वित्तीय प्रणालीमा ४२ अर्ब अधिक तरलता

January 17, 2018

कान्तिपुर राष्ट्रिय दैनिक, ०३ माघ २०७४

मंगलबार बैंक तथा वित्तीय संस्थामा अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेक ४२ अर्ब रुपैयाँ बराबर अधिक तरलता छ । पुस अन्तिम साता राजस्वमार्फत ठूलो रकम सरकारी ढुकुटीमा जाने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुने अनुमान गरिएको थियो ।

राजस्व सरकारी खातामा गएपछि पनि वित्तीय प्रणालीमा तरलता अवस्था सहज रहेको राष्ट्र बैंकले जनाएको छ । ‘बैंकहरूले अनुमान गरेजस्तो तरलतामा कमी आएन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, ‘यही कारण बैंकहरूको कर्जा र निक्षेप तथा पुँजी अनुपात (सीसीडी) पनि निर्देशित सीमाभित्रै छ ।’

बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था सहज रहेको बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘तरलता अवस्था ठिक्क छ तर यही निक्षेपको आधारमा बसेर थप कर्जा विस्तार गर्न अप्ठयारो छ,’ उनले भने, ‘उच्च वृद्धिका लागि आक्रामक रूपमा कर्जा विस्तार गर्न सक्ने अवस्था छैन । तरलता अभाव भएको भन्दै केही बैंकहरूले कर्जा रोकेका कुरा आफूले पनि सुनेको उनले बताए । ‘आक्रामक रूपमा कर्जा विस्तार गर्ने बैंकहरूलाई समस्या होला तर सिटिजन्स बैंकले ऋण रोकेको छैन ।’

तरलता सहज भएकै कारण निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी नबढाउने विषयमा बैंकहरूबीच भएको ‘भद्र सहमति’ नतोडिएको उनको भनाइ छ । ‘भद्र सहमतिले काम गरेको छ, यस्तो अवस्थामा बैंकहरू झनै बढी संयमित हुनुपर्छ,’ उनले भने ।

बैंकहरूले आक्रामक रूपमा कर्जा विस्तार गरेपछि संयमित हुन राष्ट्र बैंकले आग्रह गरेको उनले बताए । ‘राष्ट्र बैंकले नैतिक दबाबमार्फत नाफामुखी मात्र नहुन, विवेकशील भएर कर्जा विस्तार गर्न, निक्षेप वृद्धिका उपाय खोज्न आग्रह गरिरहेको छ,’ भण्डारीले भने ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अधिकांश बैंकहरूको सीसीडी रेसियो ७८/७९ प्रतिशतको हाराहारी रहेकाले समस्या आइनसकेको बताए । उनले भने, ‘यही अवस्था रहिरहे अझै केही दिन बैंकहरूले थप कर्जा विस्तार गर्ने छैनन् ।’ बैंकहरूलाई निर्देशित तरलता कायम गर्न समस्या नभएको जनाउँदै उनले भने, ‘हामीलाई लगानीयोग्य रकमको समस्या हो, तरलताको होइन ।’

वित्तीय प्रणालीमा लगानीयोग्य रकम घटदै गएपछि बैंकहरूले मनपरी ढंगले कर्जा विस्तार नगर्न आग्रह गरिरहेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘राष्ट्र बैंकको उद्देश्य निक्षेप वृद्धिका आधारमा कर्जा विस्तार गरून् भन्ने हो,’ उनले भने, ‘यसकारण उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्न बैंकहरूलाई नियमित रूपमा भन्दै आएका छौं ।’

राष्ट्र बैंक र सीमित बैंकरहरूले तरलता अवस्था सहज रहेको बताए पनि केही बैंकहरू अप्ठयरो अवस्थामा रहेको स्रोतले बताएको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये करिब २० वटा बैंकहरूको सीसीडीमा समस्या नरहे पनि बाँकीको अवस्था नाजुक रहेको जनाइएको छ । ‘करिब आधा दर्जनभन्दा बढी बैंकहरूले कर्जा ठप्प पारेका छन्,’ एक बैंकरले भने, ‘तीमध्ये केही बैंकको सीसीडी अनुपातले ८० प्रतिशत नाघेको छ ।’ विद्यमान अवस्था सम्बोधनका लागि सरकार र राष्ट्र बैंकले विशेष नीति नल्याए समस्या झनै बढ्ने ती अधिकारीले बताए ।

राष्ट्र बैंकले भने यो अवधिमा बैंकहरूले स्थायी तरलता सुविधा नलिएको, अन्तर बैंक दर र ट्ेरजरी बिल्सको ब्याजदर वाञ्छित सीमामा रहेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता अवस्था सहज रहेको दाबी गरेको छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/01/17/20180117074811.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More