लुम्बिनी पुगे १६ लाख पर्यटक

January 02, 2018

लक्ष्मण पोखरेल, अन्नपुर्ण पोस्ट, १८ पुष २०७४

प्रमुख पर्यटकीय क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। स्थल एवं हवाईमार्ग हुँदै सन् २०१७ मा एक लाख ४५ हजार सात सय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।अघिल्लो वर्षको तुलनामा नौ हजार पर्यटक बढे पनि यो सन्तोषजनक नभएको पर्यटन व्यवसायीहरू बताउँछन्। यस वर्ष लुम्बिनीमा हुने महत्वपूर्ण पूजा ‘मोन्लम’ नभएकाले पर्यटकको आवागमनका केही कमी आएको हो। मोन्लम पूजामा करिब २० हजार तेस्रो मुलुकका पर्यटक आउने गरेका थिए। यस वर्ष उक्त पूजा भारतको बोधगयामा भएको छ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भारतीय पर्यटकको संख्या भने बढेको छ। ‘सन् २०१६ को तुलनामा तीन वर्गका पर्यटकको संख्या बढेको छ। नेपाली, भारतीय र पासपोर्ट बोकेका पर्यटक झन्डै १६ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।’

सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ भारतीयले लुम्बिनीमा भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषले तेस्रो मुलुकका पर्यटकको संख्या टिकट र अन्यको भ्रमण पुस्तिकाका आधारमा निकाल्ने गरेको छ। २०१६ मा एक लाख ३४ हजार दुई सय भारतीय लुम्बिनी आएका थिए।

लुम्बिनी भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ। एकै वर्षमा सवा दुई लाख आन्तरिक पर्यटकको वृद्धि भएको हो। सन् २०१६ मा १० लाख १५ हजार एक सय ५० नेपाली लुम्बिनी पुगेका थिए। सन् २०१७ मा १२ लाख ५१ हजार तीन सय ४६ आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरे।

अघिल्लो वर्षको तुलनामा नौ हजार पर्यटक बढे पनि यो सन्तोषजनक नभएको पर्यटन व्यवसायीहरू बताउँछन्।

पर्यटकका लागि स्तरीय होटल र खर्च गर्न स्थान अभावका कारण लुम्बिनी आउने पर्यटक निकैे छोटो अवधि मात्रै बस्ने गरेका छन्। लुम्बिनी तथा बुटवल, भैरहवा क्षेत्रका पर्यटन व्यवसायी तेस्रो मुलुकभन्दा भारतीय पर्यटकलाई स्वागत गर्न बढी आतुर देखिन्छन्।

लुम्बिनी आसपासमा भारतीय पर्यटक मात्रै ल्याउँदा नेपालले धेरै फाइदा लिन नसक्ने पाँचतारे टाइगर प्यालेस रिसोर्टका सञ्चालक नवराज बजगाईंको भनाइ छ। ‘नेपालमा खर्च गर्ने पर्यटकको खाँचो छ। लुम्बिनीमा रोटी राखेको टिफिन बोकेर आउने पर्यटकले आर्थिक उर्पाजन हुँदैन’, उनले भने।

झन्डै चार दशकअघि केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजना छिटो कार्यान्वयन गरी जापानी प्रोफेसर डा. क्वाकले बनाएको गुरुयोजना कार्यान्वयनमा सरकार लाग्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ। लुम्बिनी गुरुयोजना पूरा भए कम्तीमा एक दिन लुम्बिनीमा पर्यटक बस्न सक्ने अपेक्षा छ।

लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामको विकास आवश्यक रहे पनि त्यसो हुन सकेको छैन। संस्कृतिविद् डा. गीतु गिरीले बौद्ध संस्कृतिको अवलोकन गर्न आउने पर्यटकलाई पनि यहीँ रात बिताउने गरी टुर प्याकेज बनाउनुपर्ने बताउँछन्।

अहिले तेस्रो मुलुकबाट आउने पर्यटक अधिकांश भारतीय गाइडमार्फत करिब एक घण्टाका लागि मात्रै लुम्बिनी आउने गरेका छन्। लुम्बिनीलाई पोखरा र सौराहासँग हवाई मार्गबाट जोड्न सके पनि पर्यटकको संख्या बढ्न सक्ने व्यवसायी बताउँछन्।

ठूला लगानीका होटल लुम्बिनी क्षेत्रमा सञ्चालनमा आएकाले केही पर्यटकलाई तान्न सक्ने अपेक्षा छ। ‘हामीले मात्रै वार्षिक कम्तीमा एक लाख पर्यटकलाई सेवा दिने अपेक्षा राखेका छौं। यहाँ खर्च गर्न आउने पर्यटकका कारण अरू संख्या पनि बढ्न सक्छ’, बजगार्इंले भने।

स्रोत: http://annapurnapost.com/news-details/87339

फोटो स्रोत: http://blog.kudoybook.com/lumbini/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More