रामायण सर्किटमा जोडिँदै जनकपुर

May 07, 2018

अजित तिवारी, कान्तिपुर दैनिक, २४ बैशाख २०७५

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिने भएको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्किट अवधारणा ल्याइएको हो ।

रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्त्वपूर्ण मानिएको यो सर्किटको वैशाख २८ गते नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा उद्घाटन गर्ने तयारी छ । नेपालको राजकीय भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउँदै छन् ।

 

 

मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो । भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्न खोजेको हो । ‘रामायण सर्किटअन्तर्गत मिथिला र अवधको सम्बन्धलाई विश्वव्यापी बनाउन खोजिएको हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कान्तिपुरसँग भने, ‘मिथिला र अवधको बीचमा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार गर्नु यसको उद्देश्य हो ।’

रामायण सर्किटअन्तर्गत नेपाल र भारतका धार्मिक रुटमा विकासका पूर्वाधार निर्माण गरिनेछ । भारतले उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोड्दै छ ।

अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो । यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थल जोड्ने भारतको योजना छ । यसमा श्रीलंकाले पनि चासो देखाएको छ ।

रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगीकरण, सडक, शिक्षा र पर्यटनका पूर्वाधार पनि तयार पारिनेछ । दासका अनुसार रामायण सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्नेछ । ‘राम र सीताको चरण (पाउ) जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रूटमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको लक्ष्य हो,’ मिथिला–अवध सांस्कृतिक संरक्षण परिषदका उपाध्यक्ष सुनील चौधरीले भने ।

जानकी मन्दिरका उत्तराधिकारी दासले दिएको जानकारीअनुसार रामायण सर्किटअन्तर्गत हरेक वर्ष भारतको अयोध्यामा जनकपुर महोत्सव र जनकपुरमा अयोध्या महोत्सव आयोजना गरिनेछ । महोत्सवमा राम र सीताको जीवनीमा प्रकाशित ग्रन्थ, पान्डुलिपि, हस्तशिल्प, कला, स्थानीय भोजन र वेशभूषा प्रदर्शन गरिनेछ । जनकपुर–अयोध्या दूरी ६ सय ५० किलोमिटर छ ।

भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटीसी) मा पनि नेपाललाई समावेश गरेको छ । रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटीसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ । ‘रामायण सर्किटले भारतका सरकारी कर्मचारीलाई भ्रमणको सहुलियतसमेत दिएको छ,’ दासले भने, ‘सनातन धर्म मान्ने भारतको कुल जनसंख्याको ७० प्रतिशतलाई जनकपुर–अयोध्या घुम्न सुविधा पुग्नेछ ।’

रामायण सर्किटले हाललाई नेपाल र भारतको धार्मिकस्थललाई जोडे पनि श्रीलंका सरकार पनि ‘ग्रेटर रामायण सर्किट’ को पक्षमा छ । चैत दोस्रो साता जनकपुर आएकी नेपालका लागि श्रीलंकाली राजदूत डब्लूएस परेराले राम र सीताको सम्बन्ध श्रीलंकासँग पनि भएकाले नेपाल, भारत र श्रीलंकालाई समेटेर ग्रेटर रामायण सर्किट बनाउन प्रस्ताव गरेकी थिइन् । ‘श्रीलंकामा रावणले राज्य गरेको सहर नुवारा एलियालाई पनि रामायण सर्किटमा जोड्नुपर्छ,’ परेराले भनेकी थिइन्, ‘त्यसपछि मात्रै रामायण सर्किट पूर्ण हुन्छ ।’

स्रोत : https://www.kantipurdaily.com/news/2018/05/07/152565635846653596.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More