News

लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि

August 22, 2018

रूबी रौनियार, नागरिक दैनिक, ०६ भदौ २०७५

बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन्।

उनको ग्रेडसिटमा सैद्धान्तिकतर्फ अंग्रेजीमा डी प्लस, नेपालीमा सी, गणितमा ई, विज्ञानमा ई, सामाजिकमा डी प्लस, स्वास्थ्य जनसंख्या तथा वातावरणमा डि प्लस छ । तर ती सबै विषयका प्राक्टिकलमा उनले ए प्लस ल्याएकी छन् । यस्तै उनले ऐच्छिक अर्थशास्त्रमा सैद्धान्तिकतर्फ डी प्लस र शिक्षामा सी ग्रेड प्राप्त गरेकी छन् । शिक्षाको प्राक्टिकलतर्फ पनि ए प्लस नै पाएकी छन् । अनिवार्य गणित र अर्थशास्त्रमा भने प्राक्टिकलको व्यवस्था छैन।

रुकुमको जनकल्याण माविका एक विद्यार्थीले सैद्धान्तिकतर्फ अंग्रेजीमा ई, नेपालीमा सी प्लस, गणितमा डी, विज्ञानमा सी, सामाजिकमा बी, स्वास्थ्य जनसंख्या तथा वातावरणमा बी ग्रेड पाएका छन् । तर तिनै छात्रले प्राक्टिकलतर्फ गणितबाहेक सबैमा ए र ए प्लस ग्रेड प्राप्त गरेका छन् । सैद्धान्तिकमा न्यून ग्रेड ल्याए पनि प्राक्टिकलमा पाएको ग्रेडका आधारमा उनीहरूले कक्षा ११ मा भर्ना हुन पाएका छन्।

यी दुई विद्यार्थीको एसइई नतिजा उदाहरण मात्र हो । सरकारले ग्रेडिङ प्रणाली सही तरिकाले प्रयोगमा ल्याउन नसक्दा विद्यार्थीको सिकाइ उपलब्धि स्तर झन् खस्कँदै गएको शिक्षाविद्हरूको तर्क छ । यसले गर्दा ग्रेडिङ प्रणालीले समग्र शैक्षिक क्षेत्रलाई उल्टो गतितिर लैजाने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

 

‘लिखित परीक्षामा ५ नम्बर ल्याए पनि विद्यार्थी यस वर्षदेखि उच्च शिक्षा हासिल गर्न योग्य भएका छन् । ‘प्राक्टिकलमा २५ नम्बर पूरा पाउने भएपछि कुल ३० नम्बर हुनासाथ विद्यार्थीको फाइनल ग्रेड डी र डी प्लसभन्दा माथि पुगिहाल्छ।’

एसइई ग्रेडसिटमा थ्योरी र प्राक्टिकलमा विद्यार्थीले पाएको ग्रेड जोडेर फाइनल ग्रेड निर्धारण गरिन्छ । थ्योरी अर्थात् सैद्धान्तिकमा पाउने ग्रेड विद्यार्थीले परीक्षामा सहभागी भएर उत्तरपुस्तिकामा लेखेबापत पाउने अंकका आधारमा निर्धारण गरिन्छ भने प्राक्टिकलमा पाउने ग्रेड विद्यालय वा सम्बन्धित विषय शिक्षकले आफूखुसी दिने अंकका आधारमा निर्धारण गरिन्छ।

सरकारले विगत दुई वर्षदेखि एसइई नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गर्न थालेको छ । अनिवार्य गणित र केही ऐच्छिक विषयबाहेक सबै विषयमा सैद्धान्तिक (लिखित) तर्फ ७५ अंक र प्राक्टिकलतर्फ २५ अंक गरी १०० पूर्णांकमा परीक्षा लिइन्छ । यस्तो व्यवस्था भने गत वर्ष अर्थात् २०७४ सालको एसइई परीक्षादेखि कार्यान्वयनमा आएको हो । प्राक्टिकल अंक दिँदा शिक्षकले निरन्तर विद्यार्थी मूल्यांकन, विद्यार्थीको सिकाइ स्तर, उनीहरूले सम्बन्धित विषयमा प्राप्त गरेको ज्ञानलाई आधार मान्नुभन्दा पनि आफ्नो विद्यार्थीको एसइईको नतिजा राम्रो होस् भन्ने उद्देश्य राखेको पाइन्छ । त्यसैले आफ्ना विद्यार्थीलाई शिक्षकले शतप्रतिशत अंक दिँदै आएका छन् । तर सैद्धान्तिकतर्फ परीक्षामा राम्ररी नलेख्दा ग्रेड न्यून आएको हो।

‘लिखित परीक्षामा ५ नम्बर ल्याए पनि विद्यार्थी यस वर्षदेखि उच्च शिक्षा हासिल गर्न योग्य भएका छन्,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा २५ नम्बर पूरा पाउने भएपछि कुल ३० नम्बर हुनासाथ विद्यार्थीको फाइनल ग्रेड डी र डी प्लसभन्दा माथि पुगिहाल्छ ।’ उनले यस्ता नतिजाले शैक्षिक गुणस्तर वृद्धि नहुने बताए।

२०७४ सालको एसइर्ई परीक्षामा नियमिततर्फ कुल चार लाख २२ हजार सात सय ८७ विद्यार्थी सहभागी थिए । तीमध्ये ई ग्रेड कसैको पनि आएको छैन । ‘यसको अर्थ सबै विद्यार्थीको शैक्षिक उपलब्धि ह्वात्तै बढेको भन्ने होइन,’ परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक रामराज खकुरेलले भने, ‘पनिकाले प्रकाशित गरेको नतिजाअनुसार सैद्धान्तिक परीक्षामा प्राप्त गर्ने विद्यार्थीले तिनै विषयको प्राक्टिकलमा ए र ए प्लस ल्याएका छन् । यसले विद्यार्थीलाई नलेखे पनि सहजै उच्चशिक्षाको बाटो खोलिदिएको छ ।’ विद्यार्थी मूल्यांकनको यस्तो प्रणालीले समग्र शिक्षाको स्तर खस्कउने उनको विश्लेषण छ।

अर्का उपनियन्त्रक गेहनाथ गौतमका अनुसार २०७४ सालको ग्रेडसिटमा सबै विद्यार्थीले प्राक्टिकलमा शतप्रतिशत अंक ल्याएका छन् । उनले विद्यार्थीले लिखित परीक्षामा प्राप्त गरेको ग्रेड र प्राक्टिकलमा शिक्षकले उपलब्ध गराएको ग्रेडबीच ठूलो अन्तर रहेका कारण यसले शिक्षाको स्तर झन् खस्कने बताए । उनका अनुसार विद्यार्थीले प्राप्त गर्ने प्राक्टिकल अंकका आधारमा उनीहरूको फाइनल ग्रेड बढेको हो । उनले भने, ‘सरकारले यसलाई बेलैमा सच्याउनुपर्छ।’

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७४ को एसइईमा प्राक्टिकलतर्फको ग्रेड ए प्लस र एभन्दा मुनि कसैको पनि छैन । नियन्त्रक गौतमले भने, ‘प्राक्टिकलमा पाएको शतप्रतिशत अंकका कारण नतिजामा ई ग्रेड शून्य भएको हो ।’ एसइई नतिजा ९ प्रकारको ग्रेडका आधारमा प्रकाशन गरिन्छ । ई अर्थात् २० प्रतिशतमुनिका विद्यार्थी छैनन् भने सबैभन्दा बढी ५० प्रतिशतमुनिका अर्थात् सी ग्रेडमा छन्।

शिक्षाविद् तीर्थ पराजुलीले सैद्धान्तिकमा न्यून नम्बर ल्याउने विद्यार्थी पनि प्राक्टिकलमा बढी अंक ल्याउन सफल हुनुमा शिक्षक दोषी रहेको बताउँछन् । उनले ग्रेडिङ प्रणाली विश्वकै उत्कृष्ट भए पनि नेपालमा शिक्षामन्त्रीहरूले आफूखुसी व्याख्या गरी प्रयोग गर्दा शैक्षिक उपलब्धि सोचेजस्तो आउन नसकेको टिप्पणी गरे । उनले भने, ‘ग्रेडिङलाई आफू अनुकूल व्याख्या गरी धेरै कमजोर विद्यार्थीलाई उच्चशिक्षामा प्रवेश गराउने परिपाटीले भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्त्याउने निश्चित छ।’

ग्रेडिङको मर्मअनुसार विद्यार्थीलाई निरन्तर मूल्यांकन गरी स्तरीय शिक्षा दिनुपर्ने उनको सुझाव छ । पराजुलीले भने, ‘विद्यार्थीमा जे ग्रेड ल्याए पनि माथिल्लो कक्षामा पढ्न पाइने धारणाको विकास भएको छ भने शिक्षकमा पनि सबै पास भइहाल्छन् भनेर पढाउने रुचि कम भएको पाइएको छ।’

स्रोत: https://nagariknews.nagariknetwork.com/news/55464/