कारोबार आर्थिक दैनिक, ०६ भाद्र २०७४
विदेश जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स ७.७ प्रतिशतले वृद्धि भएकोमा गत आर्थिक वर्षमा ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवमा विदेश गएका कामदारबाट ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आवमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.७ प्रतिशत घटेपछि रेमिट्यान्समा प्रभाव देखिएको हो । यसैगरी कुल विदेशी विनिमय संचिती भने अघिल्लो आवको तुलनामा ३.९ प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तमा १० खर्ब ७९ अर्ब ५२ करोड रहेको छ ।
आर्थिक वर्ष २०७४ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.२ महिनाको वस्तु आयात र ११.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी गत आवमा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ प्रतिशतले बढेर २३ खर्ब ७५ अर्ब पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.४ प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २३.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २५ प्रतिशतले बढेको भए पनि विकास बैंकको १३.७ प्रतिशत र वित्त कम्पनीको १३.३ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २३.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
स्रोत: www.karobardaily.com/news/81712