राष्ट्रपति निर्वाचन: उम्मेदवारी मनोनयन आज

March 07, 2018

कान्तिपुर समाचारदाता, कान्तिपुर दैनिक, २३ फागुन २०७४ 

राष्ट्रपति चयनका लागि बुधबार उम्मेदवारी मनोनयन हुँदैछ । फागुन २९ मा हुने निर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदाताको अन्तिम सूची मंगलबारै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन ।

निर्वाचन आयोगका अनुसार बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदाताको अन्तिम सूची मंगलबारै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई सर्वाेच्च अदालतको अन्तरिम आदेशले शपथ रोकिएका कारण मतदाता हुन पाएनन् । प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले सजाय सुनाएपछि कानुनत: निलम्बित छन् । प्रतिनिधिसभा सदस्य रेशम चौधरीको नाम मतदाता सूचीमा भए पनि उनी पुर्पक्षका लागि थुनामा रहेकाले मतदान गर्न पाउने छैनन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र तोकिएको छ । राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापनापछि कांग्रेस नेता डा. रामवरण यादव पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति निर्वाचित भएका थिए । नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन व्यवस्थाअन्तर्गतझन्डै साढे दुई वर्षअघि तत्कालीनसंसद्बाट भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन्। अब पाँच वर्षेकार्यकालका लागि राष्ट्रपति चयन हुन लागेको हो । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारीलाई नै अघि सार्ने कि नयाँलाई पठाउने भन्नेबारे टुंगो लगाउन मंगलबार मध्यरातसम्म एमालेको स्थायी समिति बैठक जारी रह्यो ।

 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई दोहोर्‍याउन चाहेका हुन् । ओली पक्षले उनले साढे दुई वर्षे कार्यकालमा राम्रो काम गरेको मूल्यांकन गरे पनि माधव नेपाल समूहका नेताहरूले भण्डारीको विकल्प खोज्नुपर्ने बताएपछि बैठक मध्यरातसम्म लम्बिएको हो ।

 

वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आकांक्षी देखिएपछि ओली पक्षका नेताले मुलुकको कार्यकारी प्रमुखका रूपमा भूमिका निर्वाह गरिसकेको व्यक्ति राष्ट्रपतिजस्तो आलंकारिक पदमा जान नहुने तर्क गरेका थिए ।

 

दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि प्रधानमन्त्री ओलीले मंगलबार बिहानै पार्टीका शीर्ष नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए । बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीसहित वरिष्ठ नेता खनाल, नेता नेपाल, उपाध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेललगायत नेताहरूबीच छलफलभएको थियो । त्यसपछि दिउँसो पनि उनीहरूबीच दोस्रो चरणको कुरा भएपछि साँझबाट प्रधानमन्त्री निवास बालुवाटारमै एमाले स्थायी समितिको बैठक बसेको थियो । बैठक रातिसम्म जारी थियो ।

 

राष्ट्रपति भण्डारी आफैंले पनि दोहोरिनका लागि वाम गठबन्धनका नेताहरूसँग अनौपचारिक रूपमा लबिइङ गरिरहेकी थिइन् । उनले एमाले र माओवादी केन्द्रका नेताहरू आफू संक्रमणकालीन व्यवस्थाअन्तर्गत बनेकाले पूर्ण कार्यकाल राष्ट्रपति हुन पाउनुपर्ने भन्दै आग्रह गर्दैै आएकी थिइन् । राज्यको साधन स्रोतको प्रयोगका हिसाबले पनि राष्ट्रप्रमुख जस्तो पदमा छिटोछिटो व्यक्ति फेरिँदा राम्रो सन्देश नजाने तर्क पनि आएको थियो ।त्यसैले वाम गठबन्धनका केही नेताहरूबीच राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउनेबारे कुराकानी भएको थियो ।

 

राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा सन्तुलित भूमिका खेलेको एमालेका संस्थापन समूहका नेताहरूको मूल्यांकन छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नका लागि सरकारलाई बाध्य पार्ने एउटा मुख्य कडीका रूपमा राष्ट्रपतिले भित्रबाट भूमिका खेलेको उनीहरूको विश्लेषण छ । तर नेपाल समूहका नेताहरू भने पार्टीको उपाध्यक्ष पदबाट हटेर राष्ट्रपति बनेकी भण्डारीले शीतल निवासबाटै पार्टीभित्र पनि आफ्नो प्रभाव विस्तार गरेको भन्दै असन्तुष्ट थिए । थप पाँच वर्षसम्म भण्डारीको निरन्तरताले पार्टी र सरकार दुवैका लागि समानान्तर शक्ति केन्द्रका रूपमा उदाउने भएकाले नयाँ व्यक्तिलाई त्यहाँ पठाउनुपर्ने तर्क नेपाल पक्षका नेताहरूको थियो । यस्तै विषयको विवादले मध्यरातसम्म एमालेको बैठक लम्बिएको हो ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/03/07/20180307071149.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter