लगानी कोषको ७५ करोड जोखिममा

October 02, 2019

जिपी भण्डारी, नागरिक, असोज १५, २०७६

काठमाडाैं – सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ।

कोषमा सरकारी कर्मचारीका साथै अन्य संघ–संस्थामा आवद्ध कामदार कर्मचारीले बचत संकलन  गर्दै आएका छन्। यो बचतलाई कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत मुद्दती निक्षेप, सरकारी ऋणपत्र, डिबेन्चर, बन्ड, धितोपत्र, समयकालीन कर्जा, सापटी कर्जा, जलविद्यत्, आवास कर्जालगायत क्षेत्रमा लगानी गर्दै आएको छ। कोषले गरेको यस्तै लगानीमध्ये करिब ७५ करोड लगानी जोखिममा परेको हो।

कोषले निक्षेप राखेका आधा दर्जनभन्दा बढी बैंक, वित्तीय संस्थामा ७४ करोड ९४ लाख रुपैयाँ समस्यामा परेको हो। यस्ता सातवटा संस्था आफैं वित्तीय जोखिममा परेको र कतिपय खारेजीको प्रक्रियामा रहेका कारण कोषले राखेको रकम फिर्तामा समस्या देखिएको हो। 

राष्ट्र बैंकका एक अधिकारीका अनुसार नारायणी विकास बैंक, हाथावे फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, हिमालय फाइनान्सलगायतले कोषको निक्षेप रकम फिर्ता गर्न सकेका छैनन्।

यी संस्थामध्ये सबैभन्दा बढी निक्षेप नेपाल सेयर मार्केट्समा छ। यो संस्थामा कोषको ३० करोड ८४ लाख रुपैयाँ रहेको ती अधिकारीले जानकारी दिए। दोस्रो निक्षेप धेरै हुने संस्थामा क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स रहेको छ। यसमा कोषको २७ करोड रुपैयाँ निक्षेप फिर्ता लिन बाँकी छ। सबैभन्दा कम निक्षेप लिन बाँकी रहेको संस्था भने हाथावे फाइनान्स हो। यसमा कोषले लिन बाँकी रहेको रकम २१ लाख रुपैयाँ मात्र छ। सबै संस्थामा विगतमा वित्तिय अनुशासन नभएका कारण अहिले समस्याग्रस्त बनेका छन्।

राष्ट्र बैंकका ती अधिकारीका अनुसार नारायणी विकास बैंकमा पनि कोषको एक करोड ३६ लाख रुपैयाँ उठन बाँकी छ। कोषले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा राखेको रकममध्ये एक करोड ९१ लाख र हिमालय फाइनान्समा राखेको नौ करोड १८ लाख रुपैयाँ पनि उठेको छैन। ती अधिकारीले करिब आधा दर्जनभन्दा बढी संस्थामा राखिएको रकम उठ्न नसकेर समस्यामा परेको बताए।

कोषका सूचना अधिकृत उद्धव सिलवालले यी बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असुली प्रक्रियामा रहेको जानकारी दिए। ‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका यी बंंैक तथा वित्तीय संस्थामध्ये केहीबाट असुली पनि भएको छ,’ सिलवालले भने, ‘बाँकी संस्थाले लिएको रकम असुली हुने क्रममा छ।’

समस्याग्रस्त संस्थाका मुद्दा विचाराधीन रहेकाले निक्षेप फिर्ता हुन नसकेको राष्ट्र बंैकका अधिकारीको भनाई छ। बैंक, वित्तीय संस्थामा बढीमा तीन लाखको सुरक्षण गरिए पनि संस्था खारेजीमा नगई निक्षेप फिर्ता नहुने व्यवस्था छ।

कोषले आर्थिक वर्ष ०७४/७५ सम्ममा एक खर्ब ६ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ। यसभन्दा अघिल्लो वर्ष कोषको लगानी ९१ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ थियो।

कोषमा आर्थिक वर्ष २०७४/७५ सम्म एक खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको छ।  कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक एकांक योजना, पेन्सन/उपदान, लगानीकर्ता हिसाब योजना, बिमा, निजामती बिमा, शिक्षक बिमा, सैनिक बिमा, नार्क बिमा, नेपाल प्रहरी बिमा, सशस्त्र प्रहरी बिमा र अनुसन्धान बिमा कोषमार्फत बचत संकलन गर्दै आएको छ।

श्रोतः https://nagariknews.nagariknetwork.com/news/95250/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More