वार्षिक २ अर्बको दूध उत्पादन

September 07, 2017

त्रिलोचन रिजाल, कारोबार आर्थिक दैनिक, २२ भाद्र २०७४ 

किसानमा व्यावसायिक पशुपालनको लहर चलेसँगै बाग्लुङ जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । पहाडी जिल्ला भए पनि व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि दूध उत्पादनमा वृद्धि भएको हो । 

जिल्लामा एक  वर्षको अवधिमा २ अर्ब रुपैयाँबराबरको दूध उत्पादन भएको पशु विकास अधिकृत नीलकण्ठ शर्माले बताए । “जिल्लामा अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा २५ हजार ३ सय टन दूध उत्पादन भएको तथ्यांक छ,” अधिकृत शर्माले भने, “यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५ प्रतिशतले बढी हो ।” अघिल्लो वर्ष डेढ अर्बको अर्थात् २४ हजार ४ सय ९० टन दूध उत्पादन भएको थियो । प्रत्येक वर्ष दूध उत्पादन वृद्धि भएसँगै बाग्लुङ दूधमा पूर्णरुपमा आत्मनिर्भर बनेको शर्माले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक रहे पनि जिल्लामा वार्षिक प्रतिव्यक्ति ९४ लिटर दूध उपलब्ध रहेको जिल्ला पशु सेवा कार्यालय बाग्लुङका प्रमुख डा. गोपाल गिरीले बताए ।

 गिरीका अनुसार जिल्लामा व्यावसायीक पशुपालनतर्फ लाग्नेहरूको संख्या अत्याधिक हुनु, पशुको नश्ल सुधारमा किसानले ध्यान दिनु, बढी उत्पादन दिने पशुपालनलाई ध्यान दिएका कारण दूध उत्पादनमा वृद्धि भएको हो ।

परम्परागत रूपमा पशु पालनमा लागेकाहरू व्यावसायिक रूपमा लाग्न थालेपछि दूध उत्पादनमा अत्यधिक वृद्धि भएको हो । “उत्पादनमा वृद्धि भएपछि बाग्लुङका बलेवा, कुश्मीसेरा तथा खर्वाङ क्षेत्रबाट दूध अन्य जिल्लामा निर्यात हुने गरेको छ,” प्रमुख गिरिले भने  । 

जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयले गत आर्थिक वर्षभर पशु स्वास्थ्य सेवा, प्रयोगशाला सेवा, भ्याक्सिन सेवा, व्यवसायी उन्मुख डेरी तथा किसानलाई गाई भैंसी सहयोग, डेरी फर्मको व्यवसायीकताका लागि गोठ निर्माण, पशु सहयोग, उन्नत गाई पालन कार्यक्रम, पशु सेवा तालिम तथा प्रसार कार्यक्रम, व्यावसायिक भैंसी विकास कार्यक्रम, साझेदारीमा चिस्यान केन्द्रको स्थापना, दुग्ध संकलन केन्द्र, डेरी पसल सुधारलगायतका काम गर्दै आएको थियो ।

कार्यालयले दूध उत्पादन वृद्धिका लागि पशु नश्ल सुधार अभियानसमेत सञ्चालन गरेको थियो । दूध उत्पादन वृद्धि गर्न कृतिम गर्भाधारण सेवाले थप मद्दत पु¥याएको शर्माले जानकारी दिए । कृतिम गर्भाधारण गराउँदा स्थानीय जातका गाई भैंसीको नश्ल सुधार हुनुका साथै माउले बढी दूध दिने गरेको पशु प्राविधिकहरू बताउँछन् । “परम्परागत रूपमा साँढे, राँगो लगाउँदा दुई लिटर दूध दिने गाई–भैंसीले कृतिक गर्भाधारण गराउँदा ३ देखि ४ लिटरसम्म दिन्छ त्यसले पनि दूध उत्पादनमा वृद्धि भएको छ,” शर्माले भने  । 

जिल्लामा दूध उत्पादन वृद्धि तथा आन्मनिर्मर बने पनि संख्यात्मक रुपमा पशुपालक किसानको संख्या भने बढेको छैन । पछिल्लो समय किसानले उन्नत जातका गाई–भैंसी पाल्न थालेपछि दूध उत्पादनको परिमाण वृद्धि हुँदै गएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत केशव पौडेलले जानकारी दिए ।

बाग्लुङ बजारआसपास, गल्कोट, खरवाङ, बुर्तिवाङ, बलेवा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्दै आएको उनले बताए । उत्पादित दूधलाई विभिन्न सहकारीमार्फत बजारसम्म पु¥याउने गरिएको छ । जिल्लाको बलेवा क्षेत्रबाट पर्वत र खरवाङबाट गुल्मीमा दूध बिक्री हुने गरेको छ ।

स्रोत: 

https://www.karobardaily.com/news/82156

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More