रेबिजले लिँदै छ ज्यान, रहौं सावधान

September 28, 2021

अन्नपूर्ण पोष्ट, असोज १२, २०७८ 

राजकरण महतो/काठमाडौं, गोपाल शर्मा/दाङ

आज विश्व रेबिज दिवस। संसारभरि यस पालि नारा बनाइएको छ– ‘रेबिज: फ्याक्ट्स, नट फियर’। अर्थात्, रेबिज: सत्य हो, डर होइन। यसको अर्थ हो रेबिज डराउने विषय मात्रै होइन, भोग्ने बाध्यता हो। त्यसैले यसमा खेलाँची नगरौं। 

नेपालमा कुकुरले टोकेर २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्। यो संख्या एक दशककै बढी हो। यीमध्ये कतिको मृत्यु भयो ? यो तथ्यांक भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन। २०७५/७६ मा ३२ हजार ८ सय ८२ जनालाई टोक्दा १८ को मृत्यु भएको थियो। २०७४/७५ मा टोकिनेको संख्या ३३ हजार २ सय ४ थियो। मृतक ३२ जना थिए। ६ वर्षमा ८७ जनाको निधन भएको महाशाखाको तथ्यांक छ। धेरै व्यक्ति अस्पताल नआउने भएकाले घाइते र मृतकको संख्या अझै बढी हुन सक्ने विज्ञ बताउँछन्। 

‘कुकुरलाई जिस्क्याउनु हँुदैन। घरकैले टोकेको हो भनेर आफैं निर्णायक नबनौं। तुरुन्तै अस्पताल गएर रेबिजविरुद्धको खोप लगाऔं’, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन्, ‘रेबिज लागेकाहरूसँग मैले कुरा गरेको छु। मलाई थाहा छ कि त्यो मान्छे २—३ दिनमा मर्दै छ। म त्यो अवस्था देखेर धेरै पटक रोएको छु। खोप लगाएको भए ऊ बाँच्थ्यो। तर, हेलचेक्रयाइँले ज्यानै गइरहेको छ। रेबिज लागेपछि बाँच्न असम्भव छ।’ 

गोरखा सिरान चोकका रामबहादुर गुरुङले खोप लगाउन वास्ता गरेनन्। पछि रेबिजको लक्षण देखियो। गुरुङको १३ चैत २०७६ मा निधन भयो। गाउँमा त्यसपछि मात्रै अरूले खोप लगाए। धनुषाको जनकपुरधाम–१ की १२ वर्षीया शिवरन खातुनको त तत्कालै मृत्यु भयो। उनी १६ फागुन २०७७ मा कुकुरको आक्रमणमा परेकी थिइन्।

‘कुकुरले टोकेपछि हेलचेक्र्याइँ गर्छन्। रेबिजविरुद्धको खोप लगाउँदैनन्’, महाशाखाका विशेषज्ञ डा. मुकेश पौडेल भन्छन्, ‘यदि गइहाल्यो भने पनि क्लिनिकमा पुग्छन्। टिटानसको सुई लगाएर त्यसै पठाइदिन्छन्। पछि रेबिज लागेर प्राण त्याग्छन्।’ 

काठमाडौं बूढानीलकण्ठका ३ वर्षीय असीम सुनार गत भदौ २३ गते आँगनमा खेलिरहेका थिए। त्यही बेला कुकुरले टोक्यो। पाखुरा, छाती, खुट्टा र तिघ्रामा घाउ भयो। उनकी आमा अप्सरा छोरो बोकेर शुक्रराज ट्रपिकल पुगिन्। 

उपत्यकाका तीन जिल्लाबाट उपचारार्थ दैनिक १ सय ५० जना टेकु अस्पताल पुग्छन्। यो संख्या कहिलेकाहीँ २ सयसम्म पुग्छ। साउनदेखि भदौ २३ गतेसम्म ३ हजार २ सय ४ जना पुगे। अस्पतालका सूचना अधिकारी नवराज गौतम गत आर्थिक वर्ष २० हजार २ सय ४९ जना आएको सुनाउँछन्। 

कुकुरको कब्जामा सडक !
साँझ र बिहान सहरका गल्लीमा चहलपहल कम हुन्छ। त्यो बेला छाडा कुकुरको डर हुन्छ। राति त कब्जा नै जमाउँछन्। पेटीमा झुन्ड बनाएर बसेका हुन्छन्। मान्छेदेखि सहँदैनन्। भुक्न थालिहाल्छन्। बटुवालाई घेराबन्दी गर्छन्। लखेट्छन्। टोकेर घाइते बनाउँछन्।

‘झन् मोटरसाइकलमा हिँड्नेलाई हैरान बनाउँछन्। अनियन्त्रित भएर दुर्घटनामा पर्छन्’, शुक्रराज ट्रपिकलका सूचना अधिकारी गौतम भन्छन्, ‘काठमाडौंजस्ता सहरमा बटुवा भुस्याहा कुकुरको मारमा  छन्। राति पैदल हिँड्नै कठिन छ।’

डा. पुन लकडाउनपछि कुकुरको टोकाइ बढेको बताउँछन्। उनका अनुसार सहवास बेला आक्रामक बन्छन्। भोकाएका बेला पनि रिसाएर टोक्छन्। तर, अस्पताल नजाने प्रवृत्ति रहेको उनी बताउँछन्। 

जब कसैले पिट्छ, ढुंगाले हिर्काउँछ तब कुकुर सशंकित हुन्छ। उसले प्रतिकार गर्छ। त्यसैले मान्छे देख्नासाथ भुक्छ। काठमाडौं महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग पशु सेवा महाशाखा प्रमुख डा. अबधेश झाका अनुसार बढी फोहोर हुने ठाउँमा छाडा कुकुरको संख्या धेरै हुन्छ। भन्छन्, ‘फ्याँकिएका खानेकुरा खान्छन्।’ 

फोहोरमा मोहर खोज्नेहरू पनि छाडा कुकुरबाट पीडित छन्। आफ्ना खानेकुरा लैजान्छन् भनेर त्यस्ता व्यक्तिलाई खेदाउँछन्। टोक्छन्। यस्तै, उसका बच्चा खोस्ने, कुट्ने, पिट्ने, गाडीले ठक्कर दिनेजस्ता गतिविधिका कारण पनि मानिसलाई आक्रमण गर्ने क्रम बढ्दो छ । 

काठमाडौंमा २२ हजार छाडा
भाले कुकुर पोथी खोज्दै अर्को ठाउँ पुग्छन्। यही कारण काठमाडौंमा बन्ध्याकरण प्रभावकारी देखिएको छैन। यहाँ २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा छन्।

काठमाडौं महानगरपालिकाले रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्न, कुकुरको बन्ध्याकरण र खोप लगाउन ‘मनुमित्र’ कार्यक्रम सञ्चालन गरेको छ । महाशाखा प्रमुख डा. झाका अनुसार पहिला भुस्याहालाई विष खुवाएर मारिन्थ्यो। त्यसको विरोध भएपछि बन्ध्याकरण गर्न थालियो। 

‘काठमाडौंमा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ। तिनीहरूलाई बर्सेनि रेबिजविरुद्धको खोप लगाउँछौं’, उनी भन्छन्, ‘छिमेकी नगरपालिका/जिल्लाबाट आउने भएकाले समस्या छ। तिनीहरू खोप लगाएकै हुलमा मिसिन्छन्।’ आर्थिक स्रोत, दक्ष जनशक्ति र बजेट अभावले गर्दा यसको व्यवस्थापन कठिन भइरहेको उनको भनाइ छ। काठमाडौंमा फोहोर व्यवस्थापन नहुँदा पनि भुस्याहाको बिगबिगी छ। 

बजेट अभाव 
काठमाडौं महानगरपालिकाले २०७८/७९ मा बन्ध्याकरण गर्न र खोप लगाउन डेढ करोड बजेट विनियोजन गरेको छ। एउटालाई बन्ध्याकरण गर्न कम्तीमा ३ हजार ५ सय रुपैयाँ खर्च हुन्छ। एकपटक खोप लगाउन झन्डै ५ सय रुपैयाँ लाग्छ। पहिलो डोज ३ महिना, दोस्रो डोज चार महिनाको हुँदा लगाउनुपर्छ। त्यसपछि प्रत्येक वर्ष खोपाउनुपर्छ।  

‘२२ हजार कुुकुरलाई खोप लगाउन मात्रै वार्षिक ६६ लाख रुपैयाँ खर्च हुन्छ। ५० हजार घरपालुवा कुकुरलाई पनि लगाउनै पर्‍यो। जहिल्यै बजेट अभाव हुन्छ’, डा. झा भन्छन्। कुकुरलाई डिएचपीपीआईएलबिरुद्धको खोप र जुकाको औषधि पनि ख्वाइँदै आएको छ। उनी भन्छन्, ‘कुकुरको संख्या नियन्त्रण गर्न बन्ध्याकरण कार्यक्रम चलाउनै पर्छ।’

काठमाडौंमा कुकुर व्यवस्थापन गर्न पशु चिकित्सकसहित सात जनाको टोली छ। ‘कुकुर नियन्त्रण गर्नै ३० जनाको टिम चाहिन्छ’, उनी भन्छन्, ‘गैरसरकारी संघ–संस्थासँग सहकार्य गरेर काम गरिरहेका छौं। तर, यसरी कहिलेसम्म काम गर्ने ?’ उनका अनुसार काठमाडौं र वरिपरी १० ठाउँमा रेबिज देखिएको छ। 

नेपालमै खोप उत्पादन
पशुलाई लगाइने खोप नेपालमै उत्पादन हुन्छ। मानवलाई लगाइने भने भारतलगायत देशबाट आयात हुन्छ। यो पनि राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट उत्पादन हुने सम्भावना रहेको पशु सेवा विभागको स्वास्थ्य शाखा प्रमुख डा. सुजन राना बताउँछन्।

‘एउटा डोज उत्पादन गर्न ४०-५० रुपैयाँ पर्छ। माग पूरा गर्न हामीले कम्तीमा वार्षिक १४ लाख डोज उत्पादन गर्नुपर्छ’, डा. राना भन्छन्, ‘उत्पादन गर्न वार्षिक कम्तीमा ८ करोड बजेट चाहिन्छ। अहिले भएको जनशक्तिलाई १० गुणले बढाउनुपर्छ।’ 

प्रयोगशालाले २०७७/७८ मा कुकुरजस्ता जनावरलाई लगाउन १ लाख ५० हजार डोज उत्पादन गरेको थियो। २०७८/७९ मा १ लाख ६० हजार डोज उत्पादन गर्ने लक्ष्य छ। यसमध्ये १ लाख १० हजार बिक्री र ५० हजार निःशुल्क वितरण गर्ने जनाइएको छ।

देशभर २० लाख कुकुर रहेको अनुमान छ। ७० प्रतिशत अर्थात् १४ लाख कुकुरलाई ३ देखि ५ वर्ष खोप लगाए २०३० सम्म रेबिज रोग नियन्त्रण गर्न सकिने विज्ञ बताउँछन्। ‘तर, वार्षिक रूपमा हामीले १ लाखलाई पुग्ने मात्रै उत्पादन गरिहेका छौं’, डा. राना भन्छन्, ‘तोकेको समयमा लक्ष्य भेटाउन खोप उत्पादन बढाउनुपर्छ।’ पशुपन्छी रोग अन्वेशण प्रयोगशाला विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतबाट स्थानीय स्तरका पशु स्वास्थ्य केन्द्रमा खोप वितरण गरिन्छ।

नेपालमा सन् १९७० देखि जनावरलाई लगाउने खोप उत्पादन गरिँदै आएको छ। सन् १९८२ देखि सिब्रेन एन्टी रेबिज खोप उत्पादन थालियो। सन् २००७ मा मानवलाई लगाउने टिसियू कलर एन्टी रेबिज भ्याक्सिन उत्पादन सुरु भयो। तर, बजेट अभावमा बन्द भयो। त्यसपछि सरकारले आयात गर्न थाल्यो। यो खोप उत्पादन नेपालमा असम्भव नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन्। 

‘मुख्य कुरो गुणस्तरको हो’, निर्देशक डा. पौडेल भन्छन्, ‘सिटामल, जीवनजल उत्पादन गरेजस्तो होइन।’ लगानी, बजारको अवस्थालगायतले उत्पादनलाई प्रभाव पर्ने उनी बताउँछन्। 

रेबिजको जोखिम तराईका २० जिल्लामा उच्च र पहाडका १६ जिल्लामा मध्यम छ। ‘रेबिज रोग नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ। एक स्वास्थ्य रणनीति (पशु स्वास्थ्य र जनस्वास्थ्य) दुवै निकायको सहकार्य हुनुपर्छ’, डा. झा भन्छन्, ‘त्यसमा स्थानीयबीच पनि समन्वयात्मक सहयोग चाहिन्छ।’

उपचार गर्न राजधानी
दाङमा उपचार नभएपछि बाँके र काठमाडौं जानुपर्ने बाध्यता छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह बहुला कुकुरले टोकेका बिरामी अस्पतालमा आउने क्रम रहिरहेको बताउँछन्। भन्छन्, ‘जटिल प्रकृृतिको घाइतेलाई इमोनोग्लोबिन भ्याक्सिन दिनुपर्ने हुन्छ। यो हामीकहाँ छैन। सरकारले नै उपलब्ध गराउँदैन।’

तुलसीपुरमा घरबाहिर निस्कन समस्या परेको स्थानीयको भनाइ छ। ‘कुकुरले टोकेर धेरै जना घाइते भएका छन् भन्ने सुनेका छौं’, तुलसीपुरका किरण केसी भन्छन्, ‘अब त दैनिक उपभोग्य वस्तु किनमेल गर्न पनि निस्कन गाह्रो हुन थाल्यो।’

तुलसीपुर उपमहानगरपालिकाले बिरामीलाई निःशुल्क खोप उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ। इमोग्लोबिन अभावमा बिरामीलाई काठमाडौं पठाउनुपर्ने बाध्यता भएको हुँदा त्यो हटाउन प्रयास गरिएको नगर प्रमुख घनश्याम पाण्डे बताउँछन्।

०००

के हो रेबिज ?
रेबिज कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार सुरुमा रेबिज भाइरस रोक्न सकिन्छ। लक्षण देखिएपछि मृत्यु अनिवार्यजस्तै हुन्छ। कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउनुपर्छ। रेबिज भएपछि पहिलो चरणमा हल्का ज्वरो आउँछ। टोकेको ठाउँ झमझमाउँछ। ढाडको तल्लो भाग दुख्छ।

दोस्रो चरणमा हावा, पानीदेखि डर लाग्छ। छटपटी हुन्छ। पहिला बिरामीहरू आक्रामक हुन्थे। तोडफोडमा उत्रिन्थे। ‘तर, पछिल्लो समय शान्त भएको पनि मैले देखेको छु’, डा. पुन भन्छन्।

उनका अनुसार रेबिजको रोकथामका लागि स्थानीय, प्रदेश र संघीय सरकारले योजना बनाएर कुकुर नियन्त्रण गर्नुपर्छ। जति नियन्त्रण हुन्छ त्यति नै टोकाइ घट्छ। विश्वमै रेबिजबाट हुने मृत्युलाई सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य छ। तर, फितलो व्यवस्थापनले लक्ष्य पूरा गर्न नेपाललाई चुनौती देखिन्छ।

यो रोग कुकुरबाट कुकुरमै पनिसर्छ। त्यस्ता कुकुरले मान्छे वा कुनै पशुलाई टोक्दा खोप लगाइएन भने मृत्यु हुन्छ। ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाटै लाग्ने गरेको विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ। यो रोगबाट प्रत्येक ९ मिनेटमा संसारमा एक जनाको ज्यान जान्छ। प्रत्येक वर्ष ६० हजारको मृत्यु हुन्छ। १० मृतकमध्ये  ४ बालबालिका छन्।

स्रोत: https://annapurnapost.com/news/187266

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More