News

लक्ष्य चार वर्ष, लाग्यो १० वर्ष

January 07, 2018

नागरिक दैनिक, २३ पुष २०७४

चार वर्षमा सकाउने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजना १० वर्षमा पूरा हुँदैछ । उक्त आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत पनि बढेको छ । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ । निर्माण लागत पनि दोब्बर भएको छ ।

निर्धारित समयमा आयोजना सम्पन्न भएको भए बिजुली बिक्रीबाट आजसम्म आयोजना निर्माण गर्न लागेको लागत उठिसकेको हुन्थ्यो । दुर्भाग्य नै भन्नुपर्छ, आयोजना निर्धारित समयमा बन्न नसक्दा सरकारले बिजुली बिक्रीबाट आउने आउने करिब ८ अर्ब रुपैयाँ गुमाएको छ ।

आयोजना निर्माणमा ढिलाइले गर्दा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको छ । जलविद्युत् आयोजना निर्माणमा प्रतिमेगावाट करिब २० करोड लाग्ने गरेको ऊर्जा विज्ञहरुको भनाइ छ । तर, चमेलिया आयोजनामा प्रतिमेगावाट ५० करोडभन्दा बढी लाग्ने देखिएको छ ।

१० वर्षपछि आयोजनाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । ३० मेगावाटमध्ये माघ १ गतेदेखि १५ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिरहेको चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहालले नागरिकलाई बताए ।

‘माघ १ गतेदेखि पहिलो युनिटबाट १५ मेगावाट बिजुली उत्पादन गर्ने तयारीमा छौं,’ उनले भने, ‘ग्रिडमा सिङ्क्रोनाइज गर्दैछौं ।’ त्यसको ठिक एक महिनापछि दोस्रो युनिटबाट १५ मेगावाट बिजुली उत्पादन गर्ने योजना बनाएको पनि दाहालले बताए । ‘कुनै भवितव्य भएन भने फागुनबाट ३० मेगावाट नै उत्पादन हुन्छ,’ उनले भने ।

सम्भवतः सबैभन्दा बढी समय लगेको र लागत पनि बढी लागेको आयोजनाको नाम लिनुपर्दा चमेलिया आउने विज्ञहरु बताउँछन् । उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ । यसलाई नेपालको जलविद्युत् क्षेत्रको असफल आयोजनाको रूपमा समेत चित्रण गर्ने गरिएको छ ।

विज्ञहरूले आयोजना सुरु हुनुपूर्वको तयारी कमजोर, विस्तृत रूपमा अध्ययन हुन नसक्नु र चमेलियाले अनावश्यक र महँगा सवारी साधन किनेर ठूला नेताहरूलाई दिनेजस्ता कारणले आयोजना महँगो भएको बताएका छन् । चमेलियालाई दुहुनो गाई बनाउने काम भएको विज्ञहरु बताउँछन् ।

आयोजना निर्माणको क्रममा सुरुङ खुम्चिएको, ठेक्कापट्टामा आएको समस्या लगायत कारणले आयोजना निर्माणमा ढिलाइ भयो,’ उनले भने, ‘यसले गर्दा लागत त बढ्यो नै, समयमै विद्युत् उत्पादन नहुँदा यसले पनि असर ग¥यो ।’ विज्ञहरु चमेलिया जलविद्युत् आयोजना खराब बन्नुमा समयमै प्रशासनिक र प्राविधिक निर्णय नहुनुलाई लिन्छन् । चमेलियाबाट पाठ सिकेर अरु आयोजना निर्धारित समय र लागतमा निर्माण गर्नुपर्ने सुझाव उनीहरुको छ ।

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना पनि समय र लागतका हिसाबले दोब्बर हुने अनुमान गरिएको छ । अन्य निर्माणाधीन आयोजनाको हालत पनि यस्तै छ ।
समयमै आयोजनाको काम सम्पन्न नहुँदा प्राधिकरणलाई बिजुलीको जोहो गर्न समस्या परेको छ । बिजुलीको माग बढ्ने क्रम जारी रहेको नेपाल विद्युत् प्राधिकरण, प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । बिजुलीको माग बढेर एक हजार तीन सय मेगावाट पुगेको छ । आपूर्ति नौ सय मेगावाट पनि छैन ।

तीन सय मेगावाट बिजुली अहिले पनि पुग्दैन । प्राधिकरणले नपुग बिजुलीको व्यवस्थापन गर्न औद्योगिक क्षेत्रमा प्रत्येक दिन तीन घन्टा लोडसेडिङ गर्दै आएको छ ।
आवश्यकता अनुसार कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाट बिजुली उत्पादन गर्दै जाने योजना प्राधिकरणको छ । त्यसले पनि नपुगे हेटौंडामा रहेको १४ मेगावाटको डिजेल प्लान्ट र विराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लान्ट सञ्चालन गर्नेछ ।

प्राधिकरणलाई बिजुली व्यवस्थापन गर्न समस्या पर्न थालेपछि बढी क्षमताका बत्ती, हिटर, राइस कुकर, ओभन, आइरन, इन्डक्सन हिटर, पानी तान्ने मोटरलगायत उपकरण नचलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

साँझको समयमा गार्हस्थ (घरायसी प्रयोजनको लागि) बिजुलीको माग अत्यधिक बढेकाले सो समयमा बिजुली बढी खपत हुने उपकरण नचलाउन प्राधिकरणले आग्रह गरेको हो । नदीहरुमा जलप्रवाह कम हुँदै गएकाले पनि साँझको समयमा ‘पावर क्राइसिस’ हुने सम्भावना देखिएको प्राधिकरणको भनाइ छ ।

बिजुलीको माग बढी हुने साँझमा उद्योग नचलाउन आग्रह गरेको छ । बेलुकाको समय ६–९ बजेसम्म उद्योग चलाए काराबाही गर्ने प्राधिकरणको चेतावनी छ । बेलुका बढी बिजुली खपत हुन थालेपछि प्राधिकरणले जलाशययुक्त आयोजना सञ्चालन र उद्योगको बिजुली कटौती गर्नुपरेको हो ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार, हाल भारतबाट ३ सय ४५ मेगावाट हारहारी बिजुली आयात भइरहेको छ । यसैगरी, निजी प्रवद्र्धक, नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवद्र्धित आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न सके लोडसेडिङको सामना गर्नु नपर्ने अवस्था आउने विज्ञहरु बताउँछन् ।

स्रोत: http://www.nagariknews.com/news/34183/