News

लुम्बिनीमा पर्यटक आगमन : दुई महिनामा २ लाख ७६ हजार

March 09, 2018

सलमान खान, अन्नपुर्ण पोस्ट, शुक्रवार, फागुन २५, २०७४

भैरहवा : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुई महिनामा दुई लाख ७६ हजार पर्यटकले भ्रमण गरेका छन्। सन् २०१८ को जनवरी र फेब्रुअरी महिनामा दुई लाख ७६ हजार ६ सय २० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ।

यस्तै सन् २०१७ को जनवरी र फेबु्रअरीमा कुल तीन लाख ७३ हजार ६ सय जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। गत वर्ष सन् २०१७ को सोही अवधिभन्दा अहिले करिब ९७ हजारले कमी हो।

सन् २०१८ को जनवरी र फेबु्रअरी महिनामा दुई लाख २३ हजार १६ जना स्वदेशी, २४ हजार ९५ जना भारतीय र २९ हजार पाँच सय नौ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए।

सन् २०१७ को सोही अवधिमा तीन लाख १२ हजार सात सय १० जना स्वदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यस वर्षभन्दा गत वर्षमा ९० हजार बढी स्वदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। सन् २०१६ मा ८४ हजार दुई सय ५५ स्वदेशी पर्यटक लुम्बिनी आएका थिए।

२०१८ को जनवरी महिनामा १२ हजार नौ सय ८८ र फेब्रुअरीमा ११ हजार एक सय सात जना भारतीय पर्यटक यहाँ आएका छन्।

सन् २०१७ को जनवरीमा १८ हजार तीन सय ५४ र फेबु्रअीमा १० हजार पाँच सय ७७ गरी २८ हजार नौ सय ३१ भारतीय पर्यटक लुम्बिनी आएका थिए। सन् २०१६ को जनवरीमा दुई हजार आठ सय ३१ र फेबु्रअरीमा तीन हजार पाँच सय ८० गरी ६ हजार चार सय १५ भारतीय पर्यटक लुम्बिनी आएको कोषका सूचना अधिकृत बस्नेतले बताए।

२०१८ को जनवरीमा तेस्रो मुलुकका नौ हजार सात सय १४ र फेबु्रअरीमा १९ हजार सात सय ९५ पर्यटक लुम्बिनी आएका छन्। यो तथ्यांक गत वर्षको सोही अवधिभन्दा करिब दुई हजार पाँच सय कम हो।

सन् २०१८ मा दुई महिनामा सबैभन्दा बढी थाइल्यान्डका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। दुई महिनामा थाइल्यान्डका सात हजार नौ सय २८, म्यानमारका ६ हजार ६ सय ८९, श्रीलंकाका पाँच हजार सात सय ३३ पर्यटक आएका छन्।

यस्तै चीन दुई हजार आठ सय २१ र कोरियाका एक हजार चार सय ६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना अधिकृत बस्नेतले बताए।

उनका अनुसार २०१८ को दुई महिनामा ५० बढी देशका पर्यटक लुम्बिनी आएका छन्। २०१६ मा भारतीय नाकाबन्दी र भूकम्पका कारण थला परेको पर्यटन क्षेत्र २०१७ मा गएर फष्ट्याएको थियो। तर, २०१८ मा आउँदा पर्यटकका अगामन संख्या घटेको देखिएको छ।

लुम्बिनी भ्रमणमा आउने पर्यटक प्रायः स्थलनाका हुँदै आउने गर्छन्। उनीहरूको मुख्य गन्तव्य लुम्बिनी भए पनि बसाइ अवधि बढाउन नसक्दा व्यवयसायीले अपेक्षाअनुसार फाइदा लिन नसकेको नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) का वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईले बताए।

स्थल नाका हुँदै आउने पर्यटकलाई भारतीय गाइडले लिएर आएका हुन्छन्, ‘उनीहरूले बुद्धजन्मस्थल लुम्बिनी भए पनि बुद्धको जिवनीसगँ जोडिएका अन्यस्थल सबै भारतमा भएको बताउँछन्’, उनले भने,‘ त्यसैले पर्यटक एकै दिनमा लुम्बिनी आएर फर्किने गरेका छन्।’

स्रोत: http://annapurnapost.com/news-details/92796