लक्ष्यभन्दा राजस्व बढी संकलन

January 28, 2021

शंकरप्रसाद खनाल, अन्नपूर्ण पोष्ट, माघ १५, २०७७ 

नेपालगन्ज : बाँकेको नेपालगन्ज भन्सार कार्यालयको चालू आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षको कुल राजस्वको हाराहारीमै संकलन गरेको छ। गत वर्षको १२ महिनामा कुल ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली भएको थियो। 

प्रमुख भन्सार जयबहादुर भण्डारीका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ५८ करोड ८६ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ९ अर्ब ९० करोड ७६ लाख ५६ हजार असुली गरेको छ। जुन १३०.५५ राजस्व संकलन गरेको हो। जुन यो ६ महिनाको कुल लक्ष्यभन्दा २ अर्ब ३१ करोड ९० लाख रुपैयाँ बढी राजस्व असुली हो।

यो राजस्व असुली गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब चार अर्बले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तमा ७ अर्ब ९८ करोड लक्ष्य रहेकोमा ५ अर्ब ९१ करोड असुली प्रगति गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजस्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजस्व संकलन गरेको छ।

कार्यालयको यो वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य छ। प्रमुख भण्डारी भन्छन्, ‘अबका ६ महिनामध्ये माघ, फागुन र चैत महिनामा राजस्व कम संकलन हुन्छ। वैशाख, जेठ र असारमा अलि बढी राजस्व संकलन हुन्छ। यो वर्षको राजस्व लक्ष्य सजिलै पूरा हुन्छ।’ कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा चोरीपैठारी नियन्त्रण हुनु, प्रशासनिक दक्षता, जाँचपासमा सुधारलगायत कारणले चालू आर्थिक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरिएको उनले प्रष्ट पारे। 

छोटी भन्सार ब्युँत्याउन माग

सशस्त्र द्वन्द्वका क्रममा बाँकेका विभिन्न स्थानमा रहेका आधा दर्जनको हाराहारीमा छोटी भन्सार कार्यालय बन्द गरिएका थिए। जिल्लाका स्थानीय तहले विगतका छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न स्थानीय स्तरमा माग बढिरहेको भन्सार कार्यालयले जनाएको छ। ‘नरैनापुरमा छोटी भन्सार पुनस्र्थापना गर्न माग भएको छ। हामीले त्यस विषयमा छलफल सुरु गरेका छौं’, भन्सार प्रमुख भण्डारी भन्छन्, ‘लामो समय भएकाले सबै ठाउँमा छोटी भन्सारको पूर्वाधार जीर्ण अवस्थामा छन्। तिनलाई तत्काल सञ्चालन गर्नका लागि पर्याप्त जनशक्ति पनि छैनन्।’ 

स्रोत: http://annapurnapost.com/news/174173

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More