोग बिकराल बन्दै गएको छ, कोही कालो खकार आयो भन्दै आउँछन्, कोही हाँच्छिउँ आयो, टाउको दुख्यो भन्दै आउँछन्,’ वीर अस्पतालका वरिष्ठ फिजिसयन डा. धु्रव गैरेले भने । प्रदूषणले बिरामी भएकाहरू कोही सुरुकै अवस्थामा उपचारमा पुगेका छन् भने धेरैजसो क्रोनिक अवस्थामा पुगिसकेका छन् ।
खासगरी राजधानीमा सडक बिस्तार , मेलम्ची पानी र तीव्र बस्ती विकाससँगै प्रदूषणको समस्या बढेसँगै श्वास–प्रश्वासका बिरामी बढ्दै गएको चिकित्सकको अनुभव छ । ‘पहिला जाडोको मौसममा मात्र यस्ता बिरामी आउँथे अहिले बाह्र महिना हाँच्छिउँ आयो, घाँटी खस–खस ग¥यो भन्दै आउँछन्,’ डा. गैरेले भने । यही अनुभव टिचिङ अस्पतालका फिजिसियन डा. निरज बमको छ । ‘पाँच÷सात वर्ष भएको हुनु पर्छ ह्वात्तै एलर्जीका बिरामी बढेका छन्,’ उनले भने । उपचारमा आउने कतिपय बिरामीले राजधानीबाट घर पुग्दा स्वतः एलर्जीको रोग निको भएको सुनाउने गरेको डा. बमले बताए ।
सडकछेऊमा पसल खोलेका पसले, दैनिक लामो समय मोटरसाइकल चढ्ने व्यापारी, मार्केटिङ गर्ने जागिरे, सडक पेटीका व्यापारी, सडकछेउका घरमा बस्नेहरू राजधानीको प्रदूषणका कारण बढी प्रभावित भएको पाइएको चिकित्सकले बताए । ‘दिनभरि मोटरवाइकमा चढेर मार्केङ गर्नेहरू बढी खोकी लाग्यो, हाँच्छिउँ आयो भन्दै आउँछन्,’ टिचिङ अस्पतालका डा. बमले भने । ‘सडकछेउका व्यापारीहरु बाह«ै महिना हाँच्छिउँ आयो, कालो खकार आयो भन्दै आउँछन्,’ वीरका डा. गैरेले भने । वर्षौंदेखि राजाधानीमा धुलोको नियन्त्रण भएपछि राजधानीवासीहरू युवा उमेरमै छिप्पिएको आज्मा, ब्रोङकाइटिस, पिनासजस्ता रोगले ग्रसित भइसकेको चिकित्सकहरू बताउँछन् । ‘सुरुमै उपचारमा नआउने बिरामीमा धेरैखाले श्वास–प्रश्वासका रोगहरू छिप्पिसकेको छ ’ डा. गैरेले भने ।
अस्पतालका अनुसार वर्खाको तुलनामा हिउँदमा प्रदूषण बढी हुने भएकोले प्रदूषणका बिरामी पनि हिउँदमै बढ्ने गर्छन् । हिउँदमा धुलो बढी उड्ने भएकैले श्वास–प्रश्वासका बिरामी पनि बढी देखिएका हुन्,’ डा. गैरेले भने ।
प्रदूषणका कारण आँखा रातो हुने, चिलाउने, आँखा दुख्ने, छाला चिलाउने जस्ता रोग लाग्छन् । छालामा लाग्न सक्ने रोग पछि गएर क्रोनिक आटिकरियाको अवस्थामा पुग्छ ।
यी रोगमध्येकै लक्षण देखा परेमा समयमै उपचार गर्न चिकित्सकको सुुझाव छ । चिकित्सकका अनुसार यी रोगबाट बच्नका लागि राजधानीवासीले अनिवार्य माक्सको प्रयोग गर्ने, सडकछेउका व्यापारीले सिसा या पर्दा राख्ने, मोटरसाइकल चालकले अनिवार्य माक्र्सको प्रयोग गर्ने, एक पटक प्रयोग गरेको माक्स अर्को पटक प्रयोग नगर्ने,  कपडाको माक्र्स छ भने धोएर मात्र प्रयोग गर्ने जस्ता सावधानी अपनाउनु पर्छ ।
बाहिर हिंड्दा सकेसम्म मूल सडकभन्दा भित्री बाटोको प्रयोग गर्ने, बाहिर निस्कदा प्रशस्त पानी पिउने, दैनिक व्यायम गर्ने, चुरोट सेवन नगर्ने, मधुमेह नियन्त्रणमा राख्ने, दैनिक भोजनमा पोषणयुक्त खाना खाने  जस्ता वानी बसालेमा यी रोगबाट बच्न सकिने डा.गैरेको सुझाव छ । बालबालिकालाई यी रोगको बिरुद्ध खोप लगाउनु पर्छ ।

कसरी बच्ने ?
– सडकछेऊका व्यापारीले सिसा तथा पर्दा लगाउने
– अनिवार्य रूपमा माक्सको  प्रयोग गर्ने
– सकेसम्म बाहिर कम निस्कने
– पैदल यात्रुले हिंड्दा भित्री बाटो प्रयोग गर्ने
– एकपटक लगाएको माक्र्स पुनः प्रयोग नगर्ने
– प्रशस्त मात्रामा पानी पिउने तथा सन्तुलित भोजन गर्ने
– नियमित व्यायम गर्ने

स्रोत: http://www.nagariknews.com/news/30796/

फोटो स्रोत: http://www.harekpal.com/archives/13525

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More