News

रुकुममा स्याउ फल्यो, बिक्री भएन

November 16, 2017

हरि गौतम, कान्तिपुर राष्ट्रिय दैनिक, ३० कार्तिक २०७४

यहाँको दुर्गम गाउँमा पहिलोपटक लटरम्म फलेका स्याउ देखेर दंग परेका किसान बिक्री गर्न नसकेपछि नोक्सान होला भनेर पिरोलिन थालेका छन् । 

पुथाउत्तरगंगा गाउँपालिका २ पेल्मामा केही वर्षअघि लगाइएको स्याउका बोटमा पहिलोपटक फल लागेको हो । पहिलोपटक नै लटरम्म स्याउ फलेपछि हर्षित उनीहरू उत्पादित सबै स्याउ बिक्री नहुने हो कि भन्ने पिरलोमा छन् । पेल्मामा कृषक समूह र व्यक्तिगत गरी यस वर्ष करिब २० टन स्याउ उत्पादन भएको पुथाउत्तगंगा गाउँ कार्यपालिकाका सदस्य जिताराम कामीले बताए । 

यस वर्ष फलेकामध्ये ५० प्रतिशत मात्रै स्याउ बिक्री हुने अवस्था आएको छ । ढुवानी समस्या र बजार अभावका कारण आधा स्याउ घर तथा बारीमै कुहिने अवस्था सिर्जना भएको कामीले बताए । सबै स्याउ विषादीरहित पूर्ण अर्गानिक रहेको दाबी किसानको छ । फलेको २० मध्ये १० टन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक कार्यक्रमले ढुवानीमा अनुदान गरेपछि बजारसम्म पुर्‍याउन सकिएको छ । 

उक्त परियोजनाले पेल्माबाट सोही गाउँपालिकाको तकसेरासम्म खच्चड ढुवानी सेवामा सहयोग गरेको छ । ३ लाख रुपैयाँ खर्च गरेर पेल्माबाट तकसेरासम्म खच्चडमार्फत स्याउ ढुवानी गरिएको हो । तकसेराबाट सदरमुकाम रुकुमकोटसम्म गाडीमा ढुवानी गरेर बिक्री वितरण थालिएको छ । जितारामले १० टन स्याउ बिक्री वितरणको जिम्मा लिएर सदरमुकाम पुगेका छन् । 

‘फलेकोमध्ये आधा स्याउ बिक्री होला आधा घरबारीमै कुहिने भयो,’ जितारामले भने, ‘ढुवानीको समस्याले गर्दा साह्रै मार खेप्नुपर्‍यो ।’ ‘घरबारी, करेसा, डोका, बोरा जताततै स्याउ नै स्याउ छ, ढुवानीको उपाय नभएपछि स्याउ यत्तिकै खेर जाने भयो,’ उनले थपे । किसान आफंैले ढुवानी गर्न सक्ने अवस्था नरहेको उनीहरू बताउँछन् । 

पेल्मामा यो वर्ष गोल्डेन डेलिसियस र रोयल डेलिसियस स्याउ उत्पादन भएको छ । जसमध्ये रोयल बढी उत्पादन भएको छ । १० टनमध्ये केही मात्रै स्याम्पलिङका लागि काठमाडांैं पठाइएको छ बाँकी जिल्ला र रुकुम पश्चिम जिल्लामा खपत भइरहेको छ । बिक्रीमा राखिएको सबै स्याउ गाउँबाटै ग्रेडिङ गरेर ल्याइएको छ । 

लामो समयपछि गाउँमा स्याउ फले पनि ढुवानी प्रमुख चुनौतीका रूपमा रहेको अर्का किसान मनवीर पुनले बताए । ‘हाम्रो लामो प्रयासपछि मात्रै स्याउ फल्यो, हामी योभन्दा पनि धेरै स्याउ फलाउन सक्छौं,’ उनले भने, ‘तर, ढुवानीमा समस्या भएपछि अल्मलिएका छौं ।’ सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगंगाको तकसेरासम्म मात्रै गाडी पुग्छ । अब निर्वाचित हुने जनप्रतिनिधिले सडकले छुन बाँकी ठाउँमा सडक पुर्‍याउन पहल गर्नुपर्ने स्थानीय बताउँछन् ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-16/20171116075249.html