विकराल बन्दै विषादी आयात

January 03, 2018

अन्नपुर्ण पोस्ट, १९ पुष २०७४ 

खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ।

खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरकारले राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गर्दै आएको छ। तर, कार्यक्रम सञ्चालन भएपछि विषादीको आयात घट्नुभन्दा बढ्दै गएको पाइएको छ। यसरी बर्सेनि आयात र प्रयोग बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ।

विषादी तरकारीखेतीसँगै खाद्यान्नबाली, नगदेबाली, दालखेती र फलफूलखेतीमा किसानले अनियन्त्रित रूपमा प्रयोग गर्दै आएका छन्। यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौलालगायत रोग लाग्न सक्छन्। यस्तै आँखाको ज्योति गुम्ने, अपांग बच्चा जन्मिने, हृदयघात हुने, प्यारालाइसिसलगायय अन्य गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने सम्भावना पनि हुन्छ। विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउनेलगायत समस्या देखा पर्छन्। विषादीको अवशेषले माटो, खानेपानीको मुहान, हावा पनि विषाक्त बनेर जलचर, उभयचर र अकाशमा उडने पशुपन्छिसमेत खतरामा परेका छन्।

बाली संरक्षण निर्देशनालयले २०६० सालदेखि अत्यधिक परिमाणमा विषादी प्रयोग हुने जिल्लामा कृषि पाठशाला कार्यक्रममार्फत आईपीएम योजना सञ्चालन गर्र्दै आएको छ। कार्यक्रम कार्यान्वयन भएका जिल्लामा विषादी प्रयोग घट्दै जानुपर्नेमा बढ्दै गएको देखिन्छ।

नर्वे सरकारको करिब ४५ करोड रुपैयाँको आर्थिक सहयोग र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा २०६० देखि २०७० सम्म झापा, इलाम, काभ्रे, बारा, मुस्ताङ, नवलपरासी, जुम्ला, बाँके, डडेल्धुरा, कैलाली र स्याङ्जा जिल्लामा आईपीएम कार्यक्रम सञ्चालन भएको थियो। अहिले बाली संरक्षण निर्देशनालयले आफ्नै खर्चबाट बर्सेनि वार्षिक २५ लाख खर्च गरेर धादिङ, तनहुँ, मोरङ, चितवन र बर्दियामा यो कार्यक्रमलाई निरन्तरता दिएको छ। यही जिल्लामा अहिले पनि सबैभन्दा बढी परिमाणमा विषादीको प्रयोग भइरहेको छ।

यसरी करोडौं रुपैयाँ नियन्त्रणका नाममा खर्च भइसक्दा पनि विषादी आयात बढ्दै गएको छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ६९ करोड ४८ लाख रुपैयाँको पाँच लाख ७४ हजार ६० किलो विभिन्न प्रकारका विषादी आयात भएको छ। आव २०७१/७२ मा ६४ करोड ६१ लाखको पाँच लाख ४९ हजार नौ सय ६५ किलो विषादी आयात भएको थियो।

‘यो तथ्यांकले विषादीको प्रयोग बढ्दै गएको पुष्टि गर्छ', वातावरण तथा विषादी विज्ञ डा.भुपेन्द्र देवकोटाले भने,‘किसान आमउपभोक्ताको स्वास्थ्यप्रति सचेत र इमान्दार नभएका कारण विषादी प्रयोग पछिल्ला वर्ष बढ्दै गएको छ।'


बर्सेनि आयात र प्रयोग बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ।

उनका अनुसार आईपीएम कार्यक्रम सञ्चालनमा रहे पनि किसान र सरकारी निकायमा इमान्दारिताको अभाव हुँदा विषादीको प्रयोग घट्न नसकेको हो। किसान स्वास्थ्यप्रति सचेत भएर आफ्नै प्रयोजनका लागि विषादी नभएको तरकारी उत्पादन गर्दैआएका छन् तर आमउपभोक्ताका लागि विषादीयुक्त तरकारी र खाद्यान्न उत्पादन गर्दै आएको अध्ययनको क्रममा भेटिएको डा. देवकोटाले अन्नपूर्णसँग भने। नेपालमा पहिलो पटक सन् १९५२ मा स्वास्थ्य मन्त्रालयले पहिलोपटक मलेरिया प्रकोप नियन्त्रणका नाममा आधिकारिक रूपमा डीडीटी भन्ने विषादी आयात गरेको थियो। त्यसपछि नेपालमा विभिन्न मुलुकबाट विभिन्न महामारी रोग नियन्त्रण गर्न र खेतीमा लाग्ने कीरा नियन्त्रण गर्न विषादी आयात हुन थालेको हो।

तरकारीमा अत्यधिक प्रयोग

नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ। प्रतिहेक्टरमा एक हजार ६ सय पाँच ग्राम विषादी तरकारीमा प्रयोग हुन्छ। निर्देशनालयका अनुसार आयात हुने विषादीमध्ये ९५ प्रतिशत तरकारीमा प्रयोग भइरहेको छ। आयात हुने कुल विषादीको परिमाणमध्ये ८५ प्रतिशत विषादी बारा, काभ्रे र धादिङका किसानले तरकारीमा प्रयोग गर्दै आएका छन्। ‘अन्य मुलुकको तुलनामा नेपालमा प्रतिहेक्टर प्रतिवर्ष तीन सय ९६ ग्राम खास विषको प्रयोग भए पनि कुल विषादीमध्ये ८५ प्रतिशत तरकारीबालीमै प्रयोग भएको पाइन्छ', निर्देशनालयका कार्यक्रम निर्र्देशक अच्युतप्रसाद ढकालले भने।

‘विकसित मुलुकका किसानले सचेत भएर संतुलित परिमाणमा मात्रै विषादी प्रयोग गर्ने भएकाले विषादीको प्रकोप नगण्य परिमाणमा भेटिएको हो', राजभण्डारीले भने। नेपालमा सबैभन्दा बढी तराईमा प्रतिहेक्टर नौ सय ९५ ग्राम विषादीको प्रयोग हुन्छ। उपत्यका क्षेत्रमा चार सय ७० ग्राम र पहाडी क्षेत्रमा तीन सय १४ ग्रामको हाराहारीमा विषादीको प्रयोग हुँदै आएको छ।

विषादीले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीनरूपमा असर पुर्‍याउने निर्देशनालयका कार्यक्रम निर्देशक ढकालले जानकारी दिए। विषादीका कारण वार्षिक तीन लाख ५५ हजार सर्वसाधारणको विश्वभर मृत्यु हुने गरेको छ।

विषादी प्रयोगको अवस्था

बाली संरक्षण निर्देशनालयका वरिष्ठ अधिकृत राजीवदास राजभण्डारीका अनुसार अन्य मुलुकको तुलनामा नेपालमा विषादीको प्रयोग न्यूून भए पनि सुरक्षित र सन्तुलित रूपमा प्रयोग नभएका कारण नेपालमा विषादीको असर भयावह रूपमा देखिएको हो। दक्षिण कोरियामा प्रतिहेक्टरमा साढे १६ किलो, जापानमा प्रतिहेक्टर ११ किलो, युरोपमा १ किलो नौ सय ग्राम, थाइल्यान्डमा एक किलो ३७ ग्राम, इटलीमा १३ किलो ३५ ग्राम प्रतिहेक्टरमा खास विषको प्रयोग हुँदै आएको छ। राजभण्डारीले भने, ‘तर ती मुलुकका किसान र सर्वसाधारण विषादीबाट उत्पन्न हुने प्रकोपप्रति सचेत भएकाले असर पनि न्यून छ।'

स्रोत: http://annapurnapost.com/news-details/87391

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More