लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन

December 17, 2018

हिमनाथ देवकोटा, नागरिक, ०२ पुष २०७५ 

रसुवा - रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। मंसिर महिनामा ९९ करोड २७ लाख १० हजार राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ। 

कार्यालयले मंसिरमा ६० करोड ४५ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो। साउन महिनामा लक्ष्यको ५२ प्रतिशत, भदौमा ३१.६१ प्रतिशत, असोजमा तीन सय ८७.२२ प्रतिशत र कात्तिक महिनामा एक सय ४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी भुपेन्द्र कार्कीले बताए। 

साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकामा २६ करोड चार लाख ७७ हजार, भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकामा २९ करोड १५ लाख ७९ हजार, असोजमा ६० करोड नौ लाख ३८ हजार लक्ष्य राखेकामा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार र कात्तिक महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य राखेकामा ८७ करोड दुई लाख ८६ हजार राजस्व संकलन गरेको थियो। 
कार्यालयलाई यो वर्ष सात अर्ब १५ करोड ६२ लाख ५५ हजार राजस्व असुल्ने लक्ष्य दिइएको छ। वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध हुँदा घाटा बेहोरेको कार्यालयले पछिल्लो समय लक्ष्यभन्दा बढी राजस्व असुली गरिरहेको छ। 

नेपालतर्फको सडक जीर्ण भएका कारण हल्का तथा नफुट्ने सामग्री आयात भइरहेको छ। जाडो मौसम सुरु भएकाले जाडो मौसमका लागि कपडाको आयात पनि बढेको छ। चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी मात्रै सञ्चालनमा रहेकाले यहाँ व्यापारिक कारोबार बढेको हो। 

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायत वस्तु निकासी भइरहेको छ।

२०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ। 

सोर्त:https://nagariknews.nagariknetwork.com/news/64528/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More