वार्षिक २ अर्बको फर्निसिङ कारोबार

August 25, 2017

दिननाथ बराल, कारोबार आर्थिक दैनिक, ०९ भाद्र २०७४ 

पोखरामा विश्वका धेरै मुलुकहरूको लवाइ–खुवाइदेखि पछिल्लो क्रममा कुनै घर तथा भवनमा एवं कार्यालयहरूमा सजिसजावटका समानहरू प्रयोग हुन थालेको छ । 

पोखरामा विगत साढे दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक रूपमा फर्निचरको व्यवसाय हुँदै आए पनि पछिल्लो क्रममा विगत ५/७ बर्ष देखि विदेशी सामानहरूले स्वदेशी उत्पादनमा असर पार्न थालेको फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष हीरामणि पण्डितले बताए ।

उनका अनुसार अझै पनि दुई पुस्ताको लगाइले गर्दा फर्निचर व्यवसाय प्रभावित हुने गरेको छ । उनले भने, “पुरानो पुस्ताले प्रायः दिगो र बलियोको लागि स्वदेशी उत्पादनका सामानहरू खोजी राखेको हुन्छ तर नयाँ पुस्ताले भने हेर्दा राम्रो र सस्तो सामानलाई प्रयोगमा ल्याएको हुन्छ, जसले गर्दा दुई पुस्ताको लडाइँले गर्दा हाम्रो व्यवसायमा प्रभाव पर्ने गरेको छ ।” 

अभिभावकले भनेर मान्ने घर परिवारमा स्वदेशी सामान र नयाँ पुस्ताले भनेर अभिभावकले मान्न स्थानमा विदेशी आयातित सामानहरूको प्रायः प्रयोग हुने गरेको अध्यक्ष पण्डितले दाबी गरे ।

उनका अनुसार संघमा आबद्ध करिब कास्कीमा ३ सय व्यावसायीहरू छन् । करिब १ सय ५० वटा अझै पनि फर्निचर व्यवसायीहरू बिना दर्ता कास्कीमा सञ्चालन भएको व्यवसायीहरू बताउँछन् । 

कास्की क्षेत्रमा वार्षिक रूपमा फर्निचर तथा फर्निसिङका करिब २ अर्बभन्दा बढीको कारोबार हुने गरेको संघले जनाएको छ । कास्की क्षेत्रमा करिब ६ हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार पाएको अध्यक्ष पण्डितले बताए ।

उनका अनुसार स्वदेशी उत्पादन फर्निचर तथा फिर्निसिङका सामान हाल करिब ६० प्रतिशत जसो बजारमा खपत हुने गरेको छ भने ४० प्रतिशत जसो चाईना, भारत तथा तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।

देख्दा राम्रो र हेर्दा चिटिक्क परेका चाइनिज सामानले युवा पुस्तालाई आकर्षण गरेकाले एक पटक ती सामान प्रयोग गरेर टुटफुट भएपछि बल्ल उनीहरूले स्वदेशी सामानको महत्व बुझ्ने गरेको उनले बताए । 

शिवशक्ति स्टिल फर्निचर उद्योगका सञ्चालकसमेत रहेका पण्डितले आफ्नो क्षेत्रबाट विगत २५ वर्षदेखि पोखरामा स्वदेशी उप्तादनलाई प्राथमिकता दिने गरी पुराना तथा नयाँ मोडलका तर स्वेदेशमै विभिन्न डिजाइनका समानहरू उत्पादन गर्दै आएको बताए ।

उनले भने, “हामीसँग दक्ष जनशक्ति अझै पनि अभाव छ, विभिन्न देशका डिजाइनहरू इन्टरनेटमा हेरेर सोही प्रकृतिका फर्निचरका सामानहरू निमार्ण गर्ने दक्ष जनशक्ति हामीसँग भएमा विदेशी सामानहरूलाई रोक्न सकिन्छ, अन्यथा कठिन छ ।”

उनको उद्योगमा हाल करिब ५ करोड लगानी भए पनि वर्षमा १ करोडभन्दा बढीको कारोवार हुने गरेको छ भने उनले २० जनालाई रोजगार दिएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका पण्डितले चाइनाबाट दक्षजनशक्ति र आवश्यक कच्चा पदार्थ नेपाल भित्राएर चाइनिज डिजाइनका सामान खोज्नेलाई स्वदेशमै दिने आफूहरूको योजना भएको बताए । 

त्यसैगरी भैरव ग्रुपअन्तर्गत सिटिजन्स फर्निचर ट्रेड लिङ प्रालिले विगत ४ वर्षदेखि पोखरामा चाइनाका विभिन्न डिजाइनका फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री गर्दै आएको छ । बजारको मागअनुसार आफूहरूले सस्तो राम्रो सामानहरू चाइनाबाट ल्यायर अन्य व्यवसायीहरूलाई समेत दिने गरेको ट्रेड लिङका संचालक दीपक कार्कीले बताए ।

पाल्पा भैरवस्थानसहित बुटवलमा तीनवटा फर्निचर पसल सञ्चालन गरेको भैरव ग्रुपले उपभोक्ताको माग अनुसारका सामानहरू चाइनाबाट ल्याउने गरेको छ । फेसन अनुसारका सामानहरू बजारले माग गरेकाले गर्दा आफूहरूले सिजनअनुसार बजारको माग अनुसारका प्रायः चाइनिज समानहरू उपलब्ध गराउँदै आएको कार्कीले जनाए । 

त्यस्तै पोखराका पुराना एक व्यवसायी ज्ञानबहादुर नेपालीले पनि निरन्तर रूपमा यो व्यवसायमा लागेका छन् । संघका पूर्वअध्यक्षसमेत रहेका पूर्ण फर्निचर उद्योगका सञ्चालक नेपालीले २०४६ सालमा करिब ५० हजारबाट यो व्यवसाय सुरु गरेका हुन् । उनको उद्योगमा हाल १० जना महिला कर्मचारीसहित ३५ जनाले रोजगार पाएका छन् भने उनको उद्योगमा करिब २ करोड लगानी भएको छ ।

आफ्नो उद्योगमा आधुनिक डिजाइनका सामानहरू उपभोक्ताको चहानाअनुसार निर्माण गर्ने केही दक्ष जनशक्ति आफूहरूसँग भएको उनले बताए । फर्निचरको अझै पनि मेसिन सञ्चालन गर्ने दक्ष जनशक्ति बजारमा अभाव भएको उनले गुनासो गरे । 

स्रोत : 

https://www.karobardaily.com/news/81787

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More