News

वित्तीय-विस्तार-अघिल्लो-वर्षभन्दा-सुस्त

April 29, 2019

यज्ञ बञ्चाडे, कान्तिपुर, बैशाख १६,२०७६ 

काठमाडौँ — अघिल्लो वर्षको तुलनामा यो वर्ष वित्तीय क्षेत्रको विस्तार कम हुने भएको छ । बैंक तथा वित्तीय संस्थासँग लगानीका लागि पर्याप्त रकम नहुँदा त्यसको प्रत्यक्ष असर वृद्धिदरमा पर्ने देखिएको हो । 

सरकारी आँकडाअनुसार यो वर्ष वित्तीय क्षेत्र (वित्तीय मध्यस्तता) वृद्धिदर ६.१८ प्रतिशत हुनेछ । गत वर्षको तुलनामा यो ०.२० प्रतिशत विन्दुले कम हो । केन्द्रीय तथ्यांक विभागले हालसम्मको प्रगति र बाँकी तीन महिनाको सम्भावित गतिविधिका आधारमा उक्त प्रक्षेपण गरेको हो ।

गत वर्ष यो क्षेत्रको वृद्धिदर ६.३८ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतको शाखा सञ्जालमा वृद्धि भए पनि कोर बैंकिङ गतिविधि (बचत संकलन, ऋण प्रवाह र तीनबाट प्राप्त आय) अपेक्षित रूपमा नबढेकाले वित्तीय मध्यस्तता क्षेत्रको वृद्धिदर घट्ने देखिएको जानकारहरू बताउँछन् ।

हालसम्मको प्रगति हेर्दा स्रोतको अभावले वित्तीय क्षेत्रको कोर बैंकिङ गतिविधि केही प्रभावित भएको देखिएकाले वृद्धिदर सामान्य घट्ने प्रक्षेपण गरिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले बताए । ‘अघिल्लो वर्षको तुलनामा त्यस्तो ठूलो परिवर्तन छैन,’ उनले झने, ‘क्रेडिट त्रन्चका कारण यस्तो भएको हुन सक्छ ।’
अघिल्लो वर्षको तुलनामा गत वर्ष पनि वित्तीय मध्यस्तता क्षेत्रको वृद्धिदर घटेको थियो । आर्थिक वर्ष ०७३/७४ मा यो क्षेत्रको वृद्धिदर ९.०९ प्रतिशत थियो । विभागको अनुमानअनुसार यो वर्ष बैंक तथा वित्तीय संस्थाको ऋण विस्तार राम्रो भए पनि निक्षेप संकलन र अन्य गैरबैंकिङ आयको वृद्धिदर तुलनात्मक रूपमा कम छ । यो वर्ष तरलता (लगानीयोग्य रकम) अभाव भएकाले बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा ऋण विस्तार र बचत संकलन गर्न नसकेकाले वित्तीय क्षेत्रको वृद्धिदर गत वर्षको भन्दा कम भएको विभागले जनाएको छ ।

करिब एक दशकयता औसतमा साढे ३ प्रतिशतको हाराहारीमा रहँदै आएको वित्तीय क्षेत्रको वृद्धिदर पछिल्ला तीन वर्ष उच्च देखिएको छ । आर्थिक वर्ष ०६७/६८ मा ३.३० प्रतिशत रहेको यो क्षेत्रको वृद्धिदर आर्थिक वर्ष ०६८/६९ मा ३.४७ प्रतिशत थियो । आर्थिक वर्ष ०६९/७० मा ०.९१ प्रतिशतले ऋणात्मक रहेको यो क्षेत्रको वृद्धिदर ०७०/७१ मा करिब ४ प्रतिशत र ०७१/७२ मा करिब ३ प्रतिशत रह्यो । त्यसपछिका दुई वर्ष यो क्षेत्रको वृद्धिदर बढ्यो । जसमध्ये आर्थिक वर्ष ०७२/७३ मा यो क्षेत्रको वृद्धिदर ८.५५ र ०७३/७४ मा ९.०९ प्रतिशत थियो ।

यो वर्ष बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भए पनि बैंकिङ कारोबार बढ्न नसक्दा वृद्धिदर घटेको हुन सक्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘शाखा बढेर मात्र भएन,’ उनले भने, ‘शाखा सञ्जाल बढेअनुसार बैंकिङ गतिविधि बढेको छैन ।’

कुल गार्हस्थ उत्पादन (जीडीपी) गणना गर्दा वित्तीय मध्यस्थता क्षेत्रअन्तर्गत बैंकिङ, बिमा र समाजिक सुरक्षा योगदान गरी तीन समूहमा विभाजन गरिएको छ । बैंकिङ समूहभित्र राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र सहकारी संस्थाको कारोबार समावेश हुन्छ ।

बिमा समूहअन्तर्गत बिमा समिति, जीवन बिमा र निर्जीवन बिमा कम्पनीको कारोबार समावेश गरिन्छ । सामाजिक सुरक्षा योगदान समूहमा धितोपत्र बोर्ड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत पर्छन् । यी सबै क्षेत्रको वृद्धिका आधारमा समग्र वित्तीय मध्यस्तता क्षेत्रको वृद्धिदर निकालिन्छ ।

चालु आर्थिक वर्ष जीडीपीमा वित्तीय मध्यस्तता क्षेत्रको योगदान पनि स्थिर छ । यो वर्ष जीडीपीमा वित्तीय मध्यस्तता क्षेत्रको योगदान ६.६२ प्रतिशत पुग्ने विभागको अनुमान छ । आर्थिक वर्ष ०७२/७३ मा यस्तो योगदान ६.३१ प्रतिशत थियो । आर्थिक वर्ष ०५८/५९ मा जीडीपीमा यो क्षेत्रको योगदान २.७५ प्रतिशत थियो । आर्थिक वर्ष ०६७/६८ मा आइपुग्दा यस्तो योगदान बढेर ३.८८ प्रतिशत पुग्यो । त्यसपछिका चार आर्थिक वर्षहरूमा लगभग ४ प्रतिशतको योगदान रहँदै आएकामा गत वर्ष ५ प्रतिशत नाघेको विभागको तथ्यांक छ ।

वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भएको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवका अवसरमा उनले शनिबार यस्तो बताएका हुन् । ‘कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा कर्जा प्रवाह बढेको छ,’ उनले भने, ‘भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्त्वपूर्ण काम अघि बढेका छन् ।’

बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिई संस्थागत सबलीकरण र संख्यात्मक व्यवस्थापनमा सहयोग पुगेको उनले बताए । ०७५ चैतसम्म बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ हजार २ सय ५ पुगेको छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2019/04/29/15565057512488509.html