News

लमजुङमा चीनको ८० करोड लगानीमा नमुना विद्यालय बन्दै

February 06, 2018

शान्ता कमली, नयाँ पत्रिका, २३ माघ २०७४

कामदारदेखि सामग्रीसमेत चीनबाटै:

चीन सरकारको ८० करोड रुपैयाँभन्दा बढीको लगानीमा लमजुङमा एक नमुना विद्यालय बन्ने भएको छ । राइनास नगरपालिका– ९ मोहोरियाकोटमा रहेको भैरव माविको ६५ कोठासहितको नयाँ भवन चीनले निर्माण गरिरहेको छ ।

अहिले टिनको टहरामा पढिरहेका विद्यार्थीले झन्डै डेढ वर्षमा आधुनिक भवनमा पढ्ने पाउने भएका छन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालय बन्ने भएपछि स्थानीय बासिन्दा खुसी छन् । ६५ कोठासहितको विद्यालय भवन बन्न लागेको हो । अहिले विद्यालय भवन निर्माणको काम धमाधम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताए ।

२०७६ असारसम्म विद्यार्थीले अत्याधुनिक भवनमा पढ्न पाउने अध्यक्ष थापाले बताए । उनका अनुसार अहिलेसम्म विद्यालयको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । विद्यालयका प्रधानाध्यापक राजेश्वर ढकालले देशकै नमुना बनाउने उद्देश्यका साथ विद्यालयको भवन निर्माण भइरहेको बताए ।

सुविधासम्पन्न बन्दै विद्यालय
चीनले निर्माण गरिरहेको सो भवन सुविधासम्पन्न हुने भएको छ । कक्षा १० सम्मको पढाइ हुँदै आएको विद्यालयमा अहिले तीन सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । आवासीयसहित कक्षा १२ सम्म सञ्चालन हुने प्रअ ढकालले बताए । कक्षाकोठा, पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन–कला–संगीत कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्यालय, चमेनाघर, शौचालय, खेल मैदानलगायत संरचना निर्माण हुने ढकालले जानकारी दिए । विद्यालयको भवन आठ रोपनी क्षेत्रफलमा निर्माण हुँदै छ ।

 कामदारदेखि सामग्रीसमेत चीनबाटै
विद्यालयमा प्रयोग हुने जनशक्तिदेखि भवन निर्माणमा प्रयोग हुने सामग्रीसमेत चीनबाट ल्याइएको छ । ठेकेदार, इन्जिनियर, कामदार, निर्माण सामग्रीदेखि अधिकांश भवन निर्माणमा प्रयोग हुने वस्तुहरू चीनबाटै ल्याइएको प्रधानाध्यापक ढकालले बताए । नौ महिनादेखि दैनिक ७० जनाभन्दा बढी कामदारले सो परियोजनामा काम गर्दै आएको अध्यक्ष थापाले बताए । २० कोठे अस्थायी भवनमा हाल कामदार बस्ने गरेका छन् ।

चीनले नेपालमा १० उत्कृृष्ट नमुना विद्यालय बनाउने घोषणा गरेसँगै हिमाली भेगमा दुईवटा विद्यालय निर्माण गर्न लागेको हो । यसअन्तर्गत लम्जुङमा भैरव मावि र सिन्धुपाल्चोकमा ब्रम्हाची गाविस–९ स्थित रत्नराज्य माविको भवन रहेको छ ।

प्राविधिक शिक्षा पढाउने
आधुनिक भवन निर्माण भइसकेपछि प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि समेत पहुल हुने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले भैरव माविमा छिटै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनका लागि आफूले पहल गर्ने बताए । यो विद्यालय विसं. २०१४ सालमा स्थापना भएकोे थियो ।

स्रोत: www.enayapatrika.com/2018/02/06/21506/