News

ललितपुरमा ७२.७ प्रतिशत पानी पिउन अयोग्य

January 04, 2018

अन्नपुर्ण पोस्ट, २० पुष २०७४ 

ललितपुरमा वितरित पानीमध्ये ७२.७ प्रतिशत पिउन अयोग्य भेटिएको छ। जिल्लाको एक सय ८० वटा पानीको नमुना परीक्षण गर्दा एक सय ५६ वटामा (कोलिफर्म) दिशाजन्य कीटाणु भेटिएको हो। कोलिफर्म मानव स्वास्थ्यका लागि घातक मानिन्छ।

आर्थिक वर्ष २०७३/७४ को पानी परीक्षणको परिणामबाट यस्तो अवस्था देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए। २०६९/७० मा ८६ प्रतिशत पानी पिउन लायक नभएको र आव २०७१/७२ मा ५८ प्रतिशत पानीको स्रोत दूषित भेटिएको थियो। तथ्यांकले पुनः ०७४ सालमा पानीको स्रोतमा खराबी देखाएको छ। ललितपुरका पानी भण्डारण गरिने प्रमुख स्थानका ट्यांकीको परीक्षण जाँच गरिएको जनस्वास्थ्य प्रमुख पौडेलले बताए। ललितपुरको चापागाउँ, लुभु, लामाटार, गोदावरी, बडीखेल, विशंखुनारायणमा पानीको भण्डारण गरिएको छ। ‘यी सबै ठाउँको पानी परीक्षण गर्दा अधिकांश पानी पिउन नमिल्ने खालको भेटिएको छ,' पौडेलले भने।

अघिल्लो वर्ष पनि जिल्लाको मुटु मानिने सुन्धारा र सुनाकोठीमा हैजा भेटिएको उनले जानकारी दिए। ‘पानी दूषित हुनुको प्रमुख कारण भनेकै पानी र ढलको पाइप एकै ठाउँमा बिछ्याउनु हो', कोलिफर्मको कारण दर्साउँदै उनले भने, ‘ढल निरन्तर बग्छ। तर पानी दिएको समयमा बग्छ। पानी नदिएको समयमा पाइप खाली हुन्छ र ढल चुहिएर पानीमा मिसिन्छ।'

अपर्याप्त पानीका कारण ललितपुरका अधिकांश सर्वसाधारण इनारमा निर्भर छन्।

यता अपर्याप्त पानीका कारण ललितपुरका अधिकांश सर्वसाधारण इनारमा निर्भर छन्। मापदण्डमा इनार र सेफ्टी ट्यांकी निर्माण गर्दा ३० मिटर दूरी अनिवार्य छुट्याइएकै हुनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शंकर पौडेलले बताए। तर जग्गा अभावका कारण यहाँ धेरैले इनार र सेफ्टी ट्यांकी सँगसँगै बनाएका छन्। ढल पानीमा मिसिने यो नै प्रमुख कारण रहेको उनको भनाइ छ। पानी शुद्धीकरणका लागि मुहानमा ‘क्लोरिनेसन' गरिए पनि यतिले मात्र स्वच्छ पिउने पानीको समाधान हुन सकेको छैन।

कोलिफर्मको उच्च जोखिम हुन सक्ने अवस्थालाई दृष्टिगत गरी जिल्ला जनस्वास्थ्य कार्यालयले ट्यांकर सप्लाई एसोसिएसनसँग शुद्ध पानी कसरी बाँड्ने भनेर छलफल गरेको जानकारी दिएको छ। ८० प्रतिशत सरुवा रोग दूषित पानीकै कारण एकअर्कामा सर्ने सरसफाइविज्ञ नमस्तेलाल श्रेष्ठले बताए। ‘पानीको मुहान फोहोर भएपछि पानीजन्य रोगको जोखिम निकै बढ्छ,' उनले भने, ‘त्यसपछि हैजा, आउँ, झाडापखालाजस्ता समस्या आउँछन्।'

स्रोत: http://annapurnapost.com/news-details/87469