वार्षिक डेढ अर्बको दूध उत्पादन

August 20, 2017

दिल सिरिश, अन्नपुर्ण पोष्ट, ४ भाद्र २०७४ 

दूध उत्पादनमा बागलुङ आत्मनिर्भर बनेको छ । जिल्लाका विभिन्न स्थानमा किसानले व्यावसायिक पशुपालन सुरु गरेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । अहिले बागलुङमा सीमित मात्रामा पोखराबाट प्याकेट दूध आउने गरेको छ । तर पोखराबाट आउने अनुपातमै जिल्लाको दक्षिण बलेवा, जैमिनी नगरपालिकाको कुश्मीसेरा क्षेत्रबाट पर्वतको कुश्मा बजार तथा जिल्लाकै पश्चिम दगान्तुडाँडाबाट गुल्मीको वामीलगायत बजारमा दूध बिक्री गर्ने गरिएको जिल्ला पशुसेवा कार्यालय बागलुङले जनाएको छ ।

पछिल्लो समय किसानले स्थानीय जातका गाईभैंसी पाल्न छाडे पनि उन्नत जातका पशुपालन गर्ने क्रम बढेकाले दूध उत्पादनमा उल्लेख्य वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत केशव पौडेलले जानकारी दिए । ‘किसानको संख्या धेरै वृद्धि भएको देखिँदैन', उनले भने, ‘तर पशुपालनमा समर्पित किसानले व्यवस्थित पशुपालन र दूध उत्पादनमा ध्यान केन्द्रित गरेकाले अहिले मात्रात्मक रूपमा दूध उत्पादन बढ्दै गएको छ ।'

बागलुङ बजारआसपासका जैमिनी, गल्कोट, खरवाङ, बुर्तिवाङ र बलेवा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्ने गरेका छन् । प्रत्येक वर्ष दूध उत्पादनको मात्रा बढेकाले जिल्ला दूधमा आत्मनिर्भर भएर बिक्रीका लागि अन्य जिल्लामा पठाउने अवस्थामा पुग्न थालेको कार्यालयका पशु विकास अधिकृत नीलकण्ठ उप्रेतीले बताए । बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा २५ हजार तीन सय मेट्रिक टन दूध उत्पादन भएको पशु विकास अधिकृत शर्माले बताए । ‘यहाँको दूध उत्पादनको अवस्था हेर्दा प्रत्येक वर्ष दूध उत्पादन हुने क्रम बढेको छ', शर्माले भने, ‘अघिल्लो वर्षभन्दा ३.२ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको देखिएको छ ।' आर्थिक वर्ष २०७२/०७३ मा २४ हजार चार सय ९० मेट्रिक टन दूध उत्पादन भएको थियो ।


बागलुङका जैमिनी, गल्कोट, खरवाङ, बुर्तिवाङ र बलेवा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्दै आएका छन् ।

पशुसेवा कार्यालयका अनुसार गत आवमा बागलुङमा डेढ अर्ब रुपैयाँभन्दा बढीको दूध उत्पादन भएको छ । ‘बागलुङ बजारमा अहिले चलनचल्तीको दूधको मूल्य ८० रुपैयाँ प्रतिलिटर छ', उनले भने, ‘अघिल्लो वर्षको तुलनामा गत वर्ष डेढ अर्ब रुपैयाँ बढीको दूध उत्पादन भएको छ ।' बागलुङमा उत्पादित दूध बढी भएर अन्य जिल्लामा पनि पठाइने गरेको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले बताए । ‘विश्व स्वास्थ्य संगठनले एक व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यक पर्ने उल्लेख छ', उनले भने, ‘यहाँ उत्पादित दूध प्रतिव्यक्ति ९४ लिटर छ ।'

 

बागलुङ दुग्ध उत्पादक सहकारी सघंले गाउँका किसानलाई समूहमा आबद्ध बनाएर दूध संकलन गरी बजारमा पुर्‍याउने गरेको सहकारीका अध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए । संघले विभिन्न सहकारीमा आबद्ध १२ सयभन्दा बढी किसानलाई समूहमा आबद्ध बनाएर दूध बिक्रीवितरणको प्रबन्ध मिलाएको छ । ‘विभिन्न गाविसका १२ सय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारमा पुर्‍याउछौं', अध्यक्ष कँडेलेले भने ।

बागलुङ बजारमा पुग्ने पर्याप्त दूध यहीँका किसानले उत्पादन गर्ने भए पनि पोखराबाट आउने दूधले किसान मर्कामा परेको उनको भनाइ छ । ‘उत्पादन लागत महँगो पर्ने भएकाले यहाँको दूध बाहिर पठाउँदा लागत उठ्दैन', उनले भने, ‘यहाँ पोखराबाट दूध आयात हुँदा सुक्खाबाहेक अन्य समयमा महिनाको पाँच दिन ‘मिल्क होलिडे' गर्ने गरेका छौं ।' किसानलाई मर्का नपरोस् भनेर सहकारी संघले पनिर र छुर्पी उत्पादन गरेर बेच्ने गरेको उनले बताए । दूध संकलनका लागि विभिन्न क्षेत्रमा सहकारी गठन गरिएको छ ।

किसानले उत्पादन गरेको दूधलाई विभिन्न सहकारीमार्फत बजारमा पुर्‍याउने गरिएको छ । अमलाचौर र कुश्मीसेराका किसानले दूधको बजार व्यवस्थापनमा सघाउन कालीगण्डकी दुग्ध सहकारी संस्था स्थापना गरेका छन् । सोही सहकारीले दूध संकलन गरेर बिक्री गर्ने गरेको छ । ‘सामूहिक रूपमा सहकारीमा दूध संकलन गर्छौं', सहकारीका अध्यक्ष लक्ष्मीनारायण शर्माले भने, ‘हामीले पर्वतको कुश्मा लगेर बेच्ने गरेका छौं ।' बागलुङ नगरपालिका, बिहुँ, भीमपोखरा, लेखानी, मालिकालगायत क्षेत्रमा उत्पादित दूधलाई बागलुङ दुग्ध उत्पादक सहकारीले बजारमा पुर्‍याउने गरेको छ ।

जिल्लाको कुश्मीसेरा, ग्वालीचौर, बुर्तिवाङ, हरिचौरलगायत ठाउँमा संकलन केन्द्र स्थापना गरेको कार्यालयले जनाएको छ । ‘ग्रामीण क्षेत्रका विभिन्न क्षेत्रमा दुग्ध सहकारी संस्था गठन गरेका छौं', गिरीले भने, ‘चार स्थानमा चिलिङ भ्याट स्थापना भइसकेका छन् ।' उनका अनुसार अमलाचौर, बागलुङ बजार, भीमापोखरा र बुर्तिबाङमा दूध स्टोर गर्ने चिलिङ भ्याट राख्न पशु कार्यालयले सघाएको हो । सानो लगानीमा धेरै आम्दानी हुने भएपछि किसान उन्नत जातका पशुपालनमा आकर्षित भएका छन् । यहाँका किसानले जर्सी गाई र मुर्रा भैंसी पाल्दै आएका छन् । उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दूध दिने भएकाले किसानको रोजाइमा परेको हो ।

कार्यालयले जिल्लाको बागलुङ, तित्याङ, सिगाना, भीमापोखरा, कुश्मीसेरा, नारायणस्थान, बिहुँ, हटिया, बुर्तिवाङ, खरवाङ, मालिका, हरिचौरलगायत क्षेत्रमा प्राविधिकलाई खटाएर गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने व्यवस्था मिलाइएको छ । ‘अहिले वार्षिक करिब तीन हजार तीन सय पशुमा कृत्रिम गर्भाधान हुने गरेको छ', गिरीले भने, ‘उन्नत जातको पशु तयार गर्न यो प्रविधि प्रभावकारी छ ।'

पशुपालनमा आकर्षित गर्न अनुदानको कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले व्यावसायिक रूपमा फर्म सञ्चालन गर्ने कृषकलाई गोठ सुधार, घाँसको बिरुवा, भ्याक्सिन तथा जुकाको औषधि अनुदानमा दिने गरेको छ ।

स्रोत: http://annapurnapost.com/news/78108

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More