News

राहत वितरणमा जुट्यो सरकार, १३ हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा

August 15, 2017

सुबाश गोतामे, नागरिक दैनिक, ३१ श्रावण २०७४ 

लगातारको वर्षा रोकिएपछि उद्धारसँगै सरकार प्रारम्भिक राहत वितरणमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्य मन्त्रीसहित सोमबार अपराह्न बाढी प्रभावित क्षेत्र पुगेका थिए।

प्रधानमन्त्री देउवालाई लिएर ११ बजेर ५१ मिनेटमा उडेको सेनाको हेलिकोप्टर सुरुमा इटहरी पुगेको थियो । इटहरीस्थित कृष्ण मन्दिरमा राखिएका बाढीपीडितलाई देउवा आफैंले राहत वितरण गरेका थिए। प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू बाढीपीडित क्षेत्रमा पुगेपछि सेनाको हेलिकोप्टरबाट पुर्‍याइएको राहत वितरण गरिएको थियो।

प्रधानमन्त्रीको टोलीमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा र चारवटै सुरक्षा निकायका प्रमुख थिए । यो टोलीले बारा, पर्सा रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापाका बाढी पहिरो र डुबान क्षेत्र निरीक्षणसमेत गरेको थियो ।

सरकारले राहत रकम विनियोजन गरेर प्याकेज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको थियो। गृह मन्त्रालयका अनुसार १२ वटा बाढी प्रभावित जिल्लामा सेना र अन्य निजी हेलिकोप्टरमार्फत राहत पठाइएको थियो। जसअन्तर्गत झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत पठाइएको हो । राहत लिएर सेनाको सातवटा र निजी क्षेत्रका आठवटा हेलिकोप्टर पठाइएको गृहले जनाएको छ ।

जसअनुसार झापामा आठ सय ५१ थान त्रिपाल, चार सय ७५ थान कम्बल र दुई सय ६१ सेट भाँडाकँडा र ड्राइफुड, सुनसरीमा ६ हजार चार सय ८५ किलो चामल, १२ हजार ६० केजी चिउरा, ६ हजार सात सय १० केजी भुजिया, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर तेल, ६ सय ५० पोका चाउचाउ र तीन सय २५ केजी दालमोठ वितरण गरिएको छ । त्यसैगरी, सप्तरीमा ६ सय ७० वटा त्रिपाल, १५ बोरा चिउरा, ५० बोरा भुजिया, १० बोरा चामल, लत्ताकपडा एक सय ४६ थान र विराटनगरबाट पाँच हजार केजी ड्राईफुड पठाएको मन्त्रालयले जनाएको छ।

झापा, सुनसरी, सप्तरीसँगै अन्य आठ जिल्ला सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा त्रिपाल, कम्बल, सिटामोल, जीवनजलसँगै ड्राइफुड, भाडाकुँडा र लत्ताकपडा पठाइएको जानकारी गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिए । उनले भने, 'बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहित अन्य मन्त्रीज्यूहरू पुग्नुभएको थियो, राहत सुरक्षाकर्मी र अन्य जनशक्तिले वितरण गरेका थिए ।'सुवेदीका अनुसार उद्धार र राहत वितरणका लागि सुरक्षाकर्मीसमेत गरी २६ हजार सात सय जना परिचालित गरिएको थियो।

राहत वितरण एवं उद्धारकार्यका लागि निजी क्षेत्रमार्फत सिम्रिक एयरलाइन्सको दुईवटा हेलिकोप्टर एक बजे राहत लिएर रौतहट र बारा पुगेर फर्किएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार अन्य निजीतर्फ अल्टिच्युड एयरको एउटा, मनाङ एयरको दुईवटा, हेली एभरेस्टको एउटा, एयर डाइनेस्टीको दुईवटा हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा राहत तथा उद्धारका लागि उडेको थियो।

गृहले राहत सामग्री संकलन एवं सहजीकरण गर्न दुईवटा टोली बनाएको छ । जसअन्तर्गत गृह मन्त्रालयका उपसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव श्रवणकुमार तिमल्सिनाको दुईवटा राहत सामग्री संकलन सहजीकरण टोली बनेको छ। उक्त टोलीमा आपूर्ति मन्त्रालय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग थापाथलीस्थित खाद्य संस्थानको डिपो प्रमुख रहनेछन्। यी दुई टोलीलाई मंगलबार बिहान आठ बजेदेखि नै काम थाल्न निर्देशन दिइएको छ।

स्रोत: http://annapurnapost.com/news/77710