राहदानीबाटै पौने तीन करोड राजस्व

August 08, 2019

भगवती लामा, नागरिक, साउन २३, २०७६ 

नुवाकोट - जिल्ला प्रशासन कार्यालय नुवाकोटले आर्थिक वर्ष ०७५÷७६ मा दुई करोड ९१ लाख ५४ हजार दुई सय १९ रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालयको अनुसार सबैभन्दा बढी राजस्व राहदानीबाट संकलन भएको छ।  गत आवमा राहदानीको साधारण सिफारिस पाँच हजार तीन सय दुई, द्रुत सिफारिस दुई हजार आठ सय २३, राहदानी वितरण पाँच हजार एक सय दुईवटा गरिएको थियो। 

राहदानी सिफारिस तथा वितरणबाट दुई करोड ७७ हजार ८२ हजार पाँच सय रुपैयाँ संकलन भएको छ।  संस्था दर्ताबाट तीन लाख १८ हजार ३४ रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट आठ लाख ४९ हजार दुई सय ५० रुपैयाँ, न्यायिक दण्ड जरिवाना र जफतबाट २० हजार सात सय ८५ रुपैयाँ, हातहतियार नवीकरण तथा नामसारीबाट तीन हजार ६ सय ५० रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। 

पोखरेलका अनुसार गत आवमा वंशजका आधारमा नयाँ नागरिकता सात हजार ६ सय ५५ जनाले लिएका छन् भने नागरिकताको प्रतिलिपि चार हजार आठ सय ६५ जनाले लिएका छन्।  यस्तै पुरानो नागरिकता अभिलेखीकरण २८ हजार नौ सय ३९ जनाको गरिएको छ भने वैवाहिक अंगिकृत नागरिकता वितरण पाँच जनालाई गरिएको छ। 

प्रशासन कार्यालयले गत वर्ष ७२ वटा संस्था दर्ता गरेको छ भने एक सय ७३ वटा संस्था नवीकरण गरिएको छ।  विपद व्यवस्थापनतर्फ रहेर प्रशासनले ४१ परिवारका लागि पाँच लाख ९४ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/86218/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More