News

रैथाने बालीको उत्पादन घट्दै

January 17, 2018

हिमालखबर, ०४ माघ २०७४

मास र तिल उत्पादनका लागि प्रख्यात ठाउँ थियो, गोरखाको घ्यालचोक । कृषि क्षेत्रका विज्ञका अनुसार, मासको प्रसंग चल्ने वित्तिकै, घ्यालचोकको नाम आउँथ्यो ।

तर, पछिल्लो दुई दशकयता घ्यालचोकमै राम्रो मास पाइन छाडेको कृषि अनुसन्धानमा लामो समय बिताएका तुलसी गौतम बताउँछन् । “अहिले घ्यालचोकको मास किन्न खोज्दा पाइँदैन” गौतम भन्छन् “पाए पनि किचिलो खालको हुन्छ, पहिला जस्तो पोटिलो दाना पाइनै छाड्यो ।” 

२५ वर्षअघि घ्यालचोकमा एकै जनाले ९ मुरी तिल उब्जाएको सम्झ्ना छ, गौतमलाई । तर, आज ती सबै कथा भए । पोषणका लागि राम्रो मानिएका तिल, मास, गहत, सिल्टुङ्ग (झिलङ्गी), बोडी, सिमी, फापर, उवालगायतका रैथाने बालीहरूको उत्पादन पूरा देशमा घटेको छ ।

नेपालमा सन् २००० मा ३० हजार २५२ हेक्टर जमीनमा मास लगाइएकोमा २१ हजार ५९९ टन उत्पादन भएको कृषि विभागको तथ्याङ्कले देखाउँछ ।

२०१५ मा त्यो क्षेत्रफल घटेर २३ हजार ३१२ हेक्टर र उत्पादन १९ हजार ४०२ टनमा झर्‍यो । कृषिविज्ञ गौतम गाउँघरका यी रैथाने बालीहरूको उत्पादन र प्रयोगबाट हुने फाइदाबारे यथेष्ट जानकारी नहुनुलाई तिनको क्षेत्रफल र उत्पादन घट्दै जानुको प्रमुख कारण मान्छन् ।

बुझिएन महत्व

कोसेबाली अनुसन्धान कार्यक्रम, बाँकेका प्रमुख राजेन्द्र दरई नेपाली गाउँघरमा उहिल्यैबाट उत्पादन हुँदै आएका रैथाने बालीहरूको व्यवसायीकरण हुन नसक्दा ती बाली हराउँदै गएको बताउँछन् ।

अर्थात्, ती बालीहरूको उत्पादनले दिने फाइदाबारे मानिसहरूलाई बुझाउने र ती बालीलाई बजारसँग जोड्ने काममा सरकारको ध्यान नै गएन । फलस्वरुप, किसानहरूले कम उत्पादन हुने ती बालीहरू लगाउन छाड्दै गए । सरकारले धान, मकै, गहुँ, तोरीलगायतका बालीको अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखेको छ, तर मास फापर, कोदोलगायतका बालीलाई बेवास्ता गरेको देखिन्छ ।

लामो समयसम्म एउटै बीउ प्रयोग हुँदा पनि रैथाने बालीहरूको उत्पादन घट्दै गएको छ । धेरै वर्षसम्म एउटै बीउ चलाउँदा त्यसको वंशाणुगत गुणहरू हराउँदै गएर उत्पादनमा ह्रास आउँछ ।

मास, गहत र झिलङ्गीको अनुसन्धान गरिरहेका कोसेबाली अनुसन्धान कार्यक्रम बाँकेका, वरिष्ठ प्राविधिक अधिकृत रवीन्द्रप्रताप साह तीन वर्ष भन्दा बढी एउटै बीउ प्रयोग गर्नु नहुने बताउँछन् ।

एउटा राम्रो कुरा, लिवर्ड नामक गैरसरकारी संस्थाले कास्की, लमजुङ, जुम्ला, हुम्लालगायत केही जिल्लामा परम्परागत बाली प्रवद्र्धन गर्न थालेको छ ।

फापर, कोदो, मास, झिलङ्गी, गहत आदि औषधीय गुणयुक्त बाली हुन् । क्यान्सर प्रतिरोधात्मक तत्व पाइने फापरले मानव शरीरमा बोसो घटाउन र भिटामिन सी बढाउन मद्दत गर्छ । कोदो, भटमास, मासमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

झिलङ्गी ‘लो फ्याट’ युक्त बाली हो भने पत्थरी हुँदा गहत खाने चलन छ । त्यस्तै, जौमा पर्याप्त मात्रामा पोषक तत्व म्याग्नेसियम फस्फोरस र रेसादार पदार्थ पाइने डा. अरुणा उप्रेती बताउँछिन् । “जौमा रहेको रेसादार पदार्थले आन्द्रामा असल कीटाणुको रक्षा गर्छ, क्यान्सर हुनबाट पनि बचाउँछ” उनी भन्छिन्, “अमेरिकामा भएको अध्ययनले मुटु रोगीका लागि जौ उत्तम हुने देखाएको छ ।”

विश्वव्यापी तापक्रम वृद्धि र त्यसबाट जलवायुको चक्रमा आएको फेरबदलका कारण रैथाने बालीहरूमा रोगकीराको प्रकोप बढेको छ । जसको असर उत्पादनमा परेको छ ।

जस्तो, धेरै कीरा लाग्ने, समयमा पानी नपर्ने लगायतका कारण पहाडमा मानिसले गहत लगाउनै छाडेको कोसेबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत रवीन्द्रप्रताप साह बताउँछन् ।

उनका अनुसार, पछिल्लो समय मासमा ‘एलोमोजाइक’ रोग थपिएको छ । त्यस्तै, पहाडमा मकैभित्र कोदो र झिलङ्गी लगाउने समयमा खडेरी पर्न थाल्दा ती बालीमा पनि किसानको चाख हराएको छ ।

कृषि मन्त्रालयको जैविक विविधता शाखाका प्रमुख अनिल आचार्य बाली लगाउने समयमा पानी नपर्ने अनि फुल्ने बेलामा बढी पानी पर्ने समस्याले झिलङ्गी पनि मासिन लागेको बताउँछन् । उनका अनुसार, हावा–पानी नमिल्दा रोगकीराको प्रकोप बढेको छ । परिणाम, नेपालमा कोसेबाली उत्पादन लगातार घटिरहेको छ ।

मासको छुट्टै आयात तथ्याङ्क छैन, तर आर्थिक वर्ष २०७३/७४ मा रु.१० अर्ब ५२ करोडको दाल आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आँकडाले देखाउँछ ।

त्यस्तै, कोसेबाली अनुसन्धान कार्यक्रमका अनुसार, अहिले करीब ६ हजार हेक्टर क्षेत्रफलमा गहत खेती गरिन्छ । सन् २००१ मा यसको क्षेत्रफल ८ हजार हेक्टर थियो । आव २०७३/७४ मा रु.६ करोड ९६ लाखको फापर, रु.२ अर्ब ९२ करोडको भट्मास, रु.१३ करोड ८ लाख २० हजारको तिल र रु.१ अर्ब १४ करोडको तोरी आयात गरिएको छ ।

सुस्त प्रयास
दलहन बाली अन्तर्गतका रहर, मसुरोको प्रवद्र्धनमा विभिन्न दातृ निकायले समेत सहयोग गर्दै आएका छन् । मसुरोको लागि इकारा र रहरमा इप्रिस्याट नामक गैर–सरकारी संस्थाको सहयोगमा नयाँ–नयाँ प्रजाति पत्ता लगाउने काम भएको छ ।

तर, अन्य रैथाने बालीमा अध्ययन–अनुसन्धान सुस्त छ । कोसेबाली अनुसन्धान कार्यक्रम बाँकेका प्रमुख दरई गहत र झिलङ्गीमा अनुसन्धान शुरू भएको बताउँछन् ।

मासका २० वर्ष पुराना बीएलजी ००६७—१ र कालु गरी दुईवटा जातमा रोगकीराको प्रकोप बढेपछि बीएलजी ००३—२—१ र एलोमोजाइक फ्रि नामका दुई जात सिफारिश गर्ने तयारी भइरहेको दरईले बताए ।

अडहरमा बागेश्वरी र रामपुर रहर–१ सिफारिश भएका छन् । बागेश्वरी ११ महीनामा तयार हुन्छ भने, रामपुर रहर–१६ महीनामा । एकीकृत बाली व्यवस्थापन अनुसार अघि बढ्नुपर्ने कृषि क्षेत्रका विज्ञहरू बताउँछन् । कृषि मन्त्रालयका सचिव सुरज पोखरेल भन्छन्, “सबैभन्दा ठूलो समस्या सिंचाइको व्यवस्थापन गर्न सक्दा केही सुधार गर्न सक्छौं ।”

 

 

 

 

 

स्रोत: http://himalkhabar.com/news/6488