वित्तीय प्रणाली सहज अवस्थामा

October 11, 2017

भुवन पौडेल, कारोबार आर्थिक दैनिक, २५ आश्विन, २०७४

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेपछि ‘डिपोजिट कलेक्सन’को माग बढेको छ । केन्द्रीय बैंकले आइतबार निष्कासन गरेको ५ अर्बको डिपोजिट कलेक्सनमा ८ अर्बको आवेदन परेपनि बिक्री गर्दा भने ३ अर्ब रुपैयाँ बराबरको मात्र बिक्री गरेको छ । यसबाट वित्तीय प्रणलीमा सहजता आएको देखिन्छ । जसका कारण ब्याज घट्ने क्रम पनि सुरु भएको छ ।
बैंकहरूले उच्च ब्याजदरमा संकलन गरेको निक्षेपमा पनि ब्याजदर घटाएरै कर्जा दिन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । वित्तीय क्षेत्रमा तरलता (कर्जायोग्य रकम) उपलब्ध भए पनि ब्याजदरसमेत क्रमिक रूपमा घटेको उनले जानकारी दिए । यसबाट वित्तीय क्षेत्रमा देखिएको वढ्दो ब्याजदर र कर्जा लगानीयोग्य रकम अभावको समस्या केही सहज भएको स्पष्ट देखिन्छ । यसको मुख्य कारण भनेको गत आवका बढेको सरकारी खर्च र यसबाट वित्तीय प्रणालीमा निक्षेप वृद्धि हुनु नै हो । सरकारले समयमा खर्च गरेको खण्डमा वित्तीय क्षेत्रमा बारम्बार आउने समस्या जटिल नबन्ने बैंकरहरूले  बताउँदै आएका छन् । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनसम्ममा नेपाल राष्ट्र बैंकमा सरकारी रकम २ खर्ब २८ अर्ब ९४ करोड मौज्दात छ । सरकारले यो रकम मौज्दात नराखी खर्च गरेको खण्डमा वित्तीय प्रणालीको समस्या सहज हुन्छ । 
केन्द्रीय बैंकले आइतबार ५ अर्बको निक्षेप संकलन माग गरेको भए पनि बिक्री गर्दा भने ३ अर्ब रुपैयाँ बराबरको मात्र बिक्री गरेको छ । बजारको तरलता, डिपोजिट रेट तथा समग्र प्रणालीको अवस्थालाई विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले ३ अर्बको मात्र बिक्री गर्ने निर्णय गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । केन्द्रीय बैंकले ३० दिनका लागि ०.५२०० प्रतिशत ब्याजदरमा बोलकबोल गरेको हो । 
केन्द्रीय बैंकले बुधबार पनि ५ अर्ब रुपैयाँ बराबरको डिपोजिट कलेक्सनको बिक्री खुला गरेको छ । वित्तीय प्रणलीमा भएको अधिक तरलतालाई सन्तुलनमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजिट कलेक्सन निष्कासन गर्न लागेको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ । “हाल वित्तीय प्रणालीमा करिब ४३ अर्ब रुपैयाँ तरलता रहेको छ,” ति अधिकारीले भने, “भोली र पर्सिसम्ममा वित्तीय प्रणालीमा करिब ५३ अर्ब तरलता हुनेछ ।” बुधबारसम्ममा नै १० अर्ब रुपैयाँ बराबरको डिपोजिट कलेक्सन परिपक्व हुन लागेकाले त्यो बजारमा आएपछि तरलता वढ्ने र बुधबार पुनः भोली ५ अर्बको तरलता खिच्न लागेको उनको भनाइ छ । 
गत असारमा वढेको निक्षेपले अझै पनि काम गरिरहेको दाहाल बताउँछन् । “असारपछि निक्षेप खासै बढेको छैन, कर्जा भने बढेको छ,” दाहालले भने, “हाल बैंकहरूसँग करिब ४० अर्ब रुपैयाँ कर्जा लगानीयोग्य रहेको भए पनि अल्पकालीन औजार डिपोजिट कलेक्सन खरिद गर्न समस्या हँुदैन ।” पछिल्लो समयमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात पनि ७६ प्रतिशत रहेको उनले बताए । 

स्रोत: 

https://www.karobardaily.com/news/82734

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More