News

व्यापार घाटा ९ खर्ब

April 18, 2019

अन्नपूर्ण पोष्ट, बैशाख ०५, २०७६ 

काठमाडौं : चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा मुलुकको व्यापार घाटा झन्डै ९ खर्ब पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा २४.५ प्रतिशतले बढेको हो।

आयातको तुलनामा निर्यात वृद्धि नहुँदा चालु आर्थिक वर्षको फागुनसम्म व्यापार घाटा करिब ८ खर्ब ८७ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७५÷७६ को आठ महिनामा ९ खर्ब ४९ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ६१ अर्ब २२ करोड रुपैयाँ मात्र निर्यात भएको छ।

अन्तर्राष्ट्रिय व्यापारको असन्तुलनले चालु वर्षको अन्त्यसम्म बजेटको आकार भन्दा ठूला व्यापार घाटा हुने देखिन्छ।

यसैगरी २०७५÷७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ।

पेट्रोलियम पदार्थको आयातमात्र एक खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ।

पेट्रोलियम पदार्थ, तयारी पोसाक, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्रीलगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको आयात घटेको छ।

शोधनान्तर घाटा ५८ अर्ब ९९ करोड

लगातार आठौं महिनामा पनि शोधनान्तर स्थिति ऋणात्मक बनेको छ। मुलुकमा भित्रिने भन्दा बाहिरिने रकम बढ्दै गएपछि फागुनमा घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा २४ अर्ब ७३ करोड छ। शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ। उत्पादनमा नकरात्मक प्रभाव पर्ने भएपछि मुलुको परनिर्भरता बढ्छ।

अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाख अमेरिकी डलर घाटा थियो। चालु आवमा ५१ करोड ८१ लाख रुपैयाँ छ।

पुँजीगत वस्तुहरुको आयात बढ्दा चिन्ता गरिहाल्नुपर्ने स्थिति नभएको अर्थविद् केशव आचार्य बताउँछन्। उनले भने, ‘आयात संरचनामा कच्चापदार्थ, बाटोघाटो बनिरहँदा एक्साभेटर, क्रेन, रोलरलगायत सामग्रीको आयात बढ्दा चिन्ता गरिरहनुपर्दैन। सबैभन्दा महŒवपूर्ण स्थिति शोधनान्तर स्थिति हो।’

अन्तर्राष्ट्रिय बजारसँग गरिने ठूला करोबारले शोधनान्तर स्थितिमा पारेको प्रभाव महŒवपूर्ण रहेको उनको भनाइ छ।

वस्तु व्यापारमा मात्र होइन सेवा व्यापारतर्फ पनि घाटा बढ्दै गएको छ। नेपाली विदेश घुम्न जाने प्रचलन बढेको छ। उनीहरूले विदेशमा रकम रकम खर्च गर्ने हुँदा शोधनान्तर स्थितिमा प्रभाव परेको उनले बताए।

उनले भने, ‘जति जति कुनै क्षेत्रको विकास हुन्छ मानिसहरूले त्यहाँको उपभोग पनि बढाउँछन्। २० अर्बभन्दा बढी भारतको बिजुलीमा मात्रै तिर्छाैं। यी तथ्यांक शोधनान्तरमा आएर जोडिन्छ। अन्धाधुन्दा गाडीको संख्या बढिरहेको छ, त्यसले पेट्रोल, डिजेलको खपत पनि बढाइरहेको छ। बिलासी वस्तुको आयात बढ्नु हाम्रो जस्तो मुलुकका लागि त्यति राम्रो होइन।’

महँगी घट्यो

फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ४.२ प्रतिशत छ। अघिल्लो वर्षको तुलनामा कम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको ८ महिनामा मुद्रास्फिति ६ प्रतिशत थियो। खाद्य तथा पेयपदार्थ समूहको मूद्रास्फिति कम रहेकाले उपभोक्ता मुद्रास्फिति अघिल्लो वर्षको तुलनामा कम देखिएको हो।

निक्षेप र कर्जामा वृद्धि

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.७ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले बढेको छ।

स्रोत: http://annapurnapost.com/news/125363