ललितपुरमा ८० प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा

September 18, 2020

नितु घले, अन्नपूर्ण पोष्ट, आश्विन ०२, २०७७ 

ललितपुर : भदौ दोस्रो साता ललितपुर महानगरपालिकाको १४ वडामा बस्दै आएका एकजना पत्रकारलाई कोरोना पुष्टि भयो । परिवारमा अन्य सदस्यलाई पनि सामान्य ज्वोरो, रुघाखोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । त्यसपछि उनका परिवारका आठजना सदस्यले कोरोना परीक्षण गराए । सबैको रीपोर्ट पोजिटिभ आयो । 

उनले कोरोना पोजिटिभ भएपछि अस्पतालमा आइसोलेसनमा बस्नका लागि यताउता बुझे । तर आइसोलेसन अभाव र आक्रमक खालको लक्षण नभएकाले उनीहरुले होम आइसोलेसनमा बस्ने निर्णय गरे । 'डेढ वर्षका बच्चादेखि ९० वर्षका हजुरबुवा र हजुरआमा समेत आइसोलेसनमा बस्नुभयो, 'उनले भने, 'यतिबेला सबैको स्वास्थ्य सामान्य छ । तर रोगले भन्दा अन्य खालका तनावले बढी समस्या भोग्नु पर्‍यो।' उनीलगायत परिवारका सबै सदस्य हाल कोरोनामुक्त छन् ।

सरकारले पछिल्लो समय सामान्य अवस्थामा रहेका कोरोना संक्रमितलाई होमआइसोलेसनमा बस्न सुझाएको छ ।  स्वास्थ्य कार्यालय ललितपुरका अनुसार हाल ८० प्रतिशत संक्रमितहरु होमआइसोलेसनमा छन् । स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार लक्षण नदेखाएका संक्रमित तथा घरैमा मापदण्ड पुर्‍याउन सक्नेहरुको हकमा होमआइसोलेसनमा बस्न सुझाएको हो । 

गेलालले भने, 'आइसोलेसन उपलब्ध छैनन् । लक्षण नभएका बिरामीलाई घरैमा बस्न प्रोत्सान गरेको हो।' उनका अनुसार होमआइसोलेसनमा बसेकाहरुको  खर्च जोगिन्छ । अस्पतालमा बस्दा कम्तिमा दैनिक दुई हजार रुपैयाँ खर्च हुन्छ । तर घरमा त्यति खर्च लाग्दैन । घरैमा बस्नेलाई (हेल्थ किट) उपलब्ध गराउँदै आएको उनले बताए।

युनिसेफको सहयोगमा स्वास्थ्य सेवा विभागमार्फत स्वास्थ्य कार्यालयमा आएका किट नै  संक्रमितलाई बाँडिदै आएको हो  । उक्त किटमा डिजिटल थर्मोमिटर, मास्क, स्यानिटाइजर, क्लोरीन, पानी शुद्धीकरण गर्ने औषधि, साबुन र सिटामोल समेटिएका छन् । ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकामा रहेका संक्रमितलाई किट उपलब्ध गराइसकेको छ । ललितपुर महानगरपालिकामा पनि समन्वय भइरहेको गेलालले जनाए । 

होमआइसोलेसनमा बिरामीको स्वास्थ्य अवस्थाको बारेमा प्रत्येक दिन फलोअप गरिन्छ । त्यसका लागि स्थानीय तहबाट नै कर्मचारी खटिएको जनाए ।कोरोना लागेको भन्ने बितिकै समाजले विरोध गथ्र्यो । घर, टोलमा बस्न नदिने भन्थे । त्यस्ता भ्रम चिर्नलाई होमआइसोलेसनलाई प्रोत्साहन गरिएको तर्क उनको छ  ।  जनप्रतिनिधिसँगै मिलेर समाजमा कोरोनासम्बन्धी जगडिएको भ्रम हटाउन खोजेका बताए । संक्रमितलाई  माया, सद्भाव दिन आवश्यक रहेको  उनको बुझाइ छ । 

सरकारको नयाँ प्रावधान अनुसार १४ दिन आइसोलेसनमा बसेपछि लक्षण नदेखिए समाजमा घुलमिल हुन पाइन्छ । तर  कतिपय बिरामीले १८ दिनपछि परीक्षण गराउँदा समेत कोरोना पोजिटिभ देखिएको बताएका छन् । यद्यपी १४ दिनसम्म सक्रिय भाइरस मरिसक्ने र त्यसका सेलहरु बाँचे पनि अरुमा सर्ने सम्भावना कम भएको भनाइ गेलालको छ । उनले भने, 'यो प्रमाणित भइसकेको कुरा हो र पुन: परीक्षण गराउनु आवश्यक छैन ।'

बिहीबारसम्म ललितपुरमा संक्रमितको संख्या १५ सय एक पुगेको छ। हालसम्म आठ सय भन्दा धेरै निको भइसकेका छन् । छ सय जना सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा कोरोनाबाट सातजना स्थानीयको मृत्यु भइसकेको छ।

स्रोत: http://annapurnapost.com/news/166517

Newsletter

Submit your details below to receive Newsletters

Newsletter