News

लुकाइँदै २० वर्ष पुराना गाडी

March 28, 2018

लक्ष्मी काफ्ले, नयाँ पत्रिका, चैत्र १४, २०७४ 

ट्राफिक प्रहरीले गाउँसम्म पुगेर २० वर्ष पुराना गाडी खोजी गर्न थाले पनि अहिलेसम्म आठवटा मात्र नियन्त्रणमा लिएको छ । सवारीधनीले पुराना गाडी लुकाउन थालेका छन् ।यातायात व्यवस्था विभागले १ चैतबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमन तीव्र पारेको हो । झापामा हालसम्म आठवटा गाडी मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । जिल्लामा २० वर्ष पुराना सयौँ गाडी हुन सक्ने प्रहरीको अनुमान छ ।

यातायात व्यवस्था कार्यालयको दर्ताअनुसार मेची अञ्चलमा १५ सयभन्दा बढी गाडी २० वर्ष पुराना रहेको ट्राफिक कार्यालयले जनाएको छ । तर, सडकमा भने गुड्न छाडेका छन् । ‘कवाडीमा बेचेर लगत कट्टा नगर्दा पनि यातायातको तथ्यांकमा धेरै देखिएको हुनसक्छ,’ ट्राफिक प्रमुख राईले भने, ‘कतिपयले प्रहरीले पक्रन्छ भनेर लुकाएका पनि होलान्, हामी खोजिरहेका छौँ ।’

जिल्लाका भित्री सडकमा गुड्ने अधिकांश सार्वजनिक सवारी पुराना थिए । शनिश्चरे–खुदुनाबारी–दानाबारी, बुधबारे–किटेनी, दमक–रवि, दुधे–शिवगञ्ज, बिर्तामोड–गोलधाप, धुलाबारी–बाहुनडाँगीलगायत स्थानमा पुराना गाडी चलिरहेका थिए । ती स्थानमा अहिले बाहिरी जिल्लाबाट ल्याइएका गाडी गुडिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘बाग्लुङ, पोखरातिर चलिरहेका गाडी ल्याएर ग्रामीण सडकमा गुडाउन थालिएको छ,’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘अन्य अञ्चलबाट भित्र्याइएका सवारीसाधन १० देखि १४ वर्षसम्म पुराना छन् ।’ ती सडकमा म्याजिक भेनले पनि यात्रु ओसार्न थालेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी पुराना गाडी खोज्दै झापाका निजी विद्यालयसम्म पनि पुगेको छ । यसअघि पनि प्रदूषण जाँच पास नभएका गाडी नियन्त्रणमा लिइने गरेको थियो । त्यस्ता १५ वटा गाडी दुई वर्षदेखि बिर्तामोडस्थित साल्ट ट्रेडिङ परिसरमा थन्किएका छन् ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, ०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारीसाधन हटाउन थालेको हो । देशभर त्यस्ता पाँच हजार पाँच सय सवारीसाधन सञ्चालनमा रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ । २० वर्ष पुराना सवारीसाधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना बढेपछि हटाउने निर्णय भएको हो ।

भन्सार छुटमा नयाँ गाडी ल्याउन दिन माग
विराटनगर÷ सरकारले बिना विकल्प पुराना गाडी सञ्चालनमा रोक लगाएर रोजगारी खोसेको ट्याक्सी व्यवसायीले गुनासो गरेका छन् । उनीहरूले भन्सार छुटमा नयाँ गाडी ल्याउन दिन माग गरेका छन् ।
मोरंग ट्याक्सी व्यवसायी संघका अध्यक्ष किरण खडकाले सरकारको निर्णयले विराटनगर विमानस्थलमा सञ्चालन हुँदै आएका ४० वटा र धरानबाट चल्दै आएका ४० वटा मारुती भ्यान विस्थापित भएको जानकारी दिए । भ्यान सञ्चालन गर्न नपाउँदा रोजगारी गुमेको ट्याक्सी व्यवसायी गणेशप्रसाद बरालले बताए । यसअघि आफूले दैनिक १५ सय कमाउने गरेको उनको भनाइ छ । सरकारले भन्सार छुटमा नयाँ गाडी ल्याउन नदिए आन्दोलन गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

नियन्त्रणमा लिएका गाडी लिलाम हुन्छन्
राजेश राई
ट्राफिक प्रहरी प्रमुख, झापा राजेश राई
ट्राफिक प्रहरी प्रमुख, झापा

हामीले २० वर्ष पुराना गाडी नियन्त्रणमा लिन थालेपछि एकाएक त्यस्ता गाडी हराए । दमकतिर त पुराना गाडीहरू खोलखाल पारेर ग्यारेजमा राखेको पनि पाइयो । त्यस्ता गाडी नियन्त्रणमा लिएर सरकारले लिलाम गर्ने भनेको छ । तर, लिलाम खुलाउने तयारी भएको छैन । नियन्त्रणमा लिइएका गाडी यातायात कार्यालयले भन्सार पठाउँदै छ ।

धरानका मारुती सञ्चालक आन्दोलनमा
धरान – सरकारले २० वर्ष नाघेका सवारीसाधन हटाएको विरोधमा धरानका मारुती भ्यान सञ्चालकले प्रदर्शन थालेका छन् । उनीहरूले सो निर्णय खारेज गर्नुपर्ने वा नयाँ गाडी किन्ने विकल्प दिनुपर्ने माग राखेका छन् ।

मारुती व्यवसायीले पर्वत श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरेका छन् । श्रेष्ठले पुराना मारुती भ्यानलाई रुट परमिट दिनुपर्ने बताए । फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको उनको दाबी छ ।

स्रोत: www.enayapatrika.com/2018/03/28/35239/