News

राष्ट्रिय गौरवका विमानस्थल : अधिकांशको निर्माण सुस्त

October 26, 2017

उत्तम काप्री, अन्नपुर्ण पोस्ट, ९ कार्तिक २०७४ 

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप थेग्न र प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाउन निर्माण सुरु गरेका विमानस्थलको निर्माण सुस्त देखिएको छ। सरकारले एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरेको ३२ महिना भइसकेको छ। तर, हालसम्मको प्रगति भने ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ।

यसैगरी एडीबीकै सहयोगमा २०१२ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु गरे पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। त्रिभुवन विमानस्थल स्तरोन्नति अझै दुई वर्षसम्म सम्पन्न हुने अवस्था छैन। त्रिभुवन विमानस्थल स्तरोन्नतिको जिम्मा पाएको स्पेनिस सान्जोसेसँगको ठेक्का रद्दपछि अहिले दुई चरणको कामका लागि मात्रै कम्पनी छनोट भएको छ। अझै विमानस्थल स्तरोन्नतिअन्तर्गत रहेको दुई तहको कामका लागि कम्पनी छनोट हुन बाँकी छ। यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भने कोरियन कम्पनी एलएमडब्लूले तयार पारेको प्रारम्भिक रिपोर्टमा विवादमै छ।

एडीबीकै सहयोगमा २०१२ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु गरे पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पहुँचमार्ग र विमानस्थल निर्माण क्षेत्रमा पर्ने रुख कटानीका लागि नेपाल आर्मीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्झौता गरेको छ। सन् २०१७ मै पोखरा विमानस्थल निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माणका लागि दुई महिनाअगाडि मात्रै चिनियाँ एक्जिम बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण र वाणिज्य बैंकबीच सहमति भइसकेको छ। सरकारले ईपीसी मोडलमा सन् २०१९ को सेप्टेम्बरसम्म निर्माण कम्पनीले काम सम्पन्न गर्ने आशा राखेको छ।

गौतम बुद्ध विमानस्थल निर्माण तीव्र

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता देखिएको आयोजना निर्देशक ओम शर्माले बताए। विमानस्थल निर्माणअन्तर्गत अहिलेसम्म ३० प्रतिशत काम भए पनि अबको ८ महिनामा ८० प्रतिशत काम सम्पन्न हुने उनको दाबी छ। ‘विमानस्थल निर्माण समयमै सम्पन्न हुने अवस्था छैन', उनले भने, ‘निर्माण कम्पनीले सन् २०१८ को जुनसम्म ८० प्रतिशत काम गरेको अवस्थामा ६ महिनासम्म समय थप गर्दा काम सम्पन्न हुन्छ।' निर्माण कम्पनीले अहिले आवश्यक औजार तथा दैनिक दुई सयभन्दा बढी मजदुर लगाएर काम गरिरहेको उनले बताए। सरकारले यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधासम्पन्न बनाउने लक्ष्यसहित ६ अर्ब २२ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।

निजगढको डीपीआर निर्माणमा अन्योल

सरकारले ८० वर्गकिलोमिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल डीपीआर निर्माण नै अन्योलमा छ। आयोजना निर्देशनालय र प्राधिकरणले डीपीआर निर्माणका लागि आवेदन दिएका २२ कम्पनीमध्ये ६ कम्पनी सर्टलिस्ट गरे पनि प्राधिकरण बोर्ड सञ्चालन समितिबाट स्वीकृत भएको छैन।

बोर्डले बजेट पारितसमेत नगर्दा यो आर्थिक वर्षमा विमानस्थल निर्माण सुरु हुने सम्भावना न्यून देखिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए। विमानस्थल निर्माणका लागि करिब पाँच वर्षअगाडि एलएमडब्लूले विमानस्थल निर्माण गर्ने सक्ने सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म ईआईए र डीपीआर बन्न नसकेको उनले जानकारी दिए। एलएमडब्लूले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनको रिपोर्ट मन्त्रालयले खरिद गर्न सकेको छैन। प्रतिवेदन खरिदमा सरकारी पक्ष र एलएमडब्लूबीच रकममा विवाद देखिएको छ।

विमानस्थल निर्माण हुने ठाउँमा करिब १० हजार बिघामा फैलिएको जंगल छ। प्राधिकरणले जंगल क्षेत्रमा रहेको रुख कटानी र पहुँचमार्ग निर्माणका लागि भने नेपाली सेनासँग सम्झौता गरिसकेको छ।

पोखरा विमानस्थल निर्माण सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लामो समयदेखि विवादमा रहेको इस्क्रो एकाउन्ट खातामा सहमति भएर निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको छ। चिनियाँ एक्जिम बैंकको सहयोगमा ईपीएस मोडलमा २०१९ को सेप्टेम्बरसम्म विमानस्थल निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ।
निर्माण कम्पनीले अहिले आफ्नो कामदार राख्ने र अफिस निर्माणमा तीव्रता दिएको श्रेष्ठले जानकारी दिए। विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिकरणका लागि पनि सूचना प्रकाशन भइसकेको छ। सरकारले सन् २०२० बाटै विमानस्थल निर्माणका २१ अर्ब रुपैयाँमा करिब ३८ सय रोपनीमा फैलिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २५ सय मिटरको रन वे बनाउन लागेको हो।

आंशिक कामका लागि कम्पनी छनोट

स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको आंशिक कामका लागि सरकारले कम्पनी छनोट गरेको छ। विमानस्थल स्तरोन्नतिअन्तर्गत एनसीबी २ नम्बरको काममा लागि नेपाली कम्पनी शर्मा प्रेरा आशिष ज्वाइन्ट भेन्चर छनोट भएको छ। सान्जोसेसँग ठेक्का रद्द भएपछि सरकारले विमानस्थल विस्तारमा एकै कम्पनीले काम गर्न नसक्ने भन्दै चार तहमा वर्गीकरण गरेर काम गर्ने निर्णय गरेको थियो।

सोहीअनुरूप नेपाल नागरिक उड्डयन प्राधिकरणले एनसीबी १, एनसीबी २ र एनसबी ३ का लागि गत फागुन ७ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिन सक्ने गरी बोलपत्र आह्वान गरेको थियो। यसैगरी प्राधिकरणले एनसीबी एकअन्तर्गत रहेको रन वे विस्तारका लागि ५ दशमलव ८ मिलियन डलरमा भित्रै काम गर्ने गरी निर्माण सम्झौता अन्तिम चरणका पुर्‍याएको छ। साथै एनसीबी ३ अन्तर्गत रहेको वाटर सप्लाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत कामका लागि प्राधिकरणले १.८ मिलियन अमेरिकी डलरको सीमा तोकेको निर्माण कम्पनी छनोट गर्दै छ।

तर, प्राधिकरणले सबैभन्दा गाह्रो कामअन्तर्गत रहेको अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे निर्माणका लागि भने बोलपत्र आह्वान गर्न सकेको छैन। अहिले अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे निर्माणका लागि परामर्शदाताले डिजाइन निर्माण गरिरहेको श्रेष्ठ बताउँछन। डिजाइन र लागत सेप्टेम्बरभित्रै तय गर्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने श्रेष्ठले जानकारी दिए।

स्रोत: http://annapurnapost.com/news-details/82725