राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुद्वारा शपथग्रहण

March 05, 2018

शेखर अधिकारी/ मकर श्रेष्ठ, कान्तिपुर दैनिक, २० फागुन २०७४

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुले शपथग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । 

निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले शपथ लिएका हुन्। सांसदहरु नेपाली पोसाक र जातीय पहिचान झल्कने आ-आफ्ना वेषभूषामा शपथ लिन पुगेका थिए। सांसदहरुलेमैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ भाषामा समेत शपथ लिएका छन्।प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेको छ।
 

शपथग्रहणमा नेपाल प्रहरीको खोजीको सूची रहेका एमाले सांसद् नवराज सिलवाल पनि सहभागी भए। उनी एमाले नेता माधव नेपालको गाडी चढेर गएका हुन्। तर,फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी भने शपथ ग्रहणमा सहभागी हुन पाएनन्।जिल्ला प्रशासन कार्यालय कैलालीले उनी शपथमा सहभागी नहुने जानकारी संसद् सचिवालयलाई गराएको थियो।
 

जेष्ठ सदस्य ठाकुरले आजै राष्ट्रपति विद्या भण्डारीसमक्ष शपथ लिएका थिए।प्रतिनिधिसभा निर्वाचन मंसिर २१ गते सम्पन्न भएको थियो ।

यसैगरी, राष्ट्रिय सभाका सदस्यहरुलाई पनि जेष्ठ सदस्य तारादेवी भट्टले पद तथा गोपनियताको शपथग्रहण गराएकी छन्। संघीय संसद् भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सांसद्हरुले शपथ लिएका हुन्।
 

राष्ट्रिय सभा ५९ सदस्यीय रहेको छ। तर, सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यले भने शपथ लिन पाएनन्।मुद्दाको किनारा नलागेकाले केपी ओली सरकारले सिफारिस गरेका युवराज खतिवडा, विमला पौड्याल र रामनारायण बिडारी आइतबार शपथ लिनबाट बञ्चित भएका छन्।शपथ रोके पनि खतिवडा अर्थमन्त्री नियुक्त भइसकेका छन्।
 

राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु भएलगत्तै निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले अन्तरिकालिन आदेश दिने न्यायाधीश प्रकाश राउत र केपी ओली सरकारमा महान्यायाधिवक्ता रहिसकेका न्यायायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि सुनुवाइ स्थगित गरिएको छ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/03/04/20180304170050.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More