वार्षिक करोड खर्च तर बिरामीको तथ्यांक छैन

February 16, 2018

विश्वराज पछल्डङ्ग्या, नयाँ पत्रिका बाँके, फागुन ४, २०७४

हचुवाको भरमा हात्तीपाइले निवारण अभियान 
हात्तीपाइले रोग निवारणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले हरेक वर्ष करिब एक करोड खर्च गर्छ । कार्यालयले हरेक वर्ष करोड रुपैयाँका दरले खर्च गर्न थालेको सात वर्ष भइसकेको छ ।

चालू आर्थिक वर्ष ०७४/७५ मा पनि जनस्वास्थ्य कार्यालयले हात्तीपाइले रोग निवारण अभियानका लागि ९६ लाख ७५ हजार खर्च गर्दै छ । तर, जिल्ला जनस्वास्थ्यसँग बाँकेमा हात्तीपाइलेका बिरामी कति छन् भन्ने तथ्यांकसमेत छैन ।

बाँकेमा हात्तीपाइलेका बिरामीको यकिन तथ्यांक नभएको बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले जानकारी दिए । उनले अभियान सुरु गर्ने क्रममा २१ प्रतिशत हात्तीपाइलेका बिरामी भए पनि पछिल्लो समय हात्तीपाइलेका बिरामीको यकिन तथ्यांक नभएको बताए ।

उनले हात्तीपाइले रोग निवारणका लागि ०६७ देखि हरेक वर्ष हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन हुँदै आएको बताए । ‘अभियान चलाएपछि हात्तीपाइलेका बिरामी घटे या बढे कुनै अभिलेख छैन,’ उनले भने ।

करिब १० वर्षअघि सरकारले गरेको सर्वेक्षणअनुसार नेपालमा १३ प्रतिशत हात्तीपाइलेका बिरामी थिए । तर, अभियान सञ्चालन सुरु भएयता सर्वेक्षण गरिएको छैन । सर्वेक्षण नभएकै कारण बाँकेमा हात्तीपाइलेका बिरामी घटे या बढे थाहा नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘अभियान सञ्चालनपछि बिरामीको संख्या घटेको अनुमान गरेका छौँ । तर, सर्वेक्षण नहुँदासम्म यकिन तथ्यांक भन्न सकिने अवस्था छैन,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक खड्काले भने ।

आमऔषधि अभियान जारी 
हात्तीपाइले रोग निवारणका लागि बाँकेमा आमऔषधि सेवन अभियान सञ्चालन हुँदै आएको छ । तर, बिरामीको यकिन तथ्यांक नभईकन सञ्चालन गर्दा प्रभावकारी हुन सकेको छैन । कुन क्षेत्र र समुदायमा हात्तीपाइलेका बिरामी कति छन् भन्ने जानकारीविनै जनस्वास्थ्यले बाँकेभर अभियान सञ्चालन गरिरहेको छ ।

अभियानका वेला सबैलाई समेट्ने प्रत्यत्न गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोही नछुटून्, कोही नदोहोरिऊन् भन्ने नाराका साथ आमऔषधि सेवन अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ ।

रझेनामा सबैभन्दा धेरै संक्रमित
बाँकेको रझेना क्षेत्रमा हात्तीपाइलेका धेरै बिरामी फेला परेको वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए । कात्तिकमा गरेको सर्वेक्षणमा सो क्षेत्रका २३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण देखिएको उनले बताए । तीन सय ४२ जनाको स्वास्थ्य परीक्षण गर्दा ७२ जनामा हात्तीपाइलेका जीवाणु फेला परेको उनको भनाइ छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार बैजापुर क्षेत्रमा ६ र नेपालगन्ज क्षेत्रमा ९ प्रतिशतमा हात्तीपाइले फेला परेको छ । अघिल्ला वर्षको भन्दा केही घटेको सर्वेक्षणले देखाएको खड्काले बताए ।

‘सहरका बासिन्दा औषधि खान मान्दैनन्’ 
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा विभिन्न किसिमका नकारात्मक असर (साइड इफेक्ट) देखिन थालेपछि सोचेभन्दा कमले मात्रै सेवन गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि सेवन गर्नेमा नेपालगन्जका सहरी क्षेत्रका भन्दा ग्रामीण भेगका धेरै भएको जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए । उनले भने, ‘सहरका मानिस औषधि खान हिचकिचाउँछन् ।’

अघिल्लो साल राप्तीपारिका ९७ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेका थिए । तर, सोही अभियानका क्रममा नेपालगन्जका ४१ प्रतिशतले मात्र औषधि सेवन गरेको उनले बताए ।

‘औषधि सेवन गर्नेमा शिक्षितभन्दा अशिक्षित र धनीभन्दा गरिब धेरै छन्,’ उनले भने, ‘सहरभन्दा ग्रामीण भेगका धेरैले औषधि सेवन गर्दै आएका छन् ।’

०६७ सालमा पहिलोपटक अभियान सञ्चालन गर्दा बाँकेका कुल ९१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए । औषधि सेवनपछि विभिन्न किसिमका नकारात्मक असर परेको अफवाह फैलिएपछि दोस्रो वर्ष ५३ प्रतिशतले मात्र औषधि सेवन गरेको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

३६ हजारलाई औषधि खुवाइँदै 
हात्तीपाइले रोगविरुद्धको अभियानअन्तर्गत यो वर्ष १२–१४ फागुनसम्म औषधि सेवन अभियान सञ्चालन हँदै छ । यस वर्ष नेपालका २४ जिल्लामा आमऔषधि सेवन अभियान हुँदै छ । अभियानका क्रममा बाँकेका पाँच लाख ३५ हजार सात सय ९७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य जनस्वास्थ्य कार्यालयले लिएको छ ।

यसका लागि जिल्लाभर नौ सय ९१ बुथ तोकिएका छन् । पहिलो दिन बुथमा औषधि खुवाइनेछ भने दोस्रो र तेस्रो दिन घर–घरमा गएर औषधि सेवन गराउने कार्यक्रम तय भएको हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

यस्ता व्यक्तिले औषधि नखाएको राम्रो 
हात्तीपाइलेको औषधि कडा खालको भएकाले दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनभित्रका सुत्केरी र सिकिस्त बिरामीले नखाएको राम्रो हुन्छ । मुटुरोगी, श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीले पनि औषधि सेवन नगर्दा राम्रो हुने चिकित्सकले जनाएका छन् ।

औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन सक्ने चिकित्सकले जनाएका छन् । तर, यो समस्या एक दिनभन्दा बढी नदेखिने डा. सुदीप कायस्थले बताए ।

स्रोत: www.enayapatrika.com/2018/02/16/24435/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More