News

रुद्राक्ष उत्पादन घट्यो

September 08, 2017

छेटु शेर्पा, अन्नपुर्ण पोस्ट, २३ भाद्र २०७४ 

मौसम परिवर्तनले रुद्राक्ष खेतीमा असर गर्दा यस वर्ष उत्पादन घटेको छ। छिमले हुँदा फल तयार हुन डेढ महिना पछि सर्नुका साथै उत्पादन पनि ५० प्रतिशत घट्ने भएको हो। साउन १५ देखि उत्पादन भई कारोबार सुरु हुनेमा यस वर्ष भदौ आधासम्म कारोबार सुरु भएको छैन। यसअघि भदौ २० सम्ममा ५० प्रतिशत रुद्राक्ष खरिद-बिक्री भइसक्थ्यो। यस वर्ष केही बोटमा दाना परिपक्व भइसके पनि धेरै बोटमा चिचिला लाग्ने र फूल फुल्ने क्रम जारी छ। यसलाई किसानले मौसमी प्रभाव मान्दै छिमले भन्ने गरेका छन्। उत्पादन घट्दा अर्बौं रुपैयाँ नोक्सान भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले जानकारी दिए।

रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र मानिने पूर्वको भोजपुर र संखुवासभामा यस वर्ष उत्पादन ठप्प भएको छ। अघिल्ला वर्ष २० करोड रुपैयाँभन्दा बढीको कारोबार भए पनि यस वर्ष भदौ सकिन लाग्दासमेत उत्पादन नहुँदा किसान मर्कामा परेको राईले बताए। साउन १५ देखि धेरै मुख भएका (मुखद्वार) रुद्राक्षको कारोबार सुरु भई सक्थ्यो तर यस वर्ष उत्पादन नहुँदा कारोबार हुन नसकेको उनको भनाइ छ।

तर, चिचिला र फूल खेल्ने क्रम अझै निरन्तर हुँदा उत्कृष्ट दाना उत्पादन हुने आस नभएको भोजपुरका किसान श्रीकृष्ण सुवेदीले बताए। केही बोटमा बाह्रै मास फल्ने गरेको तर यस वर्ष डेढ महिना बिते पनि उत्पादन नभएको सुवेदीले बताए। बगान र बोट ठेक्का दिने, टिपेर बिक्री गरी वार्षिक रूपमा एक परिवारले कम्तीमा दुई लाखदेखि एक करोड रुपैयाँभन्दा बढी रकमका रुद्राक्ष बिक्री गर्छन्। भोजपुर र संखुवासभाका किसानले २० देखि दुई सय रुखसम्म रुद्राक्षका रूख रोपेर आम्दानी लिँदै आएका छन्।

उत्पादित धेरै मुख भएका एउटै दाना २१ लाख रुपैयाँमा समेत किसानले बिक्री गरेको उदाहरण छ। भोजपुरका एक किसानले एउटा रूखलाई ५५ लाख रुपैयाँमा बिक्री गरेका थिए भने अर्को एउटा किसान परिवारले तीन वर्षका लागि एक करोड रुपैयाँमा रुद्राक्षको बगैंचा बिक्री गरेको उदाहरण छ। यहाँको रुद्राक्ष ५ वर्षयता चिनियाँ व्यापारीले ठूलो, चिल्लो, थेप्चो, मदाने उत्कृष्ट आकारका दाना महँगो मूल्यमा खरिद गर्न थालेपछि किसानले राम्रो आम्दानी गरेका थिए। तर, यस वर्ष उत्पादन नै नभएपछि किसान चिन्तित छन्। रुद्राक्ष दानाको मूल्य कति हुन्छ कसैलाई थाहा हुँदैन, व्यापारीका माग अनुसारका दाना भए जति पनि मूल्य दिएर रुद्राक्ष खरिद बिक्री हुने गरेको देखिन्छ।

 साउन १५ देखि उत्पादन भई कारोबार सुरु हुनेमा यस वर्ष भदौ आधासम्म कारोबार सुरु भएको छैन।

एक दाना रुद्राक्ष दुई सयदेखि २१ लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ। रुद्राक्ष कारोबारमा राज्यले समेत कुनै निगरानी गर्न नसक्दा कतिपयले यसलाई ‘खेलाँचीको कारोबार’ भन्ने गरेका छन्। कारोबारमा राजस्व बुझाउनुपर्ने व्यवस्था छैन। यसले गर्दा वार्षिक करोडौं राजस्व गुमेको संखुवासभाका व्यवसायी लेखनाथ बुढाथोकीको आरोप छ। धेरै मुख भएका दानामा हालसम्म २०, २१, २२, २७ मुखेसम्म उत्पादन भएको पाइएको छ। अघिल्ला वर्ष वार्षिक करिब २० करोड रुपैयाँ बराबरको रुद्राक्ष कारोबार हुने गरेको व्यवसायी महासंघका अध्यक्ष विपिन राईले बताए।

भारतीय व्यापारीले ठूलामुखे र चिनियाँ व्यापारीले तीन, चार, पाँच, ६, सात, आठ र नौमुखे रुद्राक्ष सुन्दरता हेरी माग गर्ने गरेका छन्। खाँदबारीका थोक व्यापारी जय राई रुद्राक्षको माग चिनियाँले बढी गरे पनि स्तरीय मात्र धेरै खोज्ने भएकाले स्थानीय क्षेत्रमै रुद्राक्षको स्तर छुट्याएर बजार व्यवस्थापन गर्नुपर्ने बताए। तर, ढिलो फल्दा उत्कृष्ट दाना उत्पादन नहुने भएकाले आम्दानी घट्ने चिन्ता व्यक्त गरे। अलैंची उत्पादन र मूल्यमा गिरावट आउनु, रुद्राक्ष उत्पादन नहुँदा कारोबार शून्य हुनुले पूर्वका घरजग्गा खरिदबिक्री आर्थिक क्षेत्रमै मन्दी आएको व्यवसायी बताउँछन्।

हिन्दु परम्पराअनुसार भारतमा धार्मिक आस्थाका कारण रुद्राक्ष खरिद-बिक्री हुने गरेको छ। चिनियाँ व्यापारीले सजावट र टाँकलगायत सामग्री बनाउन रुद्राक्ष खरिद गर्ने गरेका छन्। १०८ बालगुरु षडानन्दले भारतबाट वृक्ष ल्याएर भोजपुरको दिङलामा रुद्राक्ष रोपेपछि पूर्वमा रुद्राक्षको खेती विस्तार भएको मानिन्छ। हाल धनकुटा, सुनसरी, मोरङ, इलाम र पाँचथरमा समेत थोरै मात्रामा भए पनि रुद्राक्ष उत्पादन हुने गरेको छ।

स्रोत: 

http://annapurnapost.com/news-details/79691