लुम्बिनीमा ९६ देशका पर्यटक

January 04, 2023

मनोज पौडेल, कान्तिपुर, पुस २०, २०७९

लुम्बिनी — गएको एक वर्षमा विभिन्न ९६ मुलुकका पर्यटक र तीर्थयात्रीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । सन् २०२२ मा संसारकै दोस्रो सानो मुलुक मोनाकोदेखि सबैभन्दा ठूलो रुसका पर्यटक लुम्बिनी घुम्न आएको पाइएको छ ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा विदेशी पर्यटक । तस्बिर : मनोज/कान्तिपुर

शून्य दशमलव ७८ स्क्वायर माइल क्षेत्रफल भएको मोनाकोका एक जना पर्यटक लुम्बिनी आएु । ६ दशमलव ६ मिलियन स्क्वायर माइल क्षेत्रफल भएको रुसदेखि ३ सय १५ पर्यटक यहाँ आए ।

लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमनमा वृद्धि भएको छ । गएको वर्षको तुलनामा पर्यटक आवागमनमा उत्साह थपिएको हो । कोरोना महामारीपछि लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमन शून्यजस्तै थियो । २०२२ मा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक यहाँ आएका छन् । कोभिडका कारण प्रभाव परेको २०२१ भन्दा २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदशी पर्यटक आएका छन् । अघिल्लो वर्षभन्दा गत वर्ष २८ देश बढीका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । २०२१ मा ६८ मुलुकका १ हजार १ सय ९७ विदेशी पर्यटक यहाँ आएका थिए ।

नेपालबाट सबैभन्दा टाढा रहेको चिलीबाट २३ पर्यटक लुम्बिनी आएका थिए । यहाँबाट १७ हजार ७ सय ६५ किमिको दूरीमा चिली छ । नजिकको चीनबाट ४ सय ३२ पर्यटक यहाँ आए । रुसको आक्रमणले तहसनहस युक्रेनका पनि २० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

२०२१ मा पर्यटन आगमनमा ५० औं स्थानमा रहेको भियतनामबाट १५ जना पर्यटक लुम्बिनी आएकामा २०२२ मा सबैभन्दा बढी ६ हजार ६ सय ७३ जना पर्यटक यहाँ आए । २०२१ मा थाइल्यान्डबाट १० जना आएकामा गत वर्ष दोस्रो बढी ४ हजार ३ सय ८० पर्यटक यहाँ आए । आर्थिक रूपमा टाट पल्टिएको श्रीलंकाबाट तेस्रो बढी १ हजार ८ सय ८५ र सैनिक शासनले कडा प्रतिबन्ध बेहोरिरहेको म्यान्मारबाट चौथो बढी १ हजार ४ सय ९५ पर्यटक यहाँ आए ।

युरोपेली मुलुक जर्मनीबाट ९ सय ५०, फ्रान्सबाट ६ सय ६१, नेदरल्यान्ड्सबाट ४ सय ७९, स्पेनबाट ३ सय ७३, इटालीबाट २ सय ५ र डेनमार्कबाट १ सय पर्यटक यहाँ आए । त्यस्तै क्यानडाबाट १ सय २८, बेल्जियमबाट १ सय ३९, अस्ट्रेलियाबाट २ सय ४०, दक्षिण कोरियाबाट ६ सय १७ र जापानबाट १ सय ९३ पर्यटक आए ।

लुम्बिनी धेरै पर्यटक आउने मुलुक श्रीलंका र म्यान्मारमा समस्या भएकाले गत वर्ष निकै थोरै पर्यटक आए । मुस्लिम मुलुक इरान, द्वन्द्वग्रस्त मुलुक इराकदेखि सिरिया, टर्कीसम्मका पर्यटक आए । लात्भिया, लेथेसो, पोर्टोरिको, क्युबा, इक्वेडर र घानाका पर्यटक पनि यहाँ आए । पपुवा न्युगिनी, लेबनान, क्यामरुन र बोस्निया हर्जगोभिनियासम्मका पर्यटकको आगमन यहाँ भयो । २०२० मा भने ८४ मुलुकका ४५ हजार ३ सय २९ विदेशी पर्यटक लुम्बिनी घुम्न आएका थिए ।

गत जेठमा बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी आगमन भएपछि यहाँ भारतीय पर्यटक बढेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटक गत वर्ष आए । २०२२ मा २ लाख ३० हजार ४ सय १३ भारतीय पर्यटक लुम्बिनी आएका छन् । ‘यसअघि कुनै पनि वर्ष यति धेरै संख्यामा भारतीय पर्यटक लुम्बिनी आएका थिएनन्,’ लुम्बिनी विकास कोषका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले भने, ‘मोदीको भ्रमण लुम्बिनीको ब्रान्डिङ गर्न सहयोगी बन्यो ।’

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा मात्रै १ लाख १ हजार ६ सय २१ पर्यटक यहाँ आए । भारतीयहरू मोदीप्रति निकै आस्था र विश्वास राख्छन् । त्यसैले उनी घुम्ने ठाउँ पछ्याउँदै पुग्न पनि भारतीय निकै लालायित हुने अधिकृत गौतमले बताए । लुम्बिनीको प्रचार भारतभरि फैलिनु नेपालीको शिर विश्वभरि उँचो हुने अवसर भएको उनको भनाइ छ । २०२१ मा ४३ हजार ७ सय ३२ र २०२० मा ३७ हजार २ सय ९६ जना भारतीय पर्यटक आएका थिए ।

आन्तरिकको ओइरो

लुम्बिनीमा नेपाली पर्यटकको आगमन पनि बढेको छ । कोभिडपछि गत वर्ष ६ लाख ४६ हजार ७८ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जब कि २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरेका थिए । २०२० मा २ लाख १० हजारले भ्रमण गरेका थिए । दुई वर्षदेखि पर्यटक बढ्दै गएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तव्य हो । लुम्बिनी क्षेत्रमा घुम्दै गर्दा थाइल्यान्ड पुगेको जस्तो हुन्छ, कतै म्यान्मारजस्तो हुन्छ । कतै कम्बोडिया त कतै श्रीलंका पुगेको भान हुन्छ । किनकि, लुम्बिनीभित्रै त्यस्ता प्रशस्त संरचना छन् । लुम्बिनीलाई विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार मान्निन्छ । यहाँ एउटा सानो विश्व नै देख्न सकिन्छ । विभिन्न देशका कला–संस्कृति र परम्परा देख्न पाइने हुँदा स्वदेशी विदेशीको आकर्षणमा पर्छ ।

‘पर्यटक धेरै आएको राम्रो हो,’ सोसाइटी अफ ट्राभल्स एन्ड टुर अपरेटर नेपाल (सोट्टो) लुम्बिनी प्रदेश अध्यक्ष संजय बजियमले भने, ‘तर, उनीहरूको बसाइ अवधि बढाउने योजना बनाउनुपर्छ ।’ नेपालीहरू घुम्न रुचि राख्न थालेका छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनु जरुरी भएको उनले बताए ।

‘पर्यटक आउने वातावरण बन्यो,’ उनले भने, ‘तर, टिकाउने समस्या भयो ।’ लुम्बिनी आउने ३० प्रतिशत पर्यटक अर्को महत्त्वपूर्ण बुद्धस्थल तिलौराकोट र प्राचीन कपिलवस्तु नपुग्ने गरेको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माको भनाइ छ । यहाँ आउने पर्यटक पश्चिम नवलपरासीको बुद्धस्थल रामग्राम १० प्रतिशत पनि पुग्दैनन् । ती ठाउँलाई समेटेर आकर्षक प्याकेज बनाउन सके पर्यटकको बसाइ लम्बिएर मुलुकलाई फाइदा पुग्ने उनले बताए ।

लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रम अभाव छ । धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । बसाइ अवधि कम छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकेका छैनौं,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’ यहाँ आउने पर्यटकको बसाइ मुस्किलले एक दिन हुन्छ । त्यो पनि धार्मिक कार्यक्रममा आउनेको मात्रै । नभए उही दिन फर्कन्छन् ।

पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केही बेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्तिले समस्या थपिँदो छ । सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन नसकिएको भट्टराईले बताए । यसका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी रहेको उनको भनाइ छ ।

‘लुम्बिनी विकास कोष दलीय प्रभाव र हस्तक्षेपले आक्रान्त छ,’ पर्यटन उद्यमी हेमबहादुर विष्टले भने, ‘प्रवर्द्धनका योजना र कार्यक्रममा ध्यान जान सकेको छैन ।’ ठेक्कापट्टा र व्यक्तिगत लाभले समस्या थोपरिंदो छ । लुम्बिनीको पर्यटन प्रवर्द्धनका योजना र कार्यक्रम काठमाडौंमा बसेर बनाइने उनले सुनाए । ‘हामीले हाम्रो आकर्षणको ब्रान्डिङ नै गर्न सकेका छैनौं,’ उनले भने, ‘स्थानीयसँग हातेमालो गर्ने योजनाको अभाव छ । त्यसैकारण लुम्बिनी जहाँको त्यही छ ।’

स्रोत: https://ekantipur.com/business/2023/01/04/167279799031972723.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter