लागु औषधको ‘ट्रान्जिट’ नेपालगन्ज

February 10, 2020

शंकरप्रसाद खनाल, अन्नपूर्ण पोष्ट, माघ २७, २०७६ 

नेपालगन्ज : विगत २५ वर्षको इतिहासमा बाँकेबाट दुई सय ग्राम खैरो हिरोइन (ब्राउन सुगर)सहित एक व्यक्ति पक्राउ परेका छन् । भारत बहराइचका २५ वर्षीय अब्दुल रसिद पक्राउ परेका हुन् ।

यो परिणाम २५ वर्षको अवधिमा एकै व्यक्तिबाट यति धेरै ब्राउन सुगर पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । रसिदलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखा र इलाका प्रहरी कार्यालय जमुनाहाको संयुक्त टोलीले जमुनाहबाट पक्राउ गरेको हो । शनिबार राति मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका उनलाई हेल्मेटभित्र चार वटा प्लाष्टिकका पोकामा ब्राउन सुगर लुकाएको अवस्थामा नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

नियमित कारोबारी रसिदले दुई पोका एक सय ग्राम पोखरा र अर्को एक सय ग्राम काठमाडौं पठाउने तयारी गरेका थिए । ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेको समाचार स्थानीय अनलाइन मिडियामा आएपछि भने कारोबारी भने फरार भएका थिए । ‘अनलाइनको समाचार पढेपछि सामान लिन आएकाहरु भागे’, अभियुक्त रसिदले प्रहरीलाई दिएको प्रारम्भिक बयान उद्धृत गर्दै ओलीले भने । नेपालगन्जमा २०५१ मा लागु औषध नियन्त्रण ब्युरो स्थापना भएको थियो । ब्यूरो स्थापना यता एकै दिनमा, एकै ब्यक्तिबाट एकैपटक बरामद भएको ब्राउन सुगरको परिणाम अहिलेसम्मकै ठूलो भएको ओलीले पुष्टी गरे । 

शनिबार साँझ ७ जमुनाहा नाकाबाटै कैलालीको टीकापुर नगरपालिका–१ की विष्णु गिरी र उनका भाइ विष्णु गिरी चढेको स्कुटर चेकजाँच गर्दा १८ ग्राम ब्राउन सुगर फेला परेको थियो । २०६८यता प्रहरी सक्रियतामा ठूलो परिणाममा लागू औषध नियन्त्रणमा लिएको ब्यूरोको रिपोर्टमा देखिन्छ । २३ मंसिर २०६९ मा भारतीय नागरिक मोहम्मद सलमान खान एक सय १० ग्राम ब्राउन सुगरसहित साबिक भवानीपुर गाविसबाट पक्राउ परेका थिए । १३ कार्तिक २०७५ मा नेपालगन्जको चौलिका चोकमा १९ वर्षका भारतीय नागरिक सहरे आलम ८९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

केही वर्षयता पक्राउ परेका झन्डै आधा दर्जन ठूलो परिणाममा ब्राउन सुगरसहित पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिक नै छन् । उनीहरु सबै कारोबारी नै हुन् ।

लागू औषध व्युरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘व्युरो स्थापना भएयता एउटै व्यक्तिबाट दुई सय ग्राम ब्राउन सुगरहित पक्राउ गरिएको यो पहिलो घटना हो ।’ बाँके प्रहरीले आर्थिक वर्ष ०७३/७४ यता चार वर्षको अवधिमा मात्र दुई हजार एक सय ६६ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइसकेको छ । यो वर्ष सर्वाधिक ६ सय आठ ग्राम सात सय ४५ ग्राम ब्राउन सुुगर बरामद भएको छ । चार वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा वार्षिक औसत पाँच सय ४१ ग्राम, मासिक ४५ ग्राम र दैनिक डेढ ग्राम ब्राउन सुगर प्रहरीको नियन्त्रणमा आएको छ ।

चार वर्षको अवधिमा प्रहरीले लागू औषधको मुद्दामा एक हजार २५ जनालाई पक्राउ गरेको छ भने ६ सय ३९ वटा मुद्दा दर्ता गरेको छ । प्रहरी उपरीक्षक ओली भन्छन्, ‘लागू औषधको प्रयोग र कारोबार नियन्त्रण गर्न प्रहरीले निकै सक्रियताका साथ लागेको छ । पक्राउ परेका सबै ब्यक्ति कारबाहीको दायरामा आउँछन् ।’

लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार २५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना र एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

स्रोत: http://annapurnapost.com/news/147704

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More