रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

May 31, 2022

अनलाइनखबर, जेठ १७, २०७९

काठमाडौं । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् ।

युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध जनाएपछि रुसी तेल आयातको दुई तिहाइभन्दा बढी कटौती गर्ने सहमति भएको हो ।

हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो । अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ ।

तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको छ ।

युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गर्दै तेल कटौतीको सहमतिबारे जानकारी दिएका छन् र उनले रुसको ठूलो वित्तीय स्रोत बन्द गरिदिएको उल्लेख गरेका छन् । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उनको भनाइ छ ।

यो निर्णय ब्रसेल्समा भएको बैठकले अनुमोदन गरेको प्रतिबन्धको छैटौं प्याकेज अन्तर्गतको रहेको बीबीसीले जनाएको छ । यो निर्णयमा सबै २७ सदस्य देशहरुले सहमति जनाएका थिए ।

प्रतिबन्धको यही छैटौं प्याकेज अन्तर्गत रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकको स्विफ्ट सिस्टमबाट पनि हटाइने छ । साथै सरकारी स्वामित्वका तीन वटा प्रसारकलाई पनि प्रतिबन्ध लगाइने छ ।

स्रोत: https://www.onlinekhabar.com/2022/05/1135793

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More