News

राप्तीपारिको विद्युत् योजना अलपत्र, ठेकेदार सम्पर्कविहीन

May 05, 2017

Karobar daily, 5th May 2017, Kathmandu

बाँकेको राप्तीपारिका ९ गाविसमा विद्युत् पु-याउने उद्देश्यले सञ्चालन गरिएका करोडांैका ४ योजना सम्पन्न नहुँदा अलपत्र छन् । ती योजना लिएका ठेकेदारले काम पूरा नगरी ठेक्काको समय सकिएको छ । 

बघौडा ग्रामीण विद्युतीकरण योजनाको काम सुरु नहुँदै ठेक्काको कार्यावधि सकिएको छ भने बैजापुरदेखि नरैनापुरसम्म ११ केभीको विद्युत् विस्तार योजना तथा कटकुइँया–मटेहिया र बिनौना–बैजापुर विद्युत् विस्तार योजनासमेत पूरा नहुँदा अलपत्र परेका छन् । 

ठेक्का सम्झौता भएको समयसीमा समाप्त भइसक्दा पनि ती योजनाको कुनै काम सुरु नभई र कुनै पूरा नभई कार्यावधि सकिएपछि करोडौंको उक्त योजना अलपत्र परेका हुन् । ठेकेदार राजेन्द्र मिश्रले बघौडा क्षेत्रमा विद्युत् विस्तारका लागि पहिलो चरणको निर्माण कार्यको ठेक्का लिएका थिए ।

कोहलपुरदेखि बैजापुरसम्म ३३ केभीको विद्युत् लाइन विस्तारका लागि ३ करोड ७८ लाखमा केन्द्रीय प्राधिकारणले उनलाई ठक्का दिएको थियो । मिश्रले करिब १ यस विद्युत्का पोलमात्रै खसाएर काम रोकेका हुन् । विद्युत् विस्तारको काम सुरु गर्न स्थानीयले माग गर्दै आएका छन् ।

विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार ठेकेदारको कार्यावधि सकिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराई सकिएको छ । ठेकेदारलाई काम सुरु गर्न पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको सो कार्यालयको भनाइ छ । 

राप्तीपारि बघौडा क्षेत्रमा पर्ने बैजापुर, नरैनापुर, बिनौना, कटकुइँया, लक्ष्मणपुर, मटेहियाका सर्वसाधारण बिजुलीविहीन छन् । ०६५ मा स्थानीयले विद्युत् विस्तारका लागि ३ करोड २२ लाख रुपैयाँ जम्मा गरेका थिए । उक्त योजनामा सरकारको ८० र समुदायको २० प्रतिशत रकम लगानी हुने गरी सम्झौता भएको थियो ।

बघौडा विद्युतीकरणका संरक्षक अमर खड्काले ठेक्का सदर भएको एक महिना नबित्दै ठेकेदार सम्पर्कविहीन भएको बताए । 
खडकाले ठेकेदार खोज्दा–खोज्दै काम गर्ने समय बितिसकेको गुनासो पनि गरे । उनले प्राधिकारणको लापरबाहीका कारण ठेकेदारलाई कारबाही हुन नसकेको बताएका छन् । 

त्यस्तै बैजापुरदेखि नरैनापुरसम्म ११ केभीको विद्युत् विस्तारको काम पनि सुरु भएको छैन । ९ करोडमा सम्पन्न गरिने विद्युत् विस्तारको उक्त ठेक्का पनि मिश्रले नै लिएका थिए ।

उक्त ठेक्काको पनि कार्यावधि सकिएपछि नयाँ ठेक्का प्रक्रियाका लागि केन्द्रमा फाइल पठाइएको प्राधिकरणले जनायो । कटकुइँया–मटेहिया र बिनौना–बैजापुर विद्युत् विस्तारका कामसमेत सुरु हुन सकेका छैनन् ।

ती योजना ९ र १३ करोडमा सम्पन्न गर्ने लक्ष्य छ । विद्युत् विस्तारको काम सुरु गर्न स्थानीय बासिन्दाले प्राधिकारणको क्षेत्रीयदेखि केन्द्रसम्म बर्सेनि धाइरहेका छन् । 

Source: http://www.karobardaily.com/news/77571