News

रित्तिँदै सुदूरका पहाड

January 11, 2019

गीता कुँवर, अन्नपूर्ण पोष्ट, २७ पुष २०७५

अछाम : सुविधा र अवसर खोजीमा बसाइसराइ बढेपछि पहाडी क्षेत्रका अधिकांश बस्ती रित्तिन थालेका छन् । दुर्गम क्षेत्रमा मात्र होइन जिल्लाका शहरोन्मुख क्षेत्रबाट पनि तराईमा बसाइँ सर्ने क्रम बढेको छ । पहाडी क्षेत्रका गाउँमा सडक पूर्वाधारदेखि अन्य विकास निर्माण भइरहे पनि बसाइसराई रोकिएको छैन । अछामबाट अधिकांश कैलालीमा बसाइसराइ गर्ने गरेका छन् भने कञ्चनपुर, बर्दिया जिल्लाका बासिन्दाको रोजाइमा पनि यही जिल्ला पर्ने गरेको छ ।

साँफेबगर बजारबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट गाउँ पुगिन्छ । साँफेबगर–मंगलसेन सडक खण्ड रिडिकोट गाउँको बीच भागबाट गएको छ । सडकको दायाँतिर ठूलाठूला घर देखिन्छन् । परम्परागत कलात्मक शैलीमा निर्माण गरिएका ति घरमा अहिले कोही बस्दैनन् । केही घरको छाना पुरै भत्कि सकेका छन् भने केही भत्कने क्रममा छन् ।

हेर्दै रहर लाग्ने ती घरहरू खण्डहरमा परिणत भएका छन् । दरबार जस्तै देखिने घरहरू खण्डहरमा परिणत हुनुको एक मात्र कारण हो पुरै परिवारको बसाइसराइ । रिडिकोट गाउँमा कति घरहरूको त अस्तित्व नै मेटिसकेकोे छ भने स्वार जातिको मात्र सात–आठ वटा घर खण्डहरमा परिणत हुने आवस्थामा छन् । परिवार पुरै बसाइसराइ गरेर देशका अन्य भू–भागमा गए पछि उनीहरूको पुर्खेउली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा घरहरू खण्डहरमा परिणत भएका छन् ।

रिडिकोट गाउँ जिल्लामै सबैभन्दा पहिले बसाइसराइ गरी अन्यत्र जाने गाउँ मध्यमा पर्दछ । रिडिकोट एक उदाहरण गाउँ मात्र हो, अछाममा बसाइसरेर जानेका कारणले खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् । विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइसराइ बढेकाले पहाड रित्तिदै गएको रिडिकोटका स्थानीय तथा कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले बताए ।

‘विशेष गरी दुई स्तरका मानिसहरू बढी बसाइसराइ गरी अन्यत्र गएका छन्’ उनले भने, ‘आर्थिक रूपमा सम्पन्न बर्ग जो थप सुविधाको खोजीमा बसाइसराइ गरेर गएका छन् । एकदमै विपन्न वर्ग जोसँग दुई छाक टार्न पनि समस्या हुने तथा समाजमा विभिन्न कारणले दुःख कष्ट भोगेका परिवार बढी बसाइसराइ गरेर गएका छन् ।’

सम्पन्न वर्ग प्रायः शहर बजारमा गएका छन् भने विपन्न वर्ग प्राय तराईका गाउँमा बसाइ सरेर गएको उनले बताए । सुविधा र सहरोन्मुख क्षेत्रमै पर्ने साँफेबगर र सदरमुकाम मंगलसेनमा समेत तराई जाने क्रम बढ्दै गएको छ । सुविधा नपुगेका र दुर्गमका मात्रै होइन, नमूना सहरको रूपमा स्थापना भएको साँफेबगर नगरपालिकामा समेत बसाइ सर्ने क्रम घटेको छैन । कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइसराइ गरेर अन्यत्र जाने गरेका त्रिपुरा सुन्दरी क्याम्पसका पूर्वक्याम्पस प्रमुख टीका तिवारीले बताए ।

सुदूरपश्चिममा पहाडको बसाइ सराइ रोक्ने उद्देश्यले अछामको साँफेबगर र बैतडीको पाटनलाई नमूना शहर बनाउने योजना लागू भइरहेको छ । तर त्यो योजनाको काम अलपत्र परेकाले पनि बसाइसराइको क्रम घटेको छैन । २०६८ सालको जनगणनामा काठमाडौंपछि बढी बसाइसराइ हुने जिल्ला कैलाली हो ।

‘सपरिवार सधैंका लागि बसाइसरेर जाने त छँदैछन्, घरपरिवारले बाहिर पढ्न पठाएका पनि अधिकांश पढिलेखी उतै ब्यापार ब्यवसाय तथा जागिर गरेर बस्ने गर्छन् । शिक्षा, स्वास्थ्यलगायतका रोजगारीका अवसर अझै पनि तराईमै केन्द्रित छन्, अबको संघीय व्यवस्थामा विकास निर्माण, शिक्षा, स्वास्थ्यका कुरामा पहाडमै पहुँच पुग्ने किसिमले तय गर्नुपर्ने पर्छ’, क्याम्पस प्रमुख तिवारीले भने ।निरन्तरको बसाइँसराइले पहाडी क्षेत्रको संस्कृति समेत मासिने खतरा बढेको छ । पहाडका मानिस तराईतिर बसाइसराइ गरेर जान थालेपछि पहाडी क्षेत्रका संस्कृति समेत लोप हुन थालेका छन् । पहाडबाट बसाइसराइ भइरहँदा सामाजिक रूपमा मात्र नभइ सांस्कृतिक समस्या समेत निम्त्याइ रहेको छ । पहाडबाट भइरहेको बसाइसराइ रोक्नका लागि पहाडमा विकासका कामलाई केन्द्रित गर्नु आवश्यक रहेको साँफेबगर नगरपालिकाका–४ कालु नेपालीले बताए । राज्य पुनर्संरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरिए पनि त्यसअनुसारका काम भने भएका छैनन् ।

सोर्त: http://annapurnapost.com/news/117454